२०७८ मंसिरमा दसौं महाधिवेशन सकिएलगत्तै माघ ८ गते एमालेले एकै दिन जिल्ला अधिवेशन गरेको थियो।
२०७१ को नवौं महाधिवेशनपछि सात वर्षसम्म जिल्ला अधिवेशन भएको थिएन। सबै जिल्ला कमिटीले तोकिएकै मितिमा एकै दिन अधिवेशन गरे।
दसौं महाधिवेशनमार्फत् अध्यक्षमा दोहोरिएर आएकाले जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत छानिऊन् भन्ने केपी ओलीको चाहना थियो।
तर जिल्ला अधिवेशन उनले भनेअनुसार भएन। नेतृत्वको इच्छा नहुँदानहुँदै पनि २० भन्दा बढी जिल्लामा निर्वाचनमार्फत नेतृत्व छानिएको थियो।
त्यसो त एमालेले त्यही वर्ष पालिका र वडा तहका कमिटीहरूको अधिवेशन पनि एकैदिन गरेको थियो। अधिकांश पालिका र वडा तहका कमिटीमा भने सर्वसम्मत नै नेतृत्व छानियो।
चार वर्ष नबित्दै एमालेभित्र प्रतिस्पर्धा सघन बनेको छ। प्रदेश कमिटीको अधिवेशनमा गुट–उपगुट पनि देखिए। उनीहरूकै बीचमा चुनाव भयो।
एमालेको प्रदेश अधिवेशन लुम्बिनीबाट सुरू भएको थियो। लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका थिए।
त्यसलगत्तै बागमतीमा भएको प्रदेश अधिवेशनमा पनि चुनावमार्फत् नै नेतृत्व चयन गरियो। बागमतीमा कैलाश ढुंगेल अध्यक्षमा निर्वाचित भएका थिए।
त्यसपछि गण्डकीको अधिवेशनमा पनि चुनाव नै भयो। म्याग्दीमा नवराज शर्मा अध्यक्ष निर्वाचित भएका थिए। कोशी र कर्णाली प्रदेशमा पनि चुनाव नै भएको थियो। कोशीमा घनश्याम खतिवडा र कर्णालीमा गुलाबजंग शाह अध्यक्ष निर्वाचित भए।
सुदूरपश्चिममा कृष्णकुमार जैसी र मधेस प्रदेशमा चन्द्रेश्वर मण्डल सर्वसम्मत अध्यक्ष चुनिए। यी दुई प्रदेशमा कमिटी नै सर्वसम्मत भयो।
एमालेमा ९ वटा प्रदेश कमिटी छन्। सात वटा भूगोल अन्तर्गत छन्। उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी पनि प्रदेश सरहका कमिटी हुन्। यसलाई चाहिँ एमालेले गैरभौगोलिक प्रदेश कमिटी भन्ने गरेको छ। उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली र सम्पर्क समन्वयमा श्याम बस्नेत अध्यक्ष छन्।
यी दुई कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भयो।
प्रदेशहरूको अधिवेशनलगत्तै भएको जिल्ला अधिवेशनहरूमा पनि अधिकांश ठाउँमा चुनाव नै भएको एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए।
‘अधिकांश जिल्ला कमिटीमा चुनावमार्फत् नै नेतृत्व चयन भएको छ। आँकडामै भन्ने हो भने ८० प्रतिशत हाराहारी जिल्ला अधिवेशनमा चुनाव भयो,’ उनले भने।
एमालेले २०८१ र २०८२ लाई अधिवेशनको वर्षजस्तै मानेको थियो। यसबीचमा एमालेले तीवटा ठूला अभियान पनि चलायो। चुनाव सकिएलगत्तै एमालेले ‘मिसन ग्रासरूट’ अभियान चलाएको थियो भनेर गत वर्ष पनि ‘जरा अभियान’ सञ्चालन गरेको थियो।
यसैबीच बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाएको एमालेले ‘संगठन शुद्धीकरण र सुदृढीकरण’, देशैभर छोराछोरी अभियान चलाएको थियो।
यी सबैले पार्टीलाई चलायमान बनाएको एमालेको निष्कर्ष छ। यसैको तागतमा पार्टी कमिटीको आवधिक अधिवेशन गरेकाले पार्टी थप तन्दुरूस्त बनेको एमालेको बुझाइ छ।
अधिवेशनमा देखिएको स्वःस्फूर्त प्रतिस्पर्धा यसैको कडी भएको पनि एमालेले बताएको छ।
‘जिल्ला अधिवेशन शतप्रतिशत पूरा भएको छ। अवधि पुगेका जनसंगठनहरूको पनि अधिवेशन सकिइसकेका छन्। पालिका र वडा तहका कमिटीहरूको अधिवेशन पनि ९० प्रतिशत हाराहारीमा सकिएका छन्। अहिले संगठित सदस्यता नवीकरण अद्यावधिक गर्ने र प्रदेशहरूले त्यसको विवरण केन्द्रमा पठाउने काम गरिरहेका छन्,’ एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले भने।
एमालेमा चार वटा विशेष (मजदुर, युवा–विद्यार्थी, उद्योग व्यवसाय र पेशागत) गरी ८१ जिल्ला कमिटी छन्। यसमध्ये ६५ वटाजतिमा चुनाव भएको सुब्बाले बताए।
जनसंगठनहरूको महाधिवेशनमा खासै प्रतिस्पर्धा हुन दिइएन।
१६ वटामध्ये अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, बुद्धिजीवी परिषद्, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनमा मात्रै चुनाव भयो।
अनेरास्ववियुमा डा. सुजन कडरिया, राष्ट्रिय युवा संघमा क्षितिज थेवे, बुद्धिजीवीमा गजेन्द्रप्रसाद थपलिया र कानुन व्यवसायी संगठनमा अमर थापा अध्यक्ष निर्वाचित भए।
यी चार जनसंगठनमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका बीच चुनाव भएका हुन्। पार्टी नेतृत्वले सहमति मै अधिवेशन सक्न दबाब दिएकाले कमिटी निर्वाचित प्रक्रिया लम्बिएको थियो। अनेरास्ववियु र युवा संघको अधिवेशन गर्न पाँच–पाँच दिन समय लागेको थियो।
एमालेका २३ जनसंठनमध्ये अखिल नेपाल महिला संघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पेशागत महासंघ, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, रिटर्नी फेडेरेशन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा अधिवेशन हुन बाँकी छ।
यो पनि:
एमालेमा प्रकाश र सुमनले फर्काएको लोकतन्त्र