नेपाली कांग्रेसका नेता महेश आचार्यले बिपीको मेलमिलाप नीतिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी पूर्वाग्रहप्रेरित, झुटो, इतिहासको अध्ययन र समझ नभएको व्यक्तिको द्वेषपूर्ण टिप्पणी झैं भएको बताएका छन्।
‘बिपी कोइराला र उहाँले अवलम्बन गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति माननीय केपी शर्मा ओलीले स्व. तुलसीलाल अमात्यको स्मृति दिवस समारोहमा व्यक्त गर्नुभएको विचार पूर्वाग्रहप्रेरित, झुटो र इतिहासको अध्ययन र समझ नभएको व्यक्तिको द्वेषपूर्ण टिप्पणीझैं लाग्यो। ओलीजीले मेलमिलापको आह्वान राजासामु आत्मसमर्पण र कम्युनिस्ट विरोधी रहेको भनी दिनुभएको अभिव्यक्ति भ्रामक छ र त्यसैले खण्डनयोग्य छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्।
उनको भनाइ जस्ताको तस्तै:
२०३३ साल पुस १६ गते बिपी-गणेशमानजी लगायतका नेताहरूले ८ वर्षको निर्वासन त्यागी नेपाल फर्कंदा कांग्रेस सभापतिको हैसियतले बिपीले देशवासीका नाममा जारी गर्नुभएको अपीलमा देशमा गहिरिँदै गएको राष्ट्रिय संकट र यस्तो संकट आउनुको मुख्य कारण राष्ट्रिय एकताको अभाव रहेको र जसले गर्दा नेपालमा विदेशी तत्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखाडा बनाउन लागेको गम्भीर विषयलाई देशवासीका सामु राख्नु भएको थियो।
बिपीले त्यसबेला भन्नुभयो - हिजोसम्म हाम्रो संघर्ष प्रजातान्त्रिक अधिकारका लागि थियो, आज नेपाली कांग्रेसको काँधमा दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। यस राष्ट्रिय संकटको घडीमा हामी सबैले विगतका अप्रिय विवाद, अनुभव र मत भिन्नतालाई बिर्सिएर, समाप्त गरेर एकताको सुत्रमा बाँधिनुपर्छ। त्यसको लागि राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिहरूका बीच राष्ट्रिय एकता र मेलमिलापको अपील गर्दछु।
यो अपीलमा न त राजा सामु आत्मसमर्पणको आशय छ, न त कम्युनिष्टकाप्रति दुराभाव व्यक्त छ। बिपीले देशका सम्पूर्ण राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिका बीच एकता र मेलमिलापको आह्वान गर्दा माननीय ओलीजी राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति भन्दा बाहिरको कित्तामा पर्नु होला र? यसका साथै उस्तै संकल्प-उस्तै संघर्षको लामो सहयात्रा र मृत्युदण्ड बेहोर्नु पर्ने मुद्दाका उस्त़ै आरोप बेहोरेका बिपी र गणेशमानजीको राष्ट्रिय एकता र मेलमिलापको विचार र व्यक्तित्वका बीच पार्थक्य देख्नु पनि दृष्टिदोषले ग्रस्त देखिन्छ माननीय ओलीजीको टिप्पणी।
इतिहासको अध्ययन र चेत भएका विद्वानलाई थाहा छ- १९७० को दशकमा आपसी द्वन्द्वका कारण सिक्किमको स्वतन्त्र राष्ट्रको हैसियत गुम्यो, आपसी द्वन्द्व समाधान नगर्दा पाकिस्तान विभाजित भयो र बंगलादेश बन्यो, अफगानिस्तान विदेशी हस्तक्षेप र लामो गृहयुद्धमा फस्यो अनि भारतको लोकतन्त्र आपतकालीन विग्रहमा प-यो। दक्षिण एशियामा यत्रो हलचलको पृष्ठभूमि बुझेर देशलाई विदेशी षड्यन्त्रबाट जोगाउन राष्ट्रका सबै शक्तिका बीच एकता र मेलमिलापको लागि बिपीको आह्वानलाई आत्मसमर्पण र कम्युनिष्ट विरोध देख्नु माननीय ओलीजीको हताशा र पूर्वाग्रह देखिन्छ।