नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन्।
जनकपुरधाममा भएको पार्टी कार्यक्रममा बोल्दै उनले सरकारले संसदीय गरिमा र जबाफदेहितालाई उपेक्षा गरेको बताए।
‘लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको सबैभन्दा ठूलो माध्यम संसद हो। संसदलाई महत्त्व नदिनु र जबाफदेहिताबाट पन्छिनुले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ। अदालतले दोषी नदेख्ने तर सरकारले पक्राउ गरिरहने प्रवृत्तिले सरकारको काममा त्रुटि र कमजोरी रहेको पुष्टि गर्छ,’ निधिले भने, ‘बदलाको भावनाबाट सुशासन र विधिको शासन सञ्चालन हुन सक्दैन।’
उनले प्रदेशको मातहतमा आफ्नै प्रहरी र कर्मचारी हुनुपर्ने पनि बताए।
‘वर्तमान सरकारले त्यसतर्फ ध्यान दिएको छैन। दुई तिहाइको बल छ भन्ने दलहरूले नै प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्दा संघीयता र प्रदेश संरचना कमजोर भइरहेको छ,’ उनले भने।
पार्टीको आन्तरिक मामिला र आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै निधिले पार्टी एकता र विधि विधानको पालनामा जोड दिए।
कानूनी र प्राविधिक विषयहरूमा अदालतबाट हुने पुनरवलोकनले सकारात्मक परिणाम दिनेमा आफू विश्वस्त रहेको उनले बताए।
–न्युज एजेन्सी नेपाल