पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताबाट झस्किएका प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निरन्तर छलफलमा छन्।
अध्यक्ष ओलीले पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्।
शनिबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। गत मंगलबार सकिएको केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतामा रोक लगाउने निर्णय गरेको थियो।
त्यसपछि पनि भण्डारी रोकिएकी छैनन्। उनले शुक्रबार पत्रकार सम्मेलन गरेर मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर ४५ वर्षअघि मदन भण्डारीले दिएको पार्टी सदस्यता खोस्न नसक्ने कडा अभिव्यक्ति दिएकी थिइन्। पार्टीले गरेको यस्तो निर्णय संविधानप्रदत्त मौलिक हकको खिलाफ रहेको बताउँदै नागरिक भइसकेको व्यक्तिको पार्टी सदस्यता खोस्न नमिल्नेसमेत जिकिर गरिन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी नरोकिने देखेका ओलीले केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण गर्न र तलतल ध्रुवीकरण हुन नदिन रणनीतिक हिसाबले लागेका हुन्।
शनिबार साँझ बालुवाटार पुगेका कर्णालीका केन्द्रीय सदस्यहरूलाई ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफूसँग सल्लाह नै नगरी एक्कासि पार्टीमा सक्रिय हुने घोषणा गरेको बताएका थिए।
‘उहाँलाई पार्टीले निर्णय गरेर राष्ट्रपतिमा पठाएको हो। त्यहाँबाट फर्किएपछि उहाँले पार्टीमा फर्कनेबारे कुनै सरसल्लाह गर्नुभएन। पार्टी कार्यालय पनि आउनु भएन। एकैचोटी पार्टीमा फर्कने घोषणा पो गर्नुभयो!,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
ती केन्द्रीय सदस्यका अनुसार भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कन मात्रै नखोजेको र त्यसभन्दा माथि पनि उद्देश्य रहेको बताएका थिए।
‘उहाँले एकैपटक सक्रिय राजनीतिमा फर्किएको घोषणा मात्रै गर्नुभएन। सदस्यता नवीकरण गर्ने, पार्टीको महाधिवेशनमा प्रतिनिधि बन्ने र अध्यक्ष उठ्ने तयारीका साथ आउनुभयो, जुन पार्टी विधानको धारा ८ (३) प्रतिकूल हो,’ ओलीले भनेका थिए।
उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनेकुरा अनुचित भएको बताएका थिए। फर्कने नै हो भने पनि विधानको धारा ८ अनुसार सदस्यता त्याग गरेकाले नयाँ सदस्यता लिनुपर्ने तर्क गरेका थिए। अध्यक्ष ओलीले पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकमा पनि यही तर्क गरेका थिए।
केन्द्रीय सदस्यसँगको भेटमा ओलीले आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना नगर्ने पनि बताए।
‘मैले कहिल्यै उहाँको आलोचना गरेको छैन। गर्न पनि मन छैन। राष्ट्रपति हुँदा राम्रै कार्यसम्पादन गर्नुभएको हो। पार्टीमा फर्कन मिल्दैन भन्ने पार्टीको कुरा हो,’ उनले भने।
छलफलमा सहभागी अर्का केन्द्रीय सदस्यले अध्यक्ष ओलीले भण्डारीले पत्रकार सम्मेलनमार्फत् ‘हुलहुज्जत गरेर मेरो सदस्यता खोस्ने काम भयो’ भनेका प्रति आपत्ति जनाएका थिए।
‘केन्द्रीय कमिटी बैठक चलिरहँदा पनि उहाँले समानान्तर ढंगले पत्रकार सम्मेलन गर्नुभयो। हिजो पनि उहाँले हुलहुज्जत गरेर मेरो सदस्यता खोसियो भन्नुभएछ। कहाँ हुलहुज्जत गरियो त?,’ ओलीको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटीले गरेको निर्णय हो। उहाँले पार्टीको सदस्यता त्याग गरेको हो। त्यागेको सदस्यता नवीकरण हुँदैन। कि नयाँ लिनुपर्छ, कि राजनीतिक निर्णय हुनुपर्छ। नवीकरण गर्न नमिल्ने राजनीतिक निर्णय केन्द्रीय कमिटीले लिएको हो।’
बरू पूर्वराष्ट्रपति आफै पत्रकार सम्मेलन गर्ने जस्ता गतिविधि गरेर हुलहुज्जतको शैलीमा प्रस्तुत भएको ओलीले बताएका थिए।
अध्यक्ष ओलीले पार्टी निर्माणको इतिहासमा ठुल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले कुनै असर नपार्ने बताएका थिए।
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरूको संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं,’ ओलीले भनेका थिए, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर प्रस्तुन हुनुहोस्।’
पार्टीभित्र अस्थिरताको हावा चलाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा पूर्वराष्ट्रपति भण्डारी लाग्नु एमालेका लागि दुखद् कुरा भएको बताएका थिए।
‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी पूर्वराष्ट्रपतिले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं,’ ओलीले भने, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ।’
अध्यक्ष ओली केन्द्रीय सदस्यसँग निरन्तर छलफलमा छन्। शनिबार साँझ नै ओलीले सुदूरपश्चिम प्रदेशका जिल्ला इन्चार्जहरू पनि छलफल गर्दै पार्टी निर्णय तल पुर्याउँदै त्यसका पक्षमा एकताबद्ध बनाउन निर्देशन दिएका थिए।