राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्।
जनतासँगको निरन्तर सन्निध्यतासँगै उनीहरूको सुख, दु:ख बुझेर उनीहरूकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने उनले बताए।
‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दु:ख बुझ्ने स्व. नवीन्द्रराज जोशी यही दर्शनबाट प्रभावित थिए,’ राष्ट्रपति पौडेलले स्व. जोशीको सालिक आज बिहान काठमाडौंमा अनावरण गर्दै भने।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जोशीको निधनले अपुरणीय क्षति पुगेकोसमेत उनले बताएका थिए। जोशीको २०७७ चैत १३ गते राति निधन भएको थियो।
‘उहाँले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्याउनुभएको योगदानको भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहिरहनेछ,’ राष्ट्रपति पौडेलले भने।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, १०:०१:००