भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको भन्दै नेकपाभित्र विरोध सुरू भएको छ।
एउटा छिमेकी देशको कर्मचारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नु कूटनीतिक कमजोरी रहेको समेत उनीहरूको भनाइ छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूले यसलाई प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वता समेत भनेका छन्।
'रअको प्रमुख नेपाल आउने पहिला नस्वीकार्ने अनि अरू-अरूले भेटे भनेर प्रोपोगान्डा गर्ने काम भयो। यति ठूलो नाटक जरूरी थिएन। फलानो आउँदैछ भनेर भनेको भए के बिग्रिन्थ्यो?,' प्रचण्डनिकट एक नेताले भने,'यो त अब पार्टीमात्रै नभएर देशकै कुरा भएको छ। परराष्ट्र मन्त्रालयलाई नै थाहा छैन भन्ने सुनिएको छ। यो देशमा जे पनि गर्न मिल्ने रहेछ भन्ने गलत मान्यता स्थापित गर्न दिनु हुँदैन।'
संविधान, विधि, पद्धति र कूटनीतिक मान्यतालाई मिचेर एउटा व्यक्तिलाई लागे अनुसार गर्न नमिल्ने ती नेताले बताए।
नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले एउटा कर्मचारीले प्रधानमन्त्रीलाई भेटेर जानु रहस्यमय भएको बताए।
'प्रधानमन्त्रीले प्रधानमन्त्रीलाई भेट्ने हो। एउटा कर्मचारीले प्रधानमन्त्रीलाई भेट्नु कूटनीतिक रूपमा सुहाउँछ कि सुहाउँदैन। नेपाली जनतलाई यसको जानकारी हुनुपर्छ,' उनले भने,'जनताले चुनेको प्रधानमन्त्रीका भेट पारदर्शी हुनुपर्छ। गुप्तचरको प्रमुखसँग भेट्ने विषय झनै सार्वजनिक हुनुपर्छ। यस्ता भेटमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय प्रचलनलाई ख्याल गर्न पर्ने हो कि होइन भनेर गम्भीर प्रश्न उठेको छ।'
रअ प्रमुखसँगको भेटमा भएका कुराकानी पारदर्शी हुनु पर्ने भन्दै उनले अहिले भएको भेटले कूटनीतिक र राजनीतिक रूपमा गम्भीर प्रश्न उठाएको बताए।
नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले प्रधानमन्त्री ओलीले आदर्श कूटनीतिको विरूद्ध काम गरेको बताए।
नेपाललाई धेरै वर्षपछि कूटनीतिक सन्तुलन कायम गर्न सक्ने समय आएको भए पनि यो अवसरको सदुपयोग नभएको बताए।
'कर्मचारीलाई कर्मचारीकै स्तरबाट भेट्नुपर्छ। त्यस्ता व्यक्तिलाई प्रधानमन्त्रीले नभेटेको भए एउटा संकेत जान्थ्यो। नत्र ठूल्ठूला देशभक्तिको कुरा गर्नु राजनीतिक बजारको लागि मात्रैजस्तो देखिन्छ,' उनले भने, 'चीन र भारत दुबै बलियो भएको अवस्थामा नेपालले कूटनीतिक सन्तुलन मिलाउन सक्छ। तर हामी त्योअनुसार जान सकेका छैनौं। यो हाम्रो कूटनीतिक अपरिपक्वता हो। छिनमा उफ्रेर राष्ट्रवादी कुरा गर्ने एक छिनमा के-के होजस्तो कुरा गर्ने प्रवृत्ति छ।'
अहिलेको भेटले सन्तुलनको विदेश नीति अख्तियार गरेको संकेत नगएको भन्दै उनले परम्परागत रूपमा आफू अनुकूल लैजान खोज्ने भारतीय नीतिलाई स्वीकार्न नहुने बताए।