संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरू रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्।
आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन्।
मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए। नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरूको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए।
‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ चारदिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेज पनि गएको छ विश्वभरमा प्रचार–प्रसार पनि भएको छ’, उनले भने, ‘नेपाल बुद्ध र सगरमाथाको देश भनेर पनि चिनिन्छ।’
योग गुरू रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे। कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरू रामदेवलाई आग्रहसमेत गरे।
‘हामीले मन्त्रालयको तर्फबाट जुन ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौं। धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्। हामीहरु स्वागत गर्छौ। यहाँ कोभिड धेरै कम छ । सबैले खोप लगाएका छन् । त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला । आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस्,’ मन्त्री आलेले भने।
सो अवसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए। उनले मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक छलफल गरेर निर्णय लिने बताए। नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्नसक्ने योगदानलाई कार्ययोजना बनाएर लागू गर्ने बताए।
‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु, यहाँको मानिसलाई गौरव हुन्छ कि यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढिरहेको छ। हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निर्णय गर्छौ’, उनले भने, ‘नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपिठले जे योगदान गर्नसक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौं।’
योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरु साझा रहेको धारणा पनि व्यक्त गरे।
यो पनि