कतै यस्तो नहोस्
भूमध्यरेखाबाट हेर्छु
देख्दिनँ मेरो देशको मानचित्र
अन्टार्टिकाबाट हेर्छु
अँध्यारोले देख्दिनँ मेरो देश
अक्षांशलाई सोध्छु- बोल्दैन मेरो देश
देशान्तरलाई सोध्छु- सुन्दैन मेरो कुरा
हिजो
सीमा मिचियो भन्दा
देखिन्थ्यो मेरो देश
चुच्चे नक्सा मन मनमा बस्दा
देखिन्थ्यो मेरो देश
आज विदेशीको गिद्धे दृष्टि लागेर
देशको स्वरूप बदलिन् लाग्यो भन्छन्?
खै त मेरो देश?
कतै यस्तो नहोस्!
सगरमाथालाई सोध्या चोमोलुंग्मासँग मिसियो भने
बुद्धलाई सोध्या गयासँग मिसियो भने
पशुपतिनाथलाई सोध्या अयोध्यासँग मिसियो भने
कोशीलाई सोध्या दामोदर भई सँगै बग्यो भने
सुस्तालाई सोध्या गण्डक भई बग्यो भने
महाकालीलाई सोध्या शारदा भई बग्यो भने
धर्म संस्कृतिमाथि आक्रमण हुँदैछ
प्रकृतिमाथि दोहन गर्दा चुप बस्ने हो भने
अनि एक दिन भन्नु पर्ला
खै त मेरो देश?
एउटाले भन्छ
हिमाल- मेरो भोटसँग मितेरी छ
अर्कोले भन्थ्यो
तराई- मेरो बिहारसँगको नाता छ
विदेशी गोलचक्कर फण्डामा
सह-अस्तित्व र सहिष्णुता बिर्सेका
अस्थिर र स्खलित नेपाली मन
धुजा-धुजा भई फाटेको छ
भाइ-भाइ लड्दा दुखेन छाती
हुन लाग्यो युद्धको क्रीडास्थल
वीर पुर्खालाई स्मरण गर
नेपाल नेपालीले नै बनाउने हो
नेपाल नेपालीकै हातमा छ
नत्र देशविहीन अनागरिक हुनेछौ
खोज्नु पर्ला मानचित्रमा ने..पा…ल….
पुर्पुरोमा हार राखेर अनि भन्ने छौ?
खै त मेरो देश?
हिजो बैरीसँग लड्ने नेपालीको हातमा
न त घुयेँत्रो र गुलेली देख्छु
न त खुँडा तरबार देख्छु
न त गोर्खे खुकुरी देख्छु
न त दोचा बक्खु देख्छु
न त कछाड भोटो देख्छु
न त हाकुपटासी देख्छु
न त दौरा सुरुवाल देख्छु
न त गम्छा धोती देख्छु
न त चन्द्र सूर्य झन्डा देख्छु
कालो धुवाँ अन्धकार मात्र देख्छु
कतै देश त हराएको हैन?
हैन भने
खै त मेरो देश?
सुस्ता हराउँदा पौने तीन कोटी बोले
लिपुलेक, लिम्पियाधुरा हाम्रो भन्दा
तीन-तीन कोटीले नेपालीले बोले
स्वरमा स्वर मिलाई हाम्रो भने
गर्विलो थियो मेरो छाती
आज
देशै हराउन लाग्यो
सीमा मिच्ने मात्र हैन
देशको अस्तित्व मेटिन लाग्यो
अब जाग हो जाग नेपाली
राष्ट्रियताको लागि
चन्द्र-सूर्य अंकित झन्डा बोकेर
स्वाभिमान नेपाली भई
नत्र
खै त मेरो देश भन्न नपरोस्
खै त मेरो देश?