राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिले सरकारबाट बाहिरिँदा भागबन्डा नमिलेर हिँडेजस्तो सन्देश जाने हुँदा यसबारे थप छलफल गरेर निर्णय गर्ने कुरा भएको बताएका छन्।
पार्टी कार्यालय बसुन्धारामा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक दुई दिनपछि बस्ने गरी स्थगित गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकाले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका थिए।
यसबीच हामीले बैठकमा सहभागी केन्द्रीय सदस्य कार्कीसँग कुरा गर्दा उनले सरकार छाड्ने कि नछाड्ने भनेर थप छलफल गर्नुपर्नेमा सबैको साझा धारणा बनेकाले बैठक स्थगित भएको बताए।
'हामी अहिले नै सरकारबाट बाहिरिँदा नराम्रो सन्देश जान्छ। भागबन्डा नमिलेर हिँडेजस्तो हुन्छ,' उनले सेतोपाटीसँग भने, 'मन्त्रीहरूको काम राम्रो हो कि नराम्रो हो भनेर अहिले नै भन्न सकिएको छैन। तर जनताले सोचेजस्तो भएको छैन। त्यसैले अझै छलफल गरौं भन्नेमा सबैको धारणा छ।'
बैठकमा पार्टी सभापति रवि लामिछानेले के भने त भन्ने प्रश्नमा कार्कीले जवाफ दिए, 'मैले गृह मन्त्रालय मलाई नै चाहियो भनेर कतै भनेको छैन, उच्चस्तरीय समन्वय समितिले निर्णय गरेपछि गृहबारे पार्टीले निर्णय गर्छ भनेर सभापतिले भन्नुभयो।'
प्रवक्ता ढकालले भने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने अडान कायम राखेको बताएका थिए।
‘हामीले गृह मन्त्रालय पाउनुपर्छ भनेका हौं। अरू पार्टीले हाम्रो निर्णयमाथि हस्तक्षेप गर्न पाउँदैन भनेका हौं,’ उनले भने, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं। पार्टीबाट को व्यक्ति पठाउने भन्ने अधिकार हाम्रो हो।’
रास्वपाको बैठक जारी रहँदा प्रधानमन्त्री दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष ओलीले सभापति लामिछानेलाई फोन गरेका थिए। फोनमा उच्चस्तरीय बैठक नबसेको र दुई दिनका लागि कुनै पनि निर्णय नलिन भन्दै अनुरोध गरेको पनि प्रवक्ता ढकालले बताए।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, २१:४५:००