सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक असार १० गतेदेखि बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको उक्त बैठकमा दुई अध्यक्ष र स्थायी समिति सदस्यहरूले राखेका धारणासँगै नेताहरूको आसनबारे पनि चर्चा भइरहेको छ।
असार १० गते बैठक बस्दा बालुवाटारभित्रको हलमा सचिवालयका ९ जनालाई मञ्चमा बस्ने व्यवस्था मिलाइएको थियो भने बाँकी सदस्यलाई फ्लोरमा कुर्सी राखिएका थिए।
अग्लो ठाउँमा बस्ने ९ जनाले पनि समान खालका कुर्सी पाएका थिएनन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोफाको व्यवस्था गरिएको थियो। ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल अगाडिको लहरमा बसेका थिए भने अरू सचिवालय सदस्य पछाडि बसेका थिए।
कम्युनिष्ट पार्टीभित्र कोही नेता सोफामा कोही नेता कुर्सीमा बस्न नहुने भन्दै स्थायी समिति सदस्यहरूले नै विरोध गरे।
असार १२ गतेको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। अर्को दिन भएको बैठकमा भने प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका लागि राखिएका सोफा हटाइएका थिए भने उनीहरूलाई पनि अरूलाई जस्तै कुर्सीलाई बस्ने व्यवस्था मिलाइएको थियो। तर सचिवालय सदस्य माथि र स्थायी समिति सदस्यहरू तल बस्ने व्यवस्था कायम थियो।
असार १३ गतेको बैठकमा सचिवालय सदस्य र मन्त्री भएका बाहेकका स्थायी समिति सदस्यलाई अलग्गै ढोका भएको भनेर विरोध भएको थियो।
मंगलबारको बैठकमा भने दुई अध्यक्षसहित सबै स्थायी समिति सदस्य एउटै फ्लोरमा बसेका छन्।
मंगलबारको बैठकमा ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बैठक हलको अगाडि बसेका छन्।
त्यस्तै सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल स्थायी समिति सदस्यहरूसँगै बसेका छन्।