श्रीमती विदेश जाने भएर पुर्याउन विमानस्थल गएको बेला छोरीले भनिन्, ‘बाबा, अब सात वर्षपछि यसरी नै मलाई छोड्न आउनुपर्छ है।’
एकतर्फ खुसी लाग्यो, अर्कोतर्फ पीडा, आखिर बाबु नै परियो। हुन त आखिर जीवन उनकै हो, जिउने। उनले नै हो गर्ने मर्ने, डराउने, छेक्ने र हेर्ने। उनी आफै हुन् यस कारण म चुपचाप रहेँ। विदेश भन्नासाथ नेपालमा करोडौँ डलर बुझ्छन्। म आफू अर्कै ढंगले बुझ्छु किनभने म पनि दुई/चार पटक विदेश देखेको मानिस हुँ।
विदेश जानेलाई मानिसहरू कोही ब्रेन-ड्रेन, कोही ब्रेन-गेन भन्दछन्। आखिरमा जीवनको अर्को नाम संघर्ष हो। जो संघर्ष गर्दैन त्यो हरेक दिन आर्यघाटमा पोलिने लास जस्तै गुमनाम हुन्छ। तर यदाकदा घाटमा पोलिने लास चर्चामा आउँछन्, जो बाँचुन्जेल संघर्ष गरे ती यादमा रहन्छन्।
विदेशतिर जाँदा धेरै बाबुनानीलाई मल, कलेज, पार्क, सडकमा भेटेको अनुभवमा जीवन आफ्नो बुझाइ र भोगाइ हो। कोही यहाँ नेपालमा पनि दुःख गरेर पढेकाहरू त्यहाँको दुःखलाई केही झैँ मान्दैनन्, कोही 'सिल्भर स्पून'हरू अर्थात् जन्मजात धनाढ्यहरू त्यहाँ विदेश गएर आफूलाई आत्मग्लानि गर्छन्। फरक मानिस फरक सोच हो। यो नै ठिक यो नै बेठिक भन्ने केही छैन। यस कारण बच्चालाई हरेक कुरा सिकाउनुपर्छ ताकि उनीहरू घर बाहिर गए पनि बाँच्न सकुन्। कलेज स्कुलले पनि यही सोचका साथ बच्चाहरूलाई शिक्षा दीक्षा दिनुपर्छ।
एक भनाइ छ कि ‘दिमाग मांसपेशी जस्तै हो, जति प्रयोग गऱ्यो त्यति राम्रो हुन्छ। यस कारण दिमागलाई व्यस्त राख्नुपर्छ।’ म आफू पनि शिक्षक भएकोले गौण भएर सोच्दा किन कलिला बच्चाहरू विदेशप्रति यसरी लालायित, आकर्षित हुन्छन् त भन्ने सोच्छु। यसमा मूलतः पाँच कारणहरू देखेको छु जसमा परिवारका सदस्यहरूको देखासिकी, विदेशको विकास देखेर लोभिएर, यहाँको नकारात्मकता देखेर, सबैजनाको कुरा सुनेर, केही गर्ने लक्ष्य लिएर, उच्च स्तरको शिक्षाका लागि र घर परिवार नै पनि बच्चा विदेश जाओस् भन्ने चाहन्छन्।
केवल बाबु-आमा आफ्नो लासमा दागबत्ती दिनका लागि मात्र किन सन्तान यहाँ रोकेर राख्ने सोच्छन्। यस कारण बिदेसिनुलाई पूराका पूरा नकारात्मक मानी विदेश जानेले संसार सकाएझैँ गरी लिनु जरुरी छैन। विदेश गएर फर्कन्नन् भन्ने छैन। संसारभर नै बिदेसिने माहौल छ; युरोपबाट अमेरिका, एसियाबाट युरोप, जहाँकहीँ पनि मानिस अवसरको खोजीमा भौँतारिरहेका छन्। यसलाई रोक्न कठिन छ। नकारात्मक रूपमा लिनु मूर्खता नै हो।
बिदेसिने रोक्ने कसरी? यो विषयमा विज्ञहरूले अनेक अध्ययन गरेका छन्। कतिपय अध्ययन पूर्वाग्रही छन्, निष्पक्ष अध्ययन कम छन्। खैर! अध्ययनलाई छाडेर वास्तविक रूपमा सोचेर हेर्दा बिदेसिनुको मूल कारण महँगी नै हो। शिक्षा र स्वास्थ्य मात्र सर्वसुलभ हुँदो हो त दुनियाँ मुलुक छाड्ने थिएनन्। यो नेपालको परिप्रेक्ष्य हो किनभने जीवनभरको कमाइले बच्चा पढाउन पुग्दैन। ठुलै रोग लागे घर घडेरीले समेत पुग्दैन। यस कारण मानिस बिदेसिएको सत्य हो तर मानिसहरू गलत भाष्य भन्दै पन्छिरहेका छन्।
टाढाको कुरा छोडौँ, नजिककै दुबई, कतार, मलेसियाले समेत केही हदसम्म राहत दिएको छ। विकसित देश त अझै झनै मानिसहरू बसाइ सरेर नै जान्छन्। यस कारण विदेश गएकोमा क्षोभ प्रकट गर्नुभन्दा किन गए, किन जाँदै छन् सोच्नु उचित होला।
धेरैलाई लाग्ला होला, नेपालमा नामी-नामी राम्रा विदेश स्तरका कलेज छन्, किन विदेश जाने? यसमा कुरा प्रस्ट छ, यहाँ पैसा तिरेर पढ्ने हो, खालि समयमा बेरोजगार बस्नुपर्छ। पैसा घरबाट तिर्नुपर्छ। विदेश गएमा कलेज महँगो छन् तर कलेज नभएको खालि समयमा मात्र काम गरेर पेट पाल्न र फी समेत तिर्न पुग्छ। यस कारण बाहिरिएका छन् युवाहरू।
साथै सिक्ने कुरा पनि यहाँभन्दा त्यहाँ अवश्य नै बढी छ। प्रविधि छ, स्तरीय छ नै। यस कारण पनि युवाहरूको रोजाइ विदेश हुन गएको हुन सक्छ। हामी निरपेक्ष भई समाधान खोज्नुपर्छ। विदेश जाने कारणहरूमा केलाउनु पर्छ र हामी चुकेको, कमजोरी भएको कुरामा निर्मम रूपमा सुधार प्रयास तत्काल थाल्नुपर्छ। अन्यथा देशमा श्रमको चरम अभाव हुन्छ। साथै देशमा संकट हुन्छ।
साना उद्यम व्यवसायीलाई सरकारले सहज रूपमा सञ्चालन गर्न प्रबन्ध गर्नुपर्छ। दर्ता कर जस्ता अनावश्यक झन्झट लगाउनु हुँदैन। साथै रोजगार मूलक शिक्षाका लागि ढोका खोल्नुपर्छ जस्तै- विद्यालय तहमा नै प्राविधिक शिक्षा दिनुपर्छ किनकि पहिला जस्तो १६ वर्ष नपुगी एसएलसी दिन नपाउने रोकावट अड्चन हटाउनुपर्छ। आजको समयमा सिक्न, पढ्न, जान्न, ज्ञान लिन उमेरले छेक्दैन।
साथै युवाहरू चाँडै वयस्क बन्ने अवस्था छ जबकि २० वर्ष हुँदा नै उनीहरूमा धेरै परिपक्वता आउँछ। यस कारण विद्यालय स्तरबाट नै उनीहरूलाई मुलुकमा रोक्ने अड्याउने शिक्षा दिनुपर्छ। साथै हरेक विषय पढ्न सिक्न जान्नका लागि ग्रेड अंक डिभिजनको पर्खाल सीमा तोक्नु गलत हुन्छ। सरकार, नागरिक, शिक्षित वर्गले यो समस्यालाई समाधान गर्न पहल गर्नु पर्छ, अन्यथा देश पूर्ण रूपमा कमजोर हुन्छ। यो ऊ वादले काम गर्दैन।