अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
१०३ दिन डिल्लीबजार कारागारमा बसेर छुटेका महराले वक्तव्यमा भनेका छन् ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’
हाल नेकपाभित्रै विवादित बन्दै आएको एमसिसी परियोजनालाई उनले सभामुख हुँदा अघि बढ्नबाट रोकेका थिए। उनले एमसिसी रोकेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले महराले गल्ती गरेको भन्दै अभिव्यक्ति दिएका थिए।
एमसिसी परियोजना रोकेकै कारण ‘अमेरिकी ग्राण्ड डिजाइन‘मा महरामाथि ‘रोशनी काण्ड’ लगाइएको उनका समर्थकहरूले दाबी गर्दै आएका छन्। उनी आज कारागारबाट छुटेपछि पनि कार्यकर्ताहरुले ‘एमसिसी मुर्दावाद’ भन्दै नारा लगाएका थिए।
अदालतले सफाई दिएपछि सञ्चारकर्मीहरुसँग सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिएका महराले वक्तव्य जारी गर्दै नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको र सधैं रहिरहने बताएका छन्।
साथै उनले डिल्लीबजार कारागारमा हुँदा आफूलाई सहयोग र सहानुभूति दिने समर्थक, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, प्रहरी र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई धन्यवाद दिएका छन्।
यस्तो छ महराको वक्तव्य-