बेलायत सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
यो घोषणाले बेलायतमा बालबालिकाहरूको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षालाई लिएर लामो समयदेखि चल्दै आएको बहसले एउटा ठूलो नीतिगत मोड लिएको छ।
प्रधानमन्त्री कियर स्टार्मरले आउने क्रिसमस अगाडि नै उक्त कानुन पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको जानकारी दिएका छन्।
यसअघि अस्ट्रेलिया सरकारले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको थियो। त्यसपछि इन्डोनेसिया, ब्राजिल र क्यानडा लगायत दुई दर्जनभन्दा बढी देशले आफ्नै प्रतिबन्धहरू विचार गरिरहेको वा त्यसतर्फ अघि बढिरहेको बताएका छन्।
अस्ट्रेलिया सरकारकै सिको गरेर आफूहरूले पनि यसको सुरूआत गरेको स्टार्मरले बताएका छन्।
यो प्रतिबन्ध लागू भएसँगै स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स, रेडिट र ट्वीच जस्ता एप १६ वर्ष मुनिका बालबालिकाले चलाउन पाउने छैनन्। ब्लूस्काई र विभिन्न डेटिङ एपहरू पनि सम्भावित प्रतिबन्धको दायरामा रहने छन्।
तर युट्युब किड्स अनि मेसेजिङ एप ह्वाट्सएप र सिग्नललाई भने सरकारले प्रतिबन्ध लगाउने छैन।
बेलायतको प्रतिबन्धमा अस्ट्रेलियाभन्दा पनि कडा हुने देखिएको छ। सरकारले १६ वर्षमुनिका बालबालिकाका लागि प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिमिङ) सुविधा दिन र अपरिचित व्यक्तिहरूलाई बाल प्रयोगकर्ताहरूसँग सम्पर्क गर्न पूर्ण रूपमा रोक लगाउनेछ।
यो नियम पूर्ण प्रतिबन्धको दायरामा नपर्ने रोबलोक्स र डिस्कर्ड जस्ता गेमिङ तथा च्याट सेवाहरूमा पनि लागू हुनेछ। यसका साथै १८ वर्ष मुनिका लागि रोमान्टिक सामीप्य प्रदान गर्ने एआई च्याटबटहरू पनि पूर्ण रूपमा प्रतिबन्धित हुनेछन्।
अस्ट्रेलियाको प्रतिबन्ध कत्तिको प्रभावकारी भयो?
अस्ट्रेलिया गत डिसेम्बरमा मेटा, टिकटक र स्न्याप जस्ता कम्पनीहरूलाई १६ वर्ष मुनिकाले उनीहरूको सेवा प्रयोग गर्न नपाउने कुरा सुनिश्चित गर्न बाध्य पार्ने विश्वकै पहिलो लोकतान्त्रिक देश बन्यो। नियम पालना नगर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अस्ट्रेलियन डलर सम्म जरिवाना भोग्नुपर्नेछ।
कार्यान्वयनको छ महिनापछि, अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले करिब ५० लाख खाता बन्द गरिएको बताएको छ। तैपनि, समग्रमा अस्ट्रेलियाको प्रतिबन्ध कत्तिको सफल भएको छ भन्ने स्पष्ट छैन।
धेरै अभिभावकले यो कदमलाई समर्थन गरेका छन्, तर धेरै किशोरकिशोरीले यसलाई छल्ने उपायहरू फेला पारेका छन्।
७०० भन्दा बढी अस्ट्रेलियन किशोरकिशोरीमा गरिएको एक सर्वेक्षणले १४ र १५ वर्षका करिब चार जनामध्ये एक जनाले मात्र नियम पालना गरेको देखाएको भनेर ब्लुमबर्गले लेखेको छ।
प्रतिबन्धअघि आफ्ना बालबालिकाको सामाजिक सञ्जाल खाता भएको बताउने करिब ७० प्रतिशत अभिभावकले ती खाता अझै पनि बाँकी रहेको बताए भनेर उक्त नियामकले मार्चमा भनेको थियो।
बेलायतमा उमेर कसरी प्रमाणित गरिनेछ?
यो स्पष्ट छैन। बेलायतको मिडिया सम्बन्धी नियामक निकाय अफकमलाई उमेर प्रमाणीकरणका लागि के-कस्तो विधि अत्यधिक प्रभावकारी हुन्छ भनेर निर्क्यौल गर्न अक्टोबरसम्मको समय दिइएको छ।
बेलायत सरकारले १६ वर्ष मुनिकाले प्रतिबन्धित एप फोनमा डाउनलोड नै गर्न नमिल्ने पार्न एप्पल र एन्ड्रोइड अपरेटिङ सिस्टम बनाउने कम्पनीहरूसँग पनि छलफल गर्ने भनिएको छ।
१६ वर्ष मुनिकामा सामाजिक सञ्जालको असरबारे विज्ञानले के भन्छ?
अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हैटको सन् २०२४ को पुस्तक 'द एङ्सियस जेनेरेसन' ले बालबालिकामा सामाजिक सञ्जालको प्रभावबारे धेरै अस्पष्ट चिन्ताहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेको थियो।
उनले सामाजिक सञ्जालका कारण 'बाल्यकालको ठूलो पुनर्संरचना' भएर मानसिक स्वास्थ्य संकट निम्त्याइरहेको तर्क गरेका थिए।
यद्यपि, हैटको पुस्तकपछि प्रकाशित एक प्रतिवेदनमा अमेरिकी राष्ट्रिय विज्ञान, इन्जिनियरिङ र चिकित्सा एकेडेमीको अनुसन्धानले सामाजिक सञ्जाल र स्वास्थ्यबीच सानो प्रभाव र कमजोर सम्बन्ध देखाएको निष्कर्ष निकालेको छ।
किशोरकिशोरीमा बढ्दो चिन्ता, डिप्रेसन र अन्य समस्याको व्याख्या गर्न पनि गाह्रो रहेको फाइनान्सियल टाइम्सले लेखेको छ। यी समस्यालाई मानसिक समस्याका रूपमा बढी पहिचान गरिनुको कारणले पनि यसो भएको हुन सक्छ।
अक्सफोर्ड विश्वविद्यालयको मनोरोग विभागकी अनुसन्धानकर्ता होली बियरले बालबालिका र युवाहरूमा सामाजिक सञ्जालको प्रयोगको प्रभावबारे प्रमाणहरू मिश्रित र धेरै हदसम्म सह-सम्बन्धित (को-रिलेसनल) रहेको बताएकी छन्।
यसको प्रभाव पहुँचमा मात्र नभई उनीहरूले अनलाइनमा के हेर्छन् र के गर्छन् भन्नेमा बढी निर्भर हुने उनले जनाइन्।
वैज्ञानिकहरूका अनुसार, युवाहरूको अनलाइन गतिविधिबारे व्यावहारिक चिन्ताहरूमा अत्यधिक प्रयोगको प्रभाव र रूपरंग तथा सामाजिक तुलनामा केन्द्रित सामग्रीहरूको प्रभाव प्रमुख छन्।
सामाजिक सञ्जालले केही बालबालिका र किशोरहरूलाई विशेष गरी साइबर बुलिङ, निद्रामा असर, हानिकारक सामग्रीको सम्पर्क र सामाजिक तुलनाका माध्यमबाट हानि पुर्याउन सक्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छ। तर सामाजिक सञ्जालले नै सबै १६ वर्षभन्दा कम उमेरका बालबालिकामा मानसिक स्वास्थ्य समस्या उत्पन्न गर्छ भन्ने बलियो प्रमाण छैन।
त्यसैगरी १६ वर्षभन्दा कम उमेरका लागि पूर्ण प्रतिबन्ध नै सबभन्दा प्रभावकारी समाधान हो भन्ने पनि स्पष्ट रूपमा प्रमाणित भएको छैन।
बच्चा को हो, उसले सामाजिक सञ्जालमा के गर्छ र प्लेटफर्म कसरी डिजाइन गरिएको छ भन्नेमा यसले पार्ने प्रभाव निर्भर हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)