प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सोमबार एक वर्ष पूरा भएको छ। अघिल्लो असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि असार ३० गते ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन्।
‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले टाइमलाइन (समयावधि) तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएको दाबी गरेका छन् र अहिले त्यो सुरूआत भएको बताएका छन्।
नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको पनि प्रधानमन्त्रीले बताएका छन्।
‘तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,’ उनले भने।