नेकपा (एमाले) का नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले यस्तो बताएका हुन्।
आफू अहिले अछाममा चुनावी कार्यक्रममा व्यस्त रहेको उनले बताए।
‘म पार्टी कमिटीसँग नियमित सम्पर्कमै छु। जिल्ला कमिटी अछामसँग चुनावी कार्यक्रम र योजना बनाउन क्रियाशील नै छु। अध्यक्षज्यूले कोसँग के भन्नुभयो मलाई जानकारी रहेन। एक-दुई दिनमै काठमाडौं आउँछु,’ रावलले सेतोपाटीसँग भने।
गएको सोमबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरालगायत अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।
त्यसक्रममा ओलीले रावललाई लक्षित गर्दै पार्टीको अनुशासनमा नेताहरू रहनु पर्ने भन्दै नेतृत्वसँग सम्पर्कमा रहनुपर्ने बताएका थिए।
अछाम क्षेत्र नम्बर १ बाट रावल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
उनी उम्मेदवार हुने/नहुने अन्तिम निर्णय केन्द्रबाटै हुनेछ। अछाम १ बाट तीन पटक निर्वाचित रावल यस पटकको उम्मेदवारीबारे आफैं पनि अनिर्णीत छन्।
जिल्लाबाट एकल सिफारिसमा परेपछि रावलले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै धन्यवाद दिएका थिए। उक्त वक्तव्यमा उनले लेखेका थिए- कुनै पदमा जाने वा नजाने विषय पार्टी र राष्ट्रिय राजनीतिको समग्रतामा हेरिनुपर्छ। कुनै पदमा रहने वा नरहनेभन्दा देश र जनताको सर्वोपरी हितमा काम गर्नु महत्वपूर्ण हुन्छ भन्ने मेरो धारणा छ।
उक्त वक्तव्यमार्फत् उनले के भन्न खोजेका हुन् भन्ने सेतोपाटीको प्रश्नको जवाफमा रावलले भनेका थिए- जिल्ला किमिटीले सिफारिस गरे पनि यसका विभिन्न आयाम हुन्छन्। त्यसमा के होला मैले हेर्नुपर्ने हुन्छ। यो विषय निर्णयकर्ताको सोच र विचारमा भर पर्ने कुरा पनि हो। उहाँहरूको सोच र विचार मप्रति के छ भन्ने विषय मलाई जानकारी छैन।
रावल चुनावमा उठ्ने/नउठ्ने टुंगो नभइरहेका बेला सोमबार ओलीले सुदूरपश्चिमका एमाले नेताहरूलाई बोलाएर मुख्य रूपमा तीन सन्देश दिन खोजेको देखिन्छ।
पहिलो, रावलको मात्र नाम एकल सिफारिस भएकोमा ओली असन्तुष्ट छन्। दोस्रो, रावल पार्टीको सम्पर्कमा छैनन् र उनी पार्टी नीतिविपरीत चलिरहेका छन् र तेस्रो, एकल सिफारिस हुनुको अर्थ टिकट पाइहाल्ने होइन त्यो पार्टीले निर्णय गर्ने कुरा हो।
गत महाधिवेशनमा एमाले अध्यक्ष हुन रावलले ओलीलाई चुनौती दिएका थिए।
पार्टीभित्रको अन्तर संघर्षमा अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। पराजित भएका रावललाई ओलीले पछि पार्टी सल्लाहकारमा नियुक्त गरे पनि उनले उक्त पद अस्वीकार गरेका छन्।