दुई अर्ब लागत अनुमान भएको सडकलाई सरकारले ५ करोड बजेट छुट्ट्याएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसाल रिसाएका छन्।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेटमाथिको छलफलमा भुसालले अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडकलाई बजेट कम दिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
'मैले टोलैपिच्छे योजना मागेको थिइनँ। निर्माणाधीन अर्घाभगवती विमानस्थललाई गौचरण बन्न नदिन अनुरोध गरेको थिएँ,' भुसालले प्रतिनिधि सभाको बैठकमा भने, 'बर्सेनि साँघुरा सडकका कारणका सन्धीखर्क गोरुसिङ्गे सडकमा दुर्घटना हुने गरेका कारण दुई लेनमा स्तरोन्नति गर्न माग गरेको थिएँ। करिब २ अर्ब लागत भएको उक्त सडकका लागि यस वर्षका लागि ५ करोड मात्र विनियोजन गरिएछ। यही गतिले जाने हो भने एउटा सडक सम्पन्न गर्न ४ दशक कुर्नुपर्ने देखियो। यो कसरी स्वीकार हुन सक्छ!'
सांसद भुसालले जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आफूले आग्रह गरेको उल्लेख गरे।
'बजेट अघि प्रधानमन्त्रीसँगको सामूहिक भेटमा सहभागी हुने अवसर प्राप्त भएको थियो। त्यसक्रममा अर्घाखाँचीको महत्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको थियो। सम्बन्धित मन्त्रालय र सचिवालयले आश्वस्त पारेपछि जिल्लाबासीहरूलाई यसपटक योजना पर्छन्, यो यो पर्छन् भनेर विश्वास पनि दिलाएका थियौँ,' भुसालले बैठकमा भने, 'तर बजेट आएपछि धेरै योजना समेटिएनन्। अहिले जिल्लामा जनताले सोधिरहनुभएको छ – तपाईंले भनेका योजना खै, कहाँ गए?'
भुसालले बैठकमा बोलिरहँदा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भने बैठकमा सहभागी थिएनन्।
'सरकारलाई प्रश्न छ - अब हामीले के उत्तर दिने हो,' भुसालले भने, 'जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आग्रह गरेको थिएँ। तर सालझण्ढी ढोरपाटन सडक बाहेक अरू सडकलाई बहिष्करणमा पारियो।'
उनले सरकारलाई दुर्गम जिल्लाप्रतिको संवदेशिलता बढाउन आग्रह गरे।
'बजेट शक्तिकेन्द्रको वरिपरि घुम्यो भनेर आरोप लगाउन म चाहन्नँ,' भुसालले भने, 'तर सरसर्ती राता किताब हेर्दा र पढ्दा शंका गर्न प्रशस्त ठाउँ छन्।'