कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिन लागेका हुन्।
त्यसका लागि प्रदेशसभा सचिवालयमा आवश्यक पत्रसमेत दर्ता भइसकेको छ।
कोशीमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच बनेको सत्ता समीकरणमा रहेका सांसद संख्या ५७ छ। ९३ सदस्यीय प्रदेशसभामा कायम संख्या ९२ छ।
कोशीमा एमालेका ४० र नेकपाका १७ सासद छन्।
प्रदेशसभामा कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५, जनता समाजवादी पार्टी नेपालका १ सांसद छन्।
कांग्रेसले सरकारलाई दिएको समर्थन भदौ ३ मा फिर्ता लिएको थियो।