सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक दल र नेतृत्वको असफलता देखाएर अग्लो देखिने छुट आफूहरूलाई नभएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीको दुईदिने 'नीति, संगठन र नेतृत्व' विषयक कार्यशालामा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले बितेका ३५ वर्षको आलोचना वा कचकचमा अल्झिनुको साटो अबको ३५ वर्ष मुलुकलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट दूरदृष्टि र योजना प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
'हिजो हामीले दोष लगाउने कयौं मान्छे थिए, कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो; दोषै दोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौं। आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनुपर्ने कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेका ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौं। जति सके गरे, धन्यवाद! अबको ३५ वर्ष कस्तो बनाउने, यो त हाम्रै हातमा छ नि,' उनले भने।
उनले अगाडि भने, 'अब आउने ३५ वर्ष यो देशलाई कहाँ लिएर जाने? अबको हाम्रो शिक्षा र स्वास्थ्य नीति के हो? आमनागरिकले हाम्रो नेतृत्वमा के पाउँदै छन्? हाम्रो विकास नीति के हो? हाम्रो वैदेशिक नीति के हो? हाम्रा नीतिका कारण हामी कहाँ पुर्याउँदै छौं देशलाई? हाम्रो अर्थतन्त्रले कुन आकार ग्रहण गर्दै छ? हाम्रो सामाजिक लोकतन्त्रको अभ्यासबाट हामी कुन उपलब्धि हासिल गर्न खोज्दै छौं? हाम्रो ध्यान र हाम्रो समय त्यहाँ जानुपर्छ।'
'किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेँ'
सभापति लामिछानेले विगतमा आफूलाई २१ सिटको दलको नेताका रूपमै प्रधानमन्त्री बन्न प्रस्ताव आएको स्मरण गर्दै 'किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको' बताएका छन्।
'एउटा यस्तो समय पनि थियो, मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्न मेरो मात्र हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो। 'भइदिऊँ न त' भन्दाखेरि त्यति गाह्रो थिएन। तर त्यतिखेर एउटै चिज दिमागमा आयो — यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ? म प्रधानमन्त्री भइनै हालेछु भने पनि दुई महिना, चार महिना वा छ महिनाको प्रधानमन्त्री बन्थेँ होला। धेरै नै धेरै भए त्यो सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिदिन्थे होला। तर देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रो परिवर्तन कुरेर बसेको थियो, देशले यस्ता होनहार मान्छेहरू कुरेर बसेको थियो। मसँग त्यो अधिकार थिएन। त्यतिखेर साँच्चै नै मलाई त्यो महसुस भएको हो,' उनले भने।
लामिछानेले अगाडि भने, 'म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हुँ। मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएर आएको होइन, इतिहासको पानामा दर्ज मात्र गराउन खोजेको हो।'
'राजनीतिमा प्रतिबद्धता, आँट, साहस र हिम्मत हुनुपर्छ'
प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको घटना स्मरणपछि सभापति लामिछानेले 'राजनीतिमा कहीँ न कहीँ, कतै न कतै प्रतिबद्धता, आँट, साहस र हिम्मत हुनुपर्ने' बताएका छन्।
'भोलि आउने चुनावमा यही हलमा भएका कयौं साथीहरूले कुनै कारणले टिकट पाउनुभएन भने सबभन्दा पहिला मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला, त्यस्तो पनि हुन सक्छ,' उनले भने, 'तर त्यो धेरै हुन्छ कि भन्ने कुराले अलिकति सताउँछ मलाई। जसोतसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो, त्यसको अर्थ हाम्रो व्यक्तिगत लाभ र स्वार्थमा देशको राजनीति प्रयोग नहोस्, मेरो चिन्ता यति मात्रै हो।'
कुनै पनि देशले यति धेरै युवा केन्द्रीय सदस्य, यति धेरै युवा सांसद, यति धेरै युवा मन्त्री नपाएको उल्लेख गर्दै उनले यो उपलब्धिलाई कसैले पनि हल्का रूपमा नलिन आग्रह गरेका छन्।
'याद गर्नुहोस्, आज तपाईं-हामीले बाटो बिरायौं भने संसारभरि के म्यासेज जान्छ — युवाको नेतृत्वको काम छैन, युवा भनेर हुने रहेनछ; देख्नुभयो नेपाल? भनेर संसारका अन्य देशहरूले भन्नेछन् र हाम्रो शिर झुक्छ। शिर झुकाउने काम गर्नुहुन्न साथीहरू,' उनले भने।
राजनीतिमा पद र प्रतिष्ठाभन्दा प्रतिबद्धता ठूलो हुने बताउँदै उनले भने, 'म त जहिले पनि तपाईंहरूसँग खाली एउटा प्रतिबद्धताको मात्र अपेक्षा गरेर कुराकानी गर्छु। जब चिन्ता लाग्छ, चिन्ता लागेपछि साथीहरूलाई सम्झाउन-बुझाउन, अलिकति ओरिएन्टेसन जस्तो कुराकानी गर्न, राजनीतिकभन्दा पनि अलि फरक तरिकाले प्रस्तुत हुन मन लाग्दो रहेछ।'
पाँचौं तलामा बस्ने सम्पन्न व्यक्ति सानो बल्ब निभाउन राति तल झर्ने गरेको उदाहरण दिँदै उनले अगाडि भने, 'त्यो बल्बले कति नै पैसा खर्च हुने होला र! तर त्यो त जिम्मेवारी हो, त्यो त अभिभावकत्व हो। मलाई कताकता त्यही जिम्मेवारी महसुस भएर बेलाबेला तपाईंहरूलाई झर्को लाग्ने गरी प्रवचन दिएझैं यसैगरी भनिरहन्छु, बताइरहन्छु।'
'देशको सबभन्दा शक्तिशाली राजनीतिक दलको सबभन्दा ठूलो नेता भनेको देशको सबभन्दा जिम्मेवार मान्छे हो। त्यो जिम्मेवारीको बाँडफाँट राम्रोसँग गर्यौं भने हामी बलियो बन्छौं,' उनले भने।
'मेरो कारणले तपाईंहरूको शिर झुक्दैन'
सभापति लामिछानेले आफ्नो कारणले संसदमा भएका १८२ जना रास्वपा सांसदहरू कसैको पनि शिर झुक्न नदिने बाचा गरेका छन्।
'म यहाँ उभिएर तपाईंहरूलाई भन्न सक्छु, मेरो कारणले तपाईंहरूको शिर झुक्दैन। अन्जानमा मबाट कुनै गल्ती-कमजोरी भएछन् भने म राजनीतिक रूपमा त्यसलाई सच्याउने, त्यसबाट क्षमा याचना गर्ने र पुनः तपाईंहरूको शिर फेरि पनि उठाउने जमर्को गर्ने प्रतिबद्धता व्यक्त गर्न सक्छु,' उनले भने, 'लडिएछ भने फेरि उठेर दौडिने पनि प्रतिबद्धता व्यक्त गर्न सक्छु। त्यही प्रतिबद्धता तपाईंहरू सबैले गर्नुपर्छ। र, मलाई पनि तपाईंहरूले ढुक्क हुने गरी भन्नुपर्छ — सभापतिज्यू, मेरा कारणले पार्टीको शिर झुक्दैन, ढुक्क हुनुहोस्, ग्यारेन्टी गर्छु।'
'हाम्रा क्रियाकलापले लोकतन्त्र कमजोर नहोस्'
सभापति लामिछानेले रास्वपा सदस्यहरूबाट भएका क्रियाकलापले देशको लोकतन्त्र कमजोर नहोस् भन्ने नै आफूहरूको पहिलो जिम्मेवारी भएको बताएका छन्।
'आज विभिन्न संस्थाहरू डराएका छन्। राजनीतिक संस्थाहरू भत्किए भने लोकतन्त्र भत्कन्छ। तर एकै पटक गर्ल्यामगुर्लुम्मै जाने, त्यस्तो कमजोर घर होइन लोकतन्त्र। हिजोका सहिदहरूले बलिदानी दिएका छन्, हिजोका राजनीतिक दलहरूले जेल-नेल भोगेर यसलाई बलियो बनाएका छन्। बिल्कुल बलियो छ यो, कमजोर छैन। कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो। उनीहरूले यसलाई बलियो बनाएका छन्,' उनले भने।
'उनीहरूले भोलि हामीलाई भन्न सक्छन् — हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौं, सुशासनको कुरामा बाहेक बाँकी राजनीतिक हिसाबमा त हामी बलिया थियौं। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो? भोलि यो प्रश्न उठ्यो भने हामीसँग जबाफ हुने छैन। हामी त्यो मोडमा जानेवाला छैनौं, हामी हाम्रो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौं। त्यसैले हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्ने छ।'
उनले अगाडि भने, 'जिम्मेवार भएपछि थोरै चिन्ता लाग्ने रहेछ। त्यो चिन्ता मैले तपाईंहरूसँग व्यक्त नगरेर कहाँ व्यक्त गरौं? यो मेरो असन्तुष्टि बिल्कुल होइन, यो थोरै चिन्ता हो। त्यो चिन्ताको निवारण गर्ने जिम्मा तपाईं-हाम्रो हो।'
स्थानीय निर्वाचनको तयारी र मधेस यात्रा
स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेताहरू केन्द्रमा मात्र अल्झिन नहुने उनको भनाइ थियो।
'केन्द्रमै वा अन्तर्वार्ताहरूमा अल्मलिएर होइन, गाउँ-गाउँ, दूरदराज, टोल-टोल र बस्ती-बस्तीमा पुगेर बताउनुपर्ने छ, हामीले के-के काम गरिरहेका छौं। स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा पछि पर्न सक्छौं,' उनले भने।
अहिलेको सरकारको नियत र नीति सफा रहेको र रास्वपामाथि भ्रष्टाचार वा अनियमितताको प्रश्न नउठेको दाबी गर्दै उनले संगठन विस्तारका लागि आफू चाँडै मधेस यात्रामा जाने जानकारी दिए।
'सुरूआती चरण भएकाले जग हाल्दा संरचना नदेखिन सक्छ। म आफै अब सम्भवतः हप्ता-दस दिन वा दुई हप्तामा मधेस यात्रामा निस्कन्छु। केन्द्रीय सदस्य साथीहरूलाई पनि देशैभरिका गाउँ-गाउँको जिम्मेवारी दिएर पठाइनेछ,' उनले भने, 'उहाँहरूले त्यहीँ बसेर आमनागरिकसँग कुराकानी गरेर, उहाँका दुःख-सुख सुनेर, उहाँका गुनासाहरू सुनेर तिनलाई समाधान गर्ने बाटोमा जानुहुनेछ।'
'त्यसबीच सरकारका कामकारबाहीमा आमनागरिकले सोधेका हरेक प्रश्नको जबाफ र समाधान हामीसँग हुनुपर्ने छ। त्यसैले त्यसका लागि साथीहरू तयार रहनुहोला,' उनले भने।
'चितवनमा जे भयो, त्यो चितवनबाट मुग्लिन कटेर आएको छैन'
पार्टी समायोजनका धेरै कुरा चितवन महाधिवेशनमै टुंग्याइसकेको उल्लेख गर्दै सभापति लामिछानेले चितवनमा के भए, के भएनन् भन्ने कुरा त्यहीँ समाप्त भएको बताएका छन्।
'Whatever happens in Vegas, stays in Vegas भनेजस्तै Whatever happens in Chitwan, stays in Chitwan। त्यो चितवनमै बस्यो, चितवनबाट मुग्लिन काटेर आएको छैन, त्यतै छ। त्यसैले त्यसमा हामी धेरै चिन्तित नहौं। अब अगाडि बढेपछि यहाँहरूलाई स्पष्ट पार्छु — यी हल्ला र गसिपहरूको पछि लाग्ने साथीहरू पछि पर्नुहुन्छ। त्यतातर्फ नलागी पार्टीलाई बलियो बनाउने र एकजुट भएर अगाडि बढ्ने कुरामा यहाँहरूले ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,' उनले भने।
लामिछानेले उम्मेदवार चयन 'क्यान्डिडेट क्लब' र 'लिडरसिप एकेडेमी' का माध्यमबाट मात्र हुने स्पष्ट पार्दै टिकटको आश्वासन दिने वा लेनदेन गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी पनि दिए।
'अग्रिम टिकटको आश्वासन पाएका वा लेनदेन गरेका साथीहरूको लगानी नराम्रोसँग डुब्यो! कसैले त्यस्तो झुक्याएर लेनदेन गरेको छ भने प्रमाण ल्याउनुहोस्, 'हम तो डुबे सनम, तुमको भी ले डुबेंगे' भनेझैं दुवै जना डुब्ने गरी कारबाही गर्छौं। टिकट दिने बहानामा वा मेरो र पार्टीको नाम बेचेर जागिर, ठेक्का वा प्रोजेक्ट दिलाउँछु भन्ने ठगहरूको पछि नलाग्नुहोला। मैले कसैलाई त्यस्तो अख्तियारी दिएको छैन,' उनले भने।
सम्बोधनको अन्त्यमा सभापति लामिछानेले नेपाल र नेपालीको भाग्य बदल्ने अवसर आफ्नै पुस्ताको हातमा आएको बताए।
'हामी इतिहासको त्यो साक्षी र पुस्ता हौं, जसको काँधमा देशले परिवर्तनको आशा राखेको छ। अब अरू देशका नेताको कथा पढ्ने होइन, आफैले इतिहास बदल्ने हो। समृद्धिको खाका कोर्ने यो अवसर र जनताको विश्वासलाई कहिल्यै मर्न नदिनुहोला,' उनले भने।
***