संविधानको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ।
कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेकी हुन्। संशोधन विधेयकमा कुनैपनि विरोधको सूचना परेको थिएन। विरोध सूचना नभएको जानकराी गराउँदै सभामुख अग्नि सापकोटाले कानुन मन्त्री तुम्बाहाङ्फेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए।
विधेयक प्रतिनिधि सभामा पेश भएसँगै अब सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ।
त्यस्तै संसद सचिवालयले सर्वसाधारणको जानकारीका लागि गोरखापत्रमा पनि प्रकाशित गर्नेछ।
सरकारले गत जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो।
लगत्तै सरकारले जेठ १४ गते नेपालको निशान छाप परिवर्तन गर्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएको थियो।
नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक माथि एक सातापछि पुन: प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुनेछ। छलफलपछि सांसदहरुले संशोधन हाल्न समय पाउनेछन्।
सभामुखले संशोधनका विषय समेट्न र थप छलफल गराउन चाहे विशेष समिति गठन गरेर विधेयक अगाडि बढाउन सक्नेछन्। अथवा उनले संसदको पूर्ण बैठकबाटै उक्त विधेयक छलफल गराएर निर्णयार्थ पेश गर्न सक्नेछन्। संविधान संशोधन पारित गर्न संसदको दुई तिहाई मत आवश्यक हुन्छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा उभिएकाले विधेयक पारित हुने निश्चित देखिन्छ।