गण्डकी प्रदेश सभा अन्तर्गत दुइटा संसदीय समितिको सभापति परिवर्तन भएको छ।
सत्तापक्ष र विपक्षी दलको सहमतिमा सार्वजनिक लेखा समिति र विधायन समितिको सभापति बिहीबार परिवर्तन गरिएको हो।
सार्वजनिक लेखा समितिका सभापति कुमार खड्का प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री भएपछि उक्त पद खाली रहेको थियो। प्रदेशसभा नियमावलीमा संसदीय समितिका सभापति मन्त्री भएमा सभापति पद स्वतः खाली रहने उल्लेख छ। उक्त समितिको सभापतिमा एमाले सांसद रोशन गाहा मगर चुनिएका छन्। रोशन एमाले नवलपुरको अध्यक्ष समेत हुन्।
यस्तै, विधायन समितिका सभापतिमा कांग्रेस सांसद विष्णुप्रसाद लामिछाने चुनिएका छन्। लामिछाने कांग्रेस नवलपुरका सभापति समेत हुन्। विधायन समितिका सभापति रहेका एमाले सांसद मोहनप्रसाद रेग्मीले मंगलबार बिहान राजीनामा दिएका थिए।
विधायन समितिको सभापति बन्न कांग्रेस संसदीय दलले सांसद डोबाटे विश्वकर्मालाई प्रस्ताव गरेका थिए। डोबाटेले संसदीय समितिको सभापति बन्न अस्वीकार गरेको कांग्रेस संसदीय दलले जनाएको छ।
मन्त्रीको सपथ खान बोलाएर डोबाटेलाई अन्तिम अवस्थामा नाम काटिएको थियो।
यसअघि प्रदेश मामिला समितिका सभापति जनमोर्चा सांसद खिमविक्रम शाही चुनिएका थिए। उक्त समितिका सभापति रहेका सांसद कृष्ण थापालाई प्रदेशसभा सदस्यबाट जनमोर्चाले निष्कासन गरेपछि खाली रहेको थियो।
गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार रहँदा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापति पाएको थियो।
कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेपछि उक्त समितिको सभापति प्रमुख प्रतिपक्षी बन्न पुगेको एमालेले पाएको हो भने विधायन समिति सत्तारूढ कांग्रेसले लिएको हो।