लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी सरकारका पूर्व सामाजिक विकासमन्त्री रत्न खत्रीले नेपालगंजस्थित सञ्जिवनी अस्पताल अवैध रुपमा संचालन भएको भन्दै तत्काल सञ्चालन प्रक्रिया रोक्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा (एमाले)का नेतासमेत रहेका पूर्वमन्त्री खत्रीले साबिक (नेपालगञ्ज हस्पिटल ट्रेनिङ एण्ड रिसर्च सेन्टर) र हालको सञ्जिवनी अस्पताल अवैध रुपमा सञ्चालन भएको भन्दै तत्काल अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने माग गरेका छन्।
६ दिन पहिले रातिमा सामाजिक सञ्जालमार्फत संजिवनी अस्पताल सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले पूर्वमन्त्री खत्री र नेपाली कांग्रेसबाट निर्वाचित कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यमाथि अस्पताल व्यवस्थापनमा व्यवधान खडा गरेको तथा अस्पताल ध्वस्त पार्न लागि परेको भनेका थिए।
उनले दुई जनालाई अस्पताल बन्द गराएर देखाउन चुनौति पनि दिएका थिए।
सामाजिक सञ्जालमै जबाफ लेख्दै एमाले नेता समेत रहेका खत्रीले सञ्जिवनी अस्पतालले गरिरहेको ठगी र अवैधानिक गतिविधिहरूप्रति आँखा चिम्लेर बस्न नसकिने उल्लेख गरेका छन्।
खत्रीले अवैध क्रियाकलापको विरोध गर्दा जस्तोसुकै चुनौतीको पनि सामना गर्न आफू तयार रहेको चेतावनी पनि दिएका छन्।
उनले सञ्जिवनी अस्पताल पूर्णरूपमा गैरकानुनी रूपमा सञ्चालित रहेको दाबी गर्दै त्यसको पुष्टि गर्ने आशयका साथ केही प्रमाण र तथ्यहरू पनि भन्दै बुँदागत रुपमा उल्लेख गरेका छन्।
जसमा स्वास्थ्य सेवा नियमावली २०७७ ले एक शैयाको अस्पतालका लागि कम्तीमा ५५ वर्ग मिटर जग्गा आवश्यक पर्ने व्यवस्था गरेको तथा १०० शैयाको अस्पताल सञ्चालन गर्न करिब १७ कट्ठा जग्गा आवश्यक पर्ने उल्लेख गरेका छन्।
तर, सञ्जिवनीसँग त्यति जग्गा नै उपलब्ध नरहेको दाबी खत्रीले गरेका छन्। अस्पतालको आफ्नै नामको जग्गा र पूर्वाधार नभए पनि मेडिकल कलेजको भवन तथा जग्गा प्रयोग गरी सञ्चालन भइरहेको उनले बताएका छन्।
अस्पताल सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेपनि त्यो अस्पतालले प्रदेश सरकार वा संघीय सरकारबाट अनुमति समेत नलिएको खत्रीले बताएका छन्।
हाल मेडिकल कलेजकै नाममा सारा आर्थिक कारोबार भइरहेको भए पनि बाहिरी बोर्ड ‘सञ्जिवनी अस्पताल’ को राखिएको दाबी उनले गरेका छन्। दोहोरो नाममा सेवा दिइ दुई प्रकारको बिलिङ गर्दै आएको जिकिर पनि गरेका छन्।
हालसम्म दर्ता नभएको र भौतिक पूर्वाधारको न्यूनताका कारण दर्ता हुने सम्भावना पनि नरहेको अस्पतालको सम्पूर्ण प्रक्रिया तत्काल रोकी कानुनी कारबाही अघि बढाउन एमाले नेता खत्रीले सम्बन्धित निकाय गुहारेका छन्।
संजिवनी अस्पतालको नाममा २०५२ सालमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट १०० शैयाको अस्पताल सञ्चालन अनुमति लिएको छ। पूर्वमन्त्री खत्रीले त्यसपछि स्वीकृतिको म्याद कहिल्यै नवीकरण नगरिएको बताएका छन्। जनस्वास्थ्य ऐन २०७५ को दफा २१, २२, २३ तथा स्वास्थ्य सेवा नियमावली २०७७ अनुसार अस्पतालले नयाँ मापदण्डअनुसार आवश्यक कागजात बुझाई अनुमति नविकरण गर्नुपर्ने कानुनी प्रावधान रहे पनि त्यसो नगरिएको वा नविकरण नगरेका कारण अस्पतालको कानुनी मान्यता स्वतः खारेज भइसकेको दाबी पनि खत्रीले गरेका छन्।
स्वास्थ्य संस्था सञ्चालन निर्देशिका २०७८, लुम्बिनी प्रदेश स्वास्थ्य संस्था ऐन २०७६ र सोसम्बन्धी नियमावली २०७७ ले बनाएको मापदण्डहरू विपरीत गैरकानुनी रूपमा अस्पताल सञ्चालन प्रयास भइरहेको खत्रीको आरोप छ।
खत्री गत निर्वाचनमा बाँके क्षेत्र नम्बर ३(१)मा एमालेका निर्वाचित प्रदेश सांसद हुन्।
स्वार्थ पूरा नभए पछि व्यवधान खडा गर्न खोज्दैछन् – अध्यक्ष अर्याल
संजिवनी अस्पताल सञ्चालक समितिका अध्यक्ष खुमाप्रसाद अर्यालले भने एमालेका नेता तथा पूर्व मन्त्री रत्न खत्री र कोहलपुरका मेयर पूर्ण आचार्य मिलेर व्यक्तिगत स्वार्थका लागि अस्पतालको ब्यबस्थापनमा हस्तक्षप गर्न खोजेको आरोप लगाएका छन्।
‘अस्पतालको आफ्नै जग्गा हो र भवन पनि आफ्नै हो,’ उनले भने ‘२०५२ सालमा दर्ता भएको अस्पतालको अहिले मैले नेतृत्व मात्रै लिएको हो। सञ्जिवनीको प्रगति देखेर केहीलाई टाउको दुखाइको विषय भएको मात्रै हो।’
अध्यक्ष अर्यालले २०५२ सालमै दर्ता भइसकेको अस्पताल नवीकरणको प्रक्रियामा रहेको प्रतिक्रिया दिए। अस्पतालमा आफूले १५ बर्षपछि नेतृत्व लिएपछि केहीलाई त्यो असह्य भएको बताए।
अध्यक्ष अर्यालले उनीहरुले अस्पताल व्यवस्थापन समितिमा आफ्नो स्वार्थ अनुकूलका कर्मचारी घुसाउन खोजेको र त्यसो हुन नपाएपछि अस्पतालविरुद्ध खनिएको बताए।
अस्पताल सञ्चालक समितिका अध्यक्ष अर्याल नेपाली कांग्रेस निकट मानिन्छन्। उनले व्यक्तिगत रूपमा पूर्वमन्त्री खत्रीलाई आफूले नचिनेको पनि बताए।
यसबारे हामीले पूर्वमन्त्री खतिवडासँग पनि कुरा गरेका थियौं।
पूर्वमन्त्री खत्रीले आफूले सामाजिक सञ्जालमा लेखेको कुरा नै आधिकारिक धारणा भएको हुँदा त्यसैलाई हेर्न आग्रह गर्दै अरू कुरा गर्न मानेनन्।
गत वर्ष मात्रै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर सञ्चालक समितिका अध्यक्ष डा. सुरेश कनौडियाले सञ्जिवनी अस्पताललाई शेयर बेचेका थिए। स्रोतका अनुसार अब कनौडियाको शेयर सञ्जिवनीमा जम्मा ६ प्रतिशत मात्रै छ।
नेपालगन्ज मेडिकल कलेजको शेयर सञ्जिवनीलाई बेचेपछि डा. कनौडियाले नेपागञ्जका पुराना कर्मचारीलाई कोहलपुर स्थान्तरण गरेका थिए।