राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने भएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बढ्दो गर्मीलाई ध्यानमा राखेर रत्ननगरमा गर्ने भनिएको उद्घाटन त्यहाँबाट सारेर भरतपुरको प्रहरी कार्यालयसँगै रहेको गेष्टहाउस चौरमा गर्न लागिएको हो।
बन्दसत्र भने भरतपुरमै रहेको नेपाल उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।
‘महाधिवेशनका प्रतिनिधिहरूले पहिलो प्रश्न नै गर्मी कत्तिको छ भनेर प्रश्न गर्नुहुन्छ। त्यसकारण हामीले उपयुक्त स्थान छनोट गरेका छौं। उद्घाटन प्रहरी कार्यालयसँगै गेष्टहाउस चौरमा गर्ने तयारी छ। आवश्यक पर्यो भने भित्री ठाउँमा पनि प्रबन्ध गर्न सकिनेछ,’ उनले भने।
गेष्टहाउस चौरमा २५ देखि ३० हजार मानिस अट्न सक्ने अनुमान छ। रास्वपाले यसपटक महाधिवेशनकै लागि भनेर गाडी भाडामा लिएर सहभागी ल्याउने तयारी गरेको छैन। समर्थक, शुभेच्छु स्वःस्फुर्त आउनेछन्।
त्यस्तै महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि खाना, खाजाको प्रबन्ध गरिएको वासका लागि होटलहरूसँग सहजीकरण भइरहेको छ। होटलवालाहरूले दरभाउ उपलब्ध गराएका छन्। त्यसका आधारमा रोष्टर तयार पारेर प्रतिनिधि, सहभागीहरूलाई दिइने र होटल खर्च भने प्रतिनिधि स्वयम्ले नै व्यहोनुपर्ने गरी प्रबन्ध गरिएको केन्द्रीय सदस्य गौतमले बताए।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते हुँदैछ। उद्घाटन ७ गते हुनेछ।
महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। पर्यवेक्षक र स्वयमसेवकसमेत गरेर चार हजार पुग्ने अनुमान छ।