राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले जेनजीको शान्तिपूर्ण आन्दोलनलाई ‘रातो क्रान्ति’को संज्ञा दिएको भन्दै आपत्ति प्रकट गरेकी छन्।
कार्कीले कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) को राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण त्रुटिपूर्ण रहेको बताएकी हुन्।
‘हामी २०८४ मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौं। त्यसलाई हामीले निलो क्रान्ति भन्दै आएका पनि थियौं। तर जेन–जीले २०८४ सम्म कुरेनन्, रातो क्रान्ति गरे,’ अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ।
मुद्दा, माग र उपलब्धीमा जेन–जी र रास्वपाबीच १९/२० को फरक नरहेको तर क्रान्तिको बाटो फरक भएको अर्यालको प्रतिवेदनको निचोड थियो।
केन्द्रीय सदस्य कार्कीले यसप्रति आपत्ति प्रकट गरेकी थिइन्।
जेनजी आन्दोलन अहिंसात्मक आन्दोलनको अंग भएको बताउँदै उनीहरू संविधान प्रदत्त अधिकार उपयोग गर्दै शान्तिपूर्ण रूपमा भेला भएको तर सरकारले नै रक्तपात मच्याएको यथार्थलाई ‘रातो क्रान्ति’ भन्नु उपयुक्त नहुने कार्कीले बताएकी थिइन्।
‘जेनजीहरू शान्तिपूर्ण रूपमा भेला भएर आफ्ना मागहरू राखिरहेका थिए। सरकारले नै गोली चलाएको हो। यसलाई हामीले कसरी रातो क्रान्ति भन्न सक्छौं,’ उनले भनेकी थिइन्।
कार्कीले जेनजी आन्दोलन र त्यसको परिणाम समेतलाई आफ्नो पक्षमा पार्न प्रयत्न गरेको तर त्यो विफल भएपछि त्यसलाई ‘रातो क्रान्ति’ भन्दै आरोपित गर्न नहुने पनि उनले धारणा राखेकी थिइन्।
रास्वपाको विस्तारित बैठक चितवनस्थित सौराहामा जारी छ। शुक्रबार अर्यालले राजनीतिक र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा सहभागी ५१२ जना प्रतिनिधिहरूलाई सात समूहमा बाँडेर ती प्रतिवेदनमाथि छलफल भइरहेको छ। हिजोबाटै समूहगत छलफल सुरू भएको हो।
रास्वपाको विस्तारित बैठक आइतबारसम्म चल्नेछ।