२०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा उठेकी थिइन्, रञ्जु दर्शना। भर्खर २१ वर्ष पुगेकी रञ्जुको उम्मेदवारीले काठमाडौंको राजनीतिमा तरंग ल्याएको थियो। विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेकी दर्शनाले चुनाव जितिनन् तर सम्मानजनक मत ल्याइन्। मेयरमा उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन्। वैकल्पिक राजनीति थालेको केही वर्षमै काठमाडौंको चुनावमा रञ्जुले पाएको त्यो मत लोभलाग्दो थियो।
झन्डै साढे चार वर्षपछि बिहीबार रञ्जुले पार्टीबाट राजीनामा दिइन्। विवेकशील र साझा पार्टी फुट्दै र मिल्दै गरी बनेको विवेकशील साझा पार्टीमा बिहीबारसम्म रञ्जु बागमती प्रदेशकी संयोजक थिइन्।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको केही दिनमै रञ्जुले पनि पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।
बिहीबार मिश्रलाई पत्र लेख्दै आफू पार्टीसँगको यात्रामा पूर्णबिराम लगाउने निर्णयमा पुगेको दर्शनाले बताएकी छन्।
उनले लेखेको पत्रमा भनिएको छ, ‘२०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उतार-चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’
आफू राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको उल्लेख गर्दै रञ्जुले वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा अब आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ रहेको बताएकी छन्।
पार्टी छोड्नु आफ्ना लागि निकै दु:ख लाग्दो कुरा भएको रञ्जुको भनाइ छ।
विवेकशील नेपालीमा पाण्डे र रञ्जुले सँगसँगै राजनीति सुरू गरेका थिए। रञ्जु २०७४ को स्थानीय चुनावमा उम्मेदवार बनेकी थिइन् भने पाण्डेले त्यही वर्ष भएको संसदीय चुनाव लडेका थिए।
अहिले अध्यक्ष मिश्रले पाण्डेलाई पार्टीबाट निकालेका छन् भने रञ्जुले आफैं पार्टी छोडेकी छन्।
उनीहरू दुबै जना विवेकशील साझा पार्टीमा नरहेपछि पाण्डे र रञ्जुले अब राजनीति छोड्लान् वा कसरी राजनीति गर्लान् भन्ने प्रश्न उब्जिएको छ।
राजीनामा दिएको पत्र सार्वजनिक भएपछि दर्शनाले अब के गर्ने भन्नेबारे केही खुलाएकी छैनन्।
विवेकशील साझाको संयोजकबाट हटाइएका पाण्डेले भने आफूहरूको वैकल्पिक राजनीति जारी रहने बताएका छन्।
‘हामी कानुनी रूपमा मिश्रजीसँगको लडाइँलाई जारी राख्छौं भने राजनीतिक रूपमा पनि हामीले बोकेको विचारमा साथीहरूलाई गोलबन्द गरिरहन्छौं,’ पाण्डेले सेतोपाटीसँग भने,‘हामीले सुरू गरेको वैकल्पिक राजनीतिमा अहिलेको अवस्था आउनु विडम्बनापूर्ण हो, जुन हामीले कल्पना पनि गरेका थिएनौं। यसको अर्थ हामी वैकल्पिक राजनीतिको यात्रालाई यहीँ रोक्दैनौं। विगतको समीक्षा गरेर अघि बढ्छौं।’
पाण्डे पक्षले नयाँ दल दर्ता गर्ने विषय ठोस निर्णय नगरे पनि विभिन्न किसिमले संगठन निर्माणको काम गरिरहेको छ।
गत वर्ष मंसिरमा पाण्डे नेतृत्वको विवेकशील र मिश्र नेतृत्वको साझा पार्टीबीच दोस्रो पटक एकता भएको थियो। एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको थियो। तर महाधिवेशन हुन सकेन।
पछिल्लो समय मिश्रले विचारभन्दा माथि देश भनेर नयाँ दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझाभित्र विवाद चुलिएको हो। उक्त दस्तावेजमा मिश्रले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेका छन्।
‘हामी व्यवस्था होइन अवस्था परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा आएको हो। उहाँले व्यवस्था परिवर्तन गर्ने कुरा गरेपछि हामी सशंकित भयौं,’ पाण्डेले भने,‘उहाँलाई समयमै चिन्न नसक्नु हाम्रो गल्ती भयो। अब हामी नयाँ तरिकाबाट अघि बढ्छौं।’
विवेकशील साझा पार्टीले २०७४ को प्रदेश सभा चुनावमा बागमती प्रदेशमा समानुपातिकतर्फ तीन सिट जितेको थियो। रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठ बागमती प्रदेश सभा सदस्य छन्। तीमध्ये संसदीय दलका नेतासमेत रहेका पौडेल पाण्डेतिर छन् भने शाक्य मिश्रतिर छन्। प्रदेश सभा सदस्य श्रेष्ठ दुबै पक्षमा खुलेर लागेका छैनन्।
विवेकशील साझाका सांसद पौडेलले रञ्जुको राजीनामा व्यक्तिगत निर्णय भएकाले आफूले त्यसको सम्मान गर्ने बताए।
‘मिलनजीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन। हामी त्यसविरूद्ध कानुनी लडाइँ जारी राख्छौं,’ पौडेलले भने,‘अहिले पार्टीभित्र अन्तरसंघर्ष भइरहेको छ। हामी यसको समाधान संघर्षबाटै निकाल्छौं।’
हालै भएको सत्तारूढ दल नेपाली कांग्रेसको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मासहित नयाँ पुस्ता नेतृत्वमा आएपछि कतिपयले वैकल्पिक राजनीतिको मुद्दा अब उनीहरूले नै बोक्ने बताइरहेका छन्।
पाण्डे भने कांग्रेसमा गगन र विश्वप्रकाशको उदयले आफूहरूको राजनीतिलाई असर नपुग्ने बरू सहज हुने बताउँछन्।
‘उहाँहरू आएपछि हामीहरूलाई झन् सहज हुन्छ किनभने राजनीतिमा युवाको सहभागिता, सुशासन र प्रगतिशील समाजको मुद्दा हामीले बोकेका मुद्दा हुन्,’ पाण्डेले भने,‘उहाँहरूले पनि तिनै विषयलाई अघि राजनीति गर्नुभयो भने राजनीतिको मैदान हामीले चाहेजस्तो हुन्छ। त्यसपछि ती मुद्दामा को अब्बल भन्ने प्रतिष्पर्धा हुन्छ तर मुलुकको राजनीति त हामीले चाहेको दिशामा अघि बढ्छ।’