नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन्।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन्।
लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेको उनले बताएका हुन्।
'नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एसियामै तुलनात्मक रूपमा खुला रहेको नेपालको त्यो स्पेस–यी सबै कुरा आज संकटमा छ,' उनले भने।
ठूलो जनादेश प्राप्त गरेर रास्वपा सरकारमा आए पनि गएका पाँच महिनाका लक्षणहरूले सरकारको दिशा प्रष्ट देखिएको उनको भनाइ छ।
'यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन, संसद जसका निम्ति कुनै अर्थको छैन, आफ्नै पार्टीको पनि–जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो–त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरू, अन्य राजनीतिक दलहरू त धेरै टाढाको कुरा भयो । मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ,' उनले भने।
उनले संसद भित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प नरहनू अर्को बिडम्बना रहेको बताए।
'उसले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न चाह्यो भने? यद्यपि राष्ट्रिय सभा छ, त्यसले ‘चेक एन्ड ब्यालेन्स’ गर्ला । तर प्रतिनिधि सभाको कुरा गर्ने हो भने, हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नभएको अत्यन्त प्रतिकूल शक्ति सन्तुलनमा हामी छौं,' उनले भने।
यसकारणले अधिनायकवादको खतरा अझै बढेको नेता ज्ञवालीले बताए।