नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्।
महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनु पर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्।
बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको उक्त ध्रुवलाई बलियो बनाउन जरूरी रहेको तर्कसमेत गरे। महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणासमेत गरे। विधानमा पनि २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाइ थियो।
महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरू इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले पार्टी नेतृत्वका लागि स्वभाविक दाबेदार भएको पनि दोहोर्याए।
उनले भने, ‘अहिले राष्ट्रिय राजनीति दुईतिर ध्रुवीकृत भएको छ। एउटा ध्रुवको नेतृत्व एमालेले गरेको छ। जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नु भएको छ। त्यो ध्रुव मजबुत हुन जरूरी छ। सुदृढ हुन जरूरी छ। ताकि यो अर्को ध्रुव जो अवाञ्छित ढंगले गतिविधि गरिराखेको छ। त्योचाहिँ बलशाली बन्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। त्यस कारणले हामी राष्ट्रिय राजनीतिको यो परिप्रेक्ष्यमा कुन ठाउँमा उभिनुपर्छ, त्यसका लागि मानसिक रूपमा तयार छौं। जहाँसम्म म २ चोटि महासचिव भएँ, अब के हुन्छु? तेस्रो चोटि महासचिव हुन्न। विधानले पनि दिँदैन। मेरा व्यक्तिगत चाहनाले पनि दिँदैन। तर हामीहरू कुन खालको जिम्मेवारी लिने हो, त्यो जिम्मेवारीका लागि ममात्रै होइन मेरो पार्टीका लिडिङ टिममा रहेका हरेक साथीहरू त्यसका लागि तयार हुनुहुन्छ। जुनसुकै जिम्मेवारी लिनुपर्दा खेरी त्यसको लागि तयार हुनुहुन्छ। यो राष्ट्रिय राजनीतिको स्थिति हो। त्यसलाई सबल बनाउनका लागि हामी लाग्छौं।’
महासचिव पोखरेलले आगामी मंसिरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताए। उनले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे। त्यसका लागि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरू उनले बताए।
उनले भने, ‘यो संसद, संसदलाई नेतृत्व गर्ने व्यक्तिका यी सबै कुराहरू हामी देख्दैछौं। त्यसकारणले ताजा जनादेशमा जानु जरूरी छ। त्यो मुलुकको हितमा छ भन्ने हाम्रो भनाइ हो। यो ताजा जनादेशमा जानका लागि अब शेरबहादुर देउवाजीसित वा अरू कोहीसित मिलेर सरकारका जाने कुरा हुन्छ रे भन्ने पनि सुनियो हाँस पनि उठ्यो मलाई। म सबै साथीहरुलाई भन्न चाहन्छु- हामी यो बीचमा सरकार गएर आत्मबल प्राप्त गर्ने योजनामा छैनौं। हामी त्यो ठान्दैनौं। हामी के भन्छौं भने जतिधेरै यो गन्जागोल रहन्छ, मुलुकले त्यति धेरै दुःख पाउँछ। त्यसकारणले जति चाँडो ताजा जनादेशमा जाने कुरा हुन्छ भने त्यो बेटर अप्सन हो भन्ने हामीलाई लाग्छ। तर यो बेटर अप्सन प्राप्त गर्न अस्वभाविक लाग्ने गठबन्धन गर्ने पक्षमा हामी छैनौं।’
पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिए। अदालत संविधान अनुरूप नहिँडेको दाबी गर्दै उनले आपत्तिसमेत जनाए। उनले भने, ‘जहाँसम्म अदालतको कुरा हो। अदालतले राजनीति गर्ने होइन। अलादत अदालतजस्तो हुनुपर्यो। अदालत संविधानअनुरूप राजनीतिक दलसम्बन्धी कानुन छ, त्यो कानुनलाई हेक्का राखेर चल्नुपर्ने हो। तर त्यस्तो भइराखेको छैन।’