नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक गरेर सात बुँदे प्रस्तावप्रति साझा धारणा बनाउन सुझाव दिएका छन्।
संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार झापाको धुलाबारीमा भएको भेटमा उपसभापति शर्माले उनलाई यस्तो सुझाव दिएका हुन्।
‘हामीले पूर्णबहादुर खड्का दाइसँग कुरा गर्यौं, शेखर कोइराला दाइसित कुरा गर्यौं, कसैबाट तपाईंहरूको साझा धारणा आएन,’ शर्माले सिटौलालाई भनेका थिए, ‘तपाईंहरू सँगै बसेर चिया गफ नगरेको पनि एक महिना जति भइसकेछ। दाइहरू बसेर छिटो साझा धारणा बनाउन पर्यो। अनि कसले तपाईंहरूको प्रतिनिधित्व गर्ने हो त्यो पनि निश्चित गर्नुपर्यो।’
शर्मा र सिटौला भेटबारे जानकारी दिँदै झापाका एक कांग्रेस नेताले दिएको जानकारी अनुसार जबाफमा सिटौलाले ‘एकपटक बसेर कुरा गरौं’ भनेका थिए।
त्यसक्रममा उपसभापति शर्माले आफूहरूलाई बस्न र कुरा गर्न कुनै समस्या नभएको तर आफ्नो प्रस्तावलाई सार्वजनिक रुपमै नाटक किन भनेको भनेर सोधेका थिए।
‘हाम्रो प्रस्तावलाई त दाइले नाटक भन्नुभएछ। तर हामी बाहिर एउटा भित्र अर्को कुरा छैन, गगन, विश्वप्रकाश जोसँग बस्ने हो, को बस्ने कुरा गर्न भन्ने तपाइँहरुले टुंगो गर्नुपर्यो,’ शर्माले भनेका थिए, ‘यसका लागि तपाईंहरू बसेर सल्लाह गर्नुस्।’
उपसभापति शर्मा काका याम भण्डारीको निधन भएपछि ५ दिनयता धुलाबारीस्थित घरमै छन्।
उनका काका याम पुराना कांग्रेस नेता हुन्।
प्रजातान्त्रिक आन्दोलनमा लामो जेल जीवन व्यतित गरेका उनको ५ दिन अघि निधन भएको थियो।
नेता सिटौला भण्डारी परिवारमा समवेदना प्रकट गर्न धुलाबारी पुगेका थिए। सोही क्रममा केहीबेर पार्टीभित्रको आन्तरिक मतभेदका विषयमा कुराकानी भएको हो।
यो पनि-
यस्तो थियो गगन-विश्वप्रकाशले संस्थापन इतरका समूहलाई पठाएको सात बुँदे प्रस्ताव
कांग्रेसका ‘पाँच भाइ’ लाई विश्वप्रकाशको ७ बुँदे ह्वाट्स एप प्रस्ताव