महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था गरिने बताएकी छन्।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्ष माथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पुर्याउने बताइन्।
९० वर्ष माथि पुगेका जेष्ठ नागरिकहरु शारीरिक रूपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने उनले बताइन्।
त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिले पाउने भत्ता पनि घरमै पुर्याउने उनले बताइन्।
‘जेष्ठ नागरिकहरू जो ९० वर्ष माथि पुग्नुभो। जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ। उहाँहरू बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न। त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न। त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पुर्याइदिन्छौं’, उनले भनिन्, ‘बैंकले, यस्तो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौं।’
उनले संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको बताइन्।
अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई यातायातमा पनि ५० प्रतिशत भाडा छुट भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै उनले ् त्यसमा आफू लागिपरेको बताइन्।
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताइन्।