सन् २०१९ को जुन महिनामा प्रतिलिपि अधिकार कार्यालयमा प्रकाश सपुतविरूद्ध शम्भु राईको मुद्दाले मेरो मनमा एउटा प्रश्न जन्माएको थियो — लोक गीतको स्वामित्व कसको?
लोकको?
लोकबाट टिपेर लोकलाई नै क्रेडिट नदिई आफ्नो नाममा दर्ता गर्ने पहिलो हकदाबीकर्ताको वा त्यसपछिका प्रयोगकर्ताहरूको?
'चोरिएको' भनी आरोप लगाइएको 'गलबन्दी' र 'मौलिक' भनिएको 'आऊ नाचौं साथी हो, सँगै बसेर' को विवादमा भने त्यो भाका सिर्जना गर्ने लोक र भेग ओझेलमै रह्यो।
एउटा अन्तर्वार्तामा शम्भु राईको टिप्पणी थियो, 'हामी सिर्जना गर्ने कि टिपनटापनमा लाग्ने हो?'
यसमा मेरो प्रतिप्रश्न छ — लोकबाट टिपेकोलाई के मान्ने? सिर्जना कि टिपनटापन?
खैर, मेरो उद्देश्य शम्भु राईसँग बहस गर्ने होइन। उनी मलाई मनपर्ने गायक तथा संगीतकार हुन्। उनको संगीतमा पूर्वी नेपालको सुगन्ध छ। उनको सांगीतिक पृष्ठभूमि भनेको उनी हुर्के-बढेको पहाड, कन्दरा, मेलापात र त्यहाँको श्रुति परम्परालाई अघि बढाउँदै मेलापातमा गाउने रैथाने कलाकारहरू होलान्!
ती कलाकार र आजका धेरै कलाकारमा फरक यत्ति हो — ती कलाकार आफ्नो परम्परागत दायित्वका रूपमा गायकी अघि बढाउँथे, अहिले आफूले सुनेका गीतलाई पेवा सम्झेर आफ्नो नाममा दर्ता गराउँछन्।
पहिलेका कलाकारिता निस्वार्थ हुन्थे, अहिले स्वार्थयुक्त!
प्रसंग यो मुद्दाको मात्र होइन। यस्ता थुप्रै विवाद छन् — कुनै मौखिकमा सीमित, कुनै प्रचारबाजीमा र थोरै निष्कर्षमा पुगेका।
लोक गीतको उद्गमको उल्लेख जरूरी छ कि छैन? प्रश्न यो पनि हो। शम्भु राईको जमानासम्म यसलाई खासै महत्त्व दिइँदैनथ्यो होला। आजकल क्रेडिटबिना, स्रोतको उल्लेखबिना, अन्त अभ्यासमा आइसकेका सिर्जनालाई आफ्नो भनी प्रस्तुत गर्दा 'प्लेगरिज्म' को आरोप लाग्छ। प्लेगरिज्मलाई नेपाली भाषाविदरूले शब्द दिएका छन् — बौद्धिक चोरी।
हुन त देशको सबभन्दा पुरानो इतिहास बोकेको विश्वविद्यालयको मुखिया नै 'प्लेगरिज्म' आरोपित व्यक्ति बन्ने देशमा यो ठूलो अपराध नलाग्ला!
कुवाको भ्यागुतालाई संसारै त्यही लागेजस्तो!
तर अन्तर्राष्ट्रिय चलन फरक छ। घरमा बँधुवा कमैयालाई कामदार राख्ने अनि 'बिचरा आफ्नो घरमा बसेर खान पाउँदैनथ्यो, मैले उद्धार गरेँ' भन्ने जमाना गयो। कुवा बाहिर जो आउँदैन, ऊ त्यहीँ पुरिन्छ!
लोक सम्पत्तिमाथि गरिएको आधिकारिक पेटेन्ट दर्ता र अन्तर्राष्ट्रिय अदालतमा यसबारे भएका केही फैसला र नजिर म यहाँ उल्लेख गर्न चाहन्छु।
गीत-संगीतभन्दा नितान्त फरक सन्दर्भ भए पनि यो लोक सम्पत्तिका लागि दिइएको मुद्दा भएकाले सान्दर्भिक ठानेको छु।
सन् १९९७ मा अमेरिकी कम्पनी 'राइसटेक' ले अमेरिकामा पेटेन्ट दर्ता गर्यो। ब्रान्ड थियो — बासमती राइस।
भारत, पाकिस्तान, नेपाल लगायत भारतीय उपमहाद्विपमा पहिलेदेखि उब्जाइने चामलको यो नाम अब हामीले प्रयोग गर्दा पेटेन्ट उल्लंघन भएको ठहरिने भयो।
त्यसविरूद्ध भारतको संसदमा बहस चल्यो।
भारत सरकारले अन्तर्राष्ट्रिय स्तरमा बहस सुरू गर्यो र नतिजा आफ्नो पक्षमा पार्यो।
यसबाट बासमती भन्ने नाम 'जेनेरिक' हो भन्ने स्थापित भयो र कसैले ब्रान्डका रूपमा एकलौटी चलाउन नपाउने भयो। भारतीय अभियन्ता वन्दना शिवाले नेतृत्व गरेको उक्त अभियानले भारत मात्र होइन, पाकिस्तान र बासमती उमार्ने यो भेगकै परम्परागत सम्पत्तिको रक्षा गर्यो।
भारत, पाकिस्तान लगायतका किसानले बासमती चामललाई 'बासमती राइस' भनेरै निर्यात गर्न पाउने भए।
यो त एउटा चामलको जातसँग सम्बन्धित कुरा भयो। अब म एउटा जैविक गुण र त्यससँग जोडिएको परम्परागत प्रयोग र ज्ञानसँग सम्बन्धित 'पेटेन्ट केस' बारे छोटकरीमा उल्लेख गर्छु।
भारतीय महाद्विपमा औषधिजन्य बोटका रूपमा सदियौंदेखि प्रयोग भइरहेको 'नीम' लाई अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीले सन् १९९५ मा पेटेन्ट दर्ता गर्यो। हामीले नीमको औषधिजन्य गुण प्रयोग गर्न समेत उक्त कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था देखियो।
यसको विरोधमा भारतको 'रिसर्च फाउन्डेसन फर साइन्स, टेक्नोलोजी एन्ड इकोलोजी'का निर्देशक तथा अभियन्ता डा. वन्दना शिवाको अगुवाइमा युरोपियन पेटेन्ट अफिसमा मुद्दा दर्ता भयो।
दस वर्षको कानुनी लडाइँपछि फैसला भारतीय महाद्विपको पक्षमा भयो।
सन् २००५ मा मुद्दा आफ्नो पक्षमा आएपछि अभियन्ता शिवाले बिबिसीलाई भनेकी थिइन्, 'निमलाई पेटेन्टको सीमितताभित्र दर्ता नगरिनु भारत मात्र होइन, यस क्षेत्रका करोडौं मानिसको परम्पराले पाएको मान्यता हो। सदियौंदेखि स्वच्छन्द रहँदै आएको यो रूख अब सदाका लागि कैदमुक्त भयो।'
यो जितको अर्थ, नीमको प्रयोग परम्परागत रूपमा भारत, नेपाल लगायतका देशले सदियौंदेखि गर्दै आएकाले यस परम्परागत ज्ञानमाथि कसैको व्यावसायिक पेटेन्ट नलाग्ने र 'नीम' भन्ने शब्द र यसका गुणको अधिकार यस भेगसँग रहने आसय स्थापित भयो।
सन् १९९५ मा अमेरिकी कम्पनी 'डब्लुआर ग्रेस' ले अमेरिकामा दर्ता गरेको यो पेटेन्टविरूद्ध अमेरिकामै लड्न गाह्रो थियो। किनकि, अमेरिकाले जर्नलमा प्रकाशन नगरिएका तर परम्परागत पहिचान बनिसकेका वस्तुलाई मान्यता दिँदैनथ्यो।
भारतमा नीम सम्बन्धी सुरक्षित २००० वर्ष पुरानो लिखित दस्तावेज अमेरिकाको मापदण्ड अनुकूल मानिन्न थियो।
यस अर्थमा बेलायतमा भएको उक्त फैसलालाई 'ऐतिहासिक नजिर' का रूपमा लिइएको थियो।
यी उदाहरणबाट मैले उल्लेख गर्न खोजेको तर्क लोक सम्पत्तिको पक्षमा हो।
लोक भनेपछि यहाँको कला, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सबै कुरा पर्छ — बासमती र नीमजस्तै।
केही वर्षअघि एक कोरियन मदिरा कम्पनीले नेपाली बजारमा एउटा ब्रान्ड फ्याँक्यो — छ्याङ।
नेपालीहरूले धमाधम किने, रमाए।
'ए, यो त हाम्रो शब्द हो, कोरियन मदिरा कम्पनीले कसरी प्रयोग गर्यो?' भनेर चिन्तित हुनुभन्दा त्यसलाई अपनत्व दिँदै स्वीकार गर्ने धेरै भेटिए।
नेपालीहरू उदार छन्, त्यसै कहाँ भनिएको हो र?
संगीतमा लोक सम्पत्तिका रूपमा राग, ताल र लोक भाकालाई लिन सकिन्छ। कसैले राग यमन र झप ताल प्रयोग गरेर गरेको संगीत सिर्जना उसको मौलिक हुन सक्छ। तर ताल मिल्यो, राग मिल्यो भनेर हकदाबी गर्दा कस्तो होला?
त्यसरी राग र तालको संयोजन मिलेर एउटै एउटै सुनिने हिन्दी र नेपाली गीत थुप्रै छन्।
एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु —
नारायण गोपालको 'लौ सुन म भन्छु मेरो रामकहानी...' सुन्नुभएको छ?
त्यसो भए मुकेशको 'आँसु भरी है ये जीवन की राहेँ...' सुन्नुहोस्।
यी दुई गीत उस्तै सुनिन्छन्।
नारायण गोपालले गाएको गीत मुकेशबाट चोरिएको भन्नेहरू पनि होलान्। तर संगीतका विद्यार्थी त्यसो मान्दैनन्। यसलाई राग र ताल प्रयोगमा मिल्न गएको संयोग मान्छन्।
दुवै गीत राग यमन र ५/८ झप तालमा बनेकाले उस्तै सुनिएको हो। यसलाई चोरी मानिँदैन।
त्यस्तै, अम्बर गुरूङ आफ्नो संगीतमा बनेको 'बतासले झारेका' गीतलाई नेवारी लोक भाका 'सिलु' बाट प्रभावित भन्ने गर्थे। यति भनेपछि उनको सिर्जना चोरीको आरोपबाट मुक्त भयो।
तर उनले कहिल्यै सिलुमा आधारित अरू गीतलाई 'आफ्नोबाट चोरियो' भनेनन्। किनकि, उनी जानकार थिए — लोक भाकामा कसैको व्यक्तिगत पेटेन्ट दाबी लाग्दैन भन्नेमा।
यति हुँदाहुँदै उनी आफ्नो सिर्जना 'हे कान्छा मलाई सुनको तारा खसाइदेऊन' लाई भारतका प्रख्यात संगीतकार आरडी बर्मनले चोरेर 'तीसरी मन्जिल' फिल्मको गीत 'दिवाना मुझसा नहीँ इस अम्बरके निचे' बनाए भन्थे।
यसको स्वीकारोक्ति पछि स्वयं बर्मनले गरेका थिए, प्रसार भारतीअन्तर्गत दूरदर्शनमा प्रसारित तबस्सुमसँगको टेलिभिजन अन्तर्वार्तामा।
उक्त अन्तर्वार्तामा उनले यस गीतलाई नेपाली लोक गीतमा आधारित भनेका थिए, जबकि गुरूङ यसलाई आफ्नो रचना भन्थे।
यो गीतबारे गफ गर्दा ठट्यौली पारामा अम्बर गुरूङले भनेको सम्झन्छु, 'आरडी बर्मनले यो गीत अम्बर गुरूङको संगीतबाट प्रभावित भएर बनाएको त भनेनन्, तर गीतको मुखडामै मेरो नाम राखेका छन्, त्यसैले कम्प्लेन छैन।'
यति भनेपछि उनी मज्जाले हाँस्थे — 'मेरो नाम नलिई यो गीत उठान नै हुँदैन... हा हा हा... दिवाना मुझसा नहीँ इस अम्बर के निचे।'
गीत चोरीको आरोप नयाँ मुद्दा होइन। तर यो आरोप प्रायः 'चोरिएको' भनिएको गीतको लोकप्रियतासँगै सतहमा आउने गर्छ। अघि नै भनेजस्तो, मौलिक सिर्जना र लोकमा आधारित सिर्जना मेरो विचारमा भिन्न हुन्।
लोक भाका, गीत, शब्द सबै लोककै हुन्छ, कसैको निजी हुँदैन — हिमाल जस्तै, नदी जस्तै।
यसका शब्द, उच्चारण, लय र भाका नदी र भञ्ज्याङ तरेपिच्छे भिन्न हुँदै जान्छ। फलाना भाका यस्तै हुनुपर्छ भन्नु, पोखराबाट माछापुच्छ्रे हेरेर 'यो कसरी माछापुच्छ्रे भयो, यो त चुच्चो छ' भनी नौडाँडाका बासिन्दाले ढिपी कस्दै बहस गरेजस्तै हुन्छ।
यो विवाद चलि नै रहनेछ, जबसम्म सहअस्तित्वको धारणा सबैको मनमा स्वतःस्फूर्त रूपमा गड्दैन, बस्दैन।
लोक गीत कसैले रेडियोमा गाएर वा दर्ता गराएर उसको स्वामित्वमा आउँदैन — नीम र बासमती अमेरिकी कम्पनीको नभएजस्तै।
जुनसुकै कलाकारले जुनसुकै लोक गीत आफ्नो विधागत पारामा गाउने स्वतन्त्रता राख्छ — विभिन्न चित्रकारले आफ्नो विधाअनुरूप माछापुच्छ्रेको चित्र उतारेजस्तै, सबै माछापुच्छ्रेको चित्रमा टोनी हागेनको फोटोको रूप खोज्नु उचित नभएजस्तै।
भाकासँगै लोक गीतमा स्थानीय लवज झल्किनु यसको मौलिक सुन्दरता हो। लोक नेपाली शब्दमा खस-संस्कृत शुद्धता खोज्नु जायज पनि नहोला। 'माया लाग्छ' लाई गुरूङ टोनमा 'माया लाउँछ' भनी गाउँदा शुद्ध भएन भन्नेहरू ज्ञानी भएर होइन, अल्पज्ञानी भएर त्यसो भनेका होलान् भन्ने म ठान्छु।
झन् आगन्तुक शब्द त 'चाइनिज विस्पर' जस्तै आनका तान भएको हामीले सुनेकै छौं।
'डोलीलाई बुझाउने 'उलिङ काठ' भन्ने शब्द धेरैले ठेट नेपाली शब्द भन्ठान्छन्। डोली–तम्दानीलाई अंग्रेजीमा 'कट' भनिन्छ। विलियम भन्ने बेलायतीले नेपाल आउँदा चढ्ने डोलीलाई उनीहरू 'विलियम्स कट' भन्थे। त्यही 'विलियम्स कट' अपभ्रंश भएर 'उलिङकाठ' हुन पुगेको हो,' नेपाली भाषासेवी कमलमणि दीक्षितले भनेको सम्झन्छु।
यस्ता थुप्रै उदाहरण छन्।
नेपाली गीतहरूमा पनि यस्ता धेरै शब्द भेट्छु — फोटो, रेल, रिबन सबै अंग्रेजी शब्द हुन्, जुन कालान्तरमा नेपाली शब्दझैं बोलिन र गाइन थालियो।
केही वर्षअघि सार्वजनिक नेपथ्यको गीत 'शिरमा रिबन सालको पछ्यौरी' मा प्रयोग भएको 'सालको पछ्यौरी' लाई लिएर केहीले टिप्पणी गरे — 'साल होइन सल हो।'
यसबारे नेपथ्यका अमृत गुरूङ भन्छन् — 'नेपाली लोक गीतहरूमा थुप्रै आगन्तुक शब्दहरूको पहिलेदेखि प्रयोग हुँदै आएको छ। गण्डकी क्षेत्रमा त्यसको श्रेय सबभन्दा धेरै लाहुरेहरूलाई जान्छ। यो गीतमा पनि त्यो प्रभाव आएको छ। अंग्रेजीमा पछ्यौरीलाई 'शल' भनिन्छ, जसलाई अग्रजहरूले 'सालको पछ्यौरी' भन्न थाले।'
'तर सल नै हो रे नि त, धेरै वर्षअघि स्याङ्जाका गायक राजेन्द्र लम्सालले रेडियोमा त्यही भनेर गाए, यो त उसको गीत हो भनेर युट्युबमा प्रतिक्रिया देखिन्छ त?' मैले यसो भन्दै कोट्याउँदा अमृतले अर्थ्याए, 'अंग्रेजीमा पछ्यौरीलाई 'सल' भनिन्छ, 'सालको पछ्यौरी' भन्दा अर्थ लाग्दैन भनेर मलाई पनि थाहा छ। मैले यो गीत बच्चा हुँदा आमाबाट सुनेँ। उनी यो भाका लम्जुङ, सिन्दी गाउँबाट सुनेको भन्थिन्। पछि मैले लम्जुङको पसगाउँमा सुनेँ। मैले गुरूङ चेलीहरूबाट सुन्दा 'सालको पछ्यौरी' नै गाएको सुनेँ। उनीहरूले गरेका उच्चारण गलतै भए पनि त्यो सच्याउनुभन्दा त्यसै छाड्दाको आफ्नै 'ब्युटी' हुन्छ। मैले कास्की, लम्जुङका गुरूङहरूले गाएको सुनेको भाकालाई परिमार्जित गरेर गाएको हुँ।'
यति भन्दै अमृतले अगाडि थपे, 'रेडियोमा लोक गीत बज्न थालेपछि हाम्रा थुप्रै मौलिक भाका रेडियोमा गाउने गायकको गायकी अनुरूप परिवर्तन भएका छन्। मौलिक गीत रेडियोको प्रभावमा मासिएका छन्।
आफ्नो गायकी र सांगीतिक विधाबारे प्रस्ट्याउँदै उनले भने, 'मेरो विधा ठेट लोक गायन होइन। म लोकलाई आधार बनाई आफूलाई सुहाउँदो शैलीमा गीत गाउँछु। लोक गीतको मर्म बुझ्न गाउँ गाउँ चहार्छु। मैले गाएका गीत मेरो भन्दिनँ। त्यही गाउँको लोक संस्कृतिप्रतिको मेरो समर्पण भन्छु। मैले गाएको 'शिरमा रिबन' लम्जुङको पसगाउँमा सुनेको भाकामा आधारित हो। यसको शब्द र मर्म भने त्यहीँ भेटिएकी एक चेलीको जीवनबाट मन छोएर लेखेको हुँ।'
मेरो मनमा भएको तर्क, अमृतको सोचाइ र अहिले केहीमा लोकमा आधारित रचना र मौलिक रचनाबीच भएको दुबिधाबारे थप केही सर्जकको राय बुझ्न मन लाग्यो।
पहिले सम्पर्क गरेँ — अध्ययनले अधिवक्ता, सरकारी सेवामा सचिव भई निवृत्त भएका कवि दिनेश अधिकारीलाई।
उनले भने, 'लोक गीत र लोक रचनामा कुनै व्यक्तिको मौलिक हक लाग्दैन। कसैको मौलिक रचना त लेखक बितेको ५० वर्षमा कानुनी रूपमा लोक सम्पत्ति बन्छ भने लोक गीतलाई कसैले आफूले पत्ता लगाएको, आफूले पहिला रेकर्ड गराएको भनेर हक जताउन पाउँदैन। लोक भाकालाई आधार मानेर कसैले आफ्नो मौलिक शब्द कोरेका छन् र मौलिक सिर्जना गाएका छन् भने अर्कै कुरा हो, नत्र लोक भाकामा कसैको निजी अधिकार लाग्दैन।'
लोक परिवेशसँग हुर्केका सर्जक, पोखराका कवि तीर्थ श्रेष्ठले पनि दिनेश अधिकारीकै भावसँग मिल्दो कुरा भने, 'लोक गीत लोकको सम्पत्ति हो, कसैले पहिले सुन्यो र गायो भन्दैमा उसको हुँदैन। लोक गीतको त भाका मात्र होइन, गेडा नै कयौं गायकले आफ्नो आफ्नो ढंगले टिपेर गाएका उदाहरण प्रशस्तै छन्।'
उनले अगाडि भने, 'फेरि लोक संगीत भनेको कुनै एउटा घर, कुल वा गाउँमा सीमित हुने कुरा नै होइन। यो त पूरै भेगमै प्रचलित हुन्छ। एउटै लोक भाकामा पनि गाउँपिच्छे आफ्नै मौलिक स्वाद मिसिएको हुन्छ।'
लोकमा आधारित संगीत सिर्जना हुनु नौलो अभ्यास होइन। नेपाली संगीतमा हिन्दुस्तानी राग र तालको आगमन हुनुपहिले लोक नै नेपाली पहिचान थियो — चाहे त्यो मेलावादेवीको 'सवारी मेरो रेलैमा' होस् वा मित्रसेनको 'लाहुरेको रेलीमै'।
लोकमा आधारित संगीत सिर्जना अबउप्रान्त पनि भइ नै रहने छन्। तर अब लोकबाट संकलित मात्र नभनी, कुन गाउँ वा भेगबाट संकलित हो वा कुन भेगको लोक धुनमा आधारित हो भनेर खुलाउने परम्परा सुरू हुनु जरूरी छ।
लोक गीतको वास्तविक सर्जक पत्ता लगाउन सकिन्न, त्यसैले उनीहरूप्रतिको सम्मान भनेकै यी लोक संगीत सिर्जित गाउँ, ठाउँको पहिचान गीतसँग जोडेर चिनारी कायम राख्नु हो।
नेपाली डाँडाकाँडा, वनपाखामा अनगिन्ती लोक सर्जक र कलाकार थिए र छन्। सबैले आफ्नो परम्परागत दायित्व र अभिभाराका रूपमा गीत सिर्जना गरे, गायकी अघि बढाए — कुनै स्वार्थबिना। ती सम्पूर्ण ज्ञात-अज्ञात लोक सर्जकप्रति मेरो हार्दिक नमन।
नेपालमा बन्ने कुनै पनि कानुनले लोकको सम्मान गरोस् र लोक गीतमा अध्ययन गरी परिमार्जनसहित प्रस्तुत गर्ने स्रष्टाको पहिचान पनि कायम रहने व्यवस्था गरोस्। अमूर्त सांस्कृतिक सम्पदा भनेको गीत, संगीत, नाच र जात्रामा मात्र सीमित रहँदैन। यसले हाम्रो जीवित परम्परा, परम्परागत ज्ञान र पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएका ज्ञान, सीप, चलन र परम्परा सबै समेट्छ।
अन्तर्राष्ट्रिय रूपमा 'इन्ट्यान्जिबल कल्चरल हेरिटेज' भनी उल्लेख हुने अवधारणाको नेपाली उल्था 'अमूर्त सांस्कृतिक सम्पदा' हुन जान्छ। अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको उद्देश्यले अहिले संसदमा विचाराधीन विधेयकले यो कुरा समेट्ला नै!
***
(किरणकृष्ण श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @KiranKrShrestha