कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले माधव नेपाल र प्रचण्डलाई आश्वस्त पार्न उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउन आफू सहमत भएको बताएका छन्।
संयन्त्र गठन हुनुअघि शीर्ष नेताहरूको बैठकमा आफूले दुई पटक संयन्त्र आवश्यक नरहेको बताएको दाबी गरे।
‘माधव नेपाल र प्रचण्डले अत्यन्त असुरक्षित महसुस गर्नुभएको मलाई लाग्यो, त्यसपछि मैले उहाँहरूलाई आश्वस्त पार्न संयन्त्र बनाउन सहमति दिएँ,’ पौडेलले भने, ‘उहाँहरूले नै संयन्त्रको पहिलो संयोजक मलाई बनाउन प्रस्ताव गर्नुभएको हो।’
संयन्त्र बनाएर उनीहरूलाई केही न केही आश्वस्त पारिएको पौडेलले बताए।
कांग्रेसबाहेक अरू दल लोकतन्त्रप्रतिको आस्थामा डग्मगाएको उनले आरोप लगाए।
अरू दल लोकतन्त्र छाडेर अन्य बाटोमा हिँडेको बताउँदै उनले कांग्रेसले लोकतन्त्र र समाजवादबाहेक अरू उद्धेश्य नराखेको बताए।
अर्को प्रसंगमा बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आफूले ५ दलका शीर्ष नेताहरूलाई आग्रह गरेको बताए।
‘५ दलको संयन्त्रको बैठकमा मैले सबै शीर्ष नेताहरूसँग सर्वोच्च अदालतमा देखिएको समस्याको कुरा उठाए,’ उनले भने, ‘सर्वोच्च अदालतमा यस्तो जात्रा नराख्नुस्, भनेको छु, छिटो निकास दिनुपर्छ।’
कांग्रेस गण्डकी अधिवेशनको उद्घाटन गर्न बुधबार पौडेल पोखरा आएका थिए।
सभापति देउवाको नाम नलिइकन उनले शिक्षित र बुझेका कार्यकर्ता भएकाले अब परिवर्तनका पक्षमा उभिन र अहिलेको नेतृत्व स्थापना गर्न आह्वान गरे।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८, ०८:०६:३०