अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काट्न थालिएको छ।
ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक पठाएका छन्।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्। ट्रम्पले आफूलाई सत्ताबाट हटाउन शक्ति प्रयोग गर्न लागेको भन्ने डर मदुरोलाई परेको छ।
ट्रम्प सरकारले भने भेनेजुएलाका लागुऔषध तस्करहरूसँग लड्न अमेरिकी फौज पठाएको बताएको छ। ट्रम्प सचिवालयका उपप्रमुख स्टिफन मिलरले अमेरिकी गोलार्द्धमा रहेका लागुऔषध तस्करी गर्ने संगठन, आपराधिक गिरोहहरू लगायत विदेशी आतंकवादी संगठनलाई परास्त गर्न नौसेना खटाइएको बताएका छन्।
अमेरिकी सैन्य उपस्थितिले लागुऔषधको व्यापार कसरी रोक्न सक्छ भन्ने चाहिँ स्पष्ट छैन।
समाचार संस्था रोयटर्सका अनुसार भेनेजुएला र क्यारेबियन क्षेत्रबाट अमेरिका पुग्ने प्रायः लागुऔषध गोप्य उडानमार्फत जान्छन्।अरू देशबाट समुद्री बाटो भई आउने लागुऔषध पनि अधिकांश प्रशान्त महासागर हुँदै आउँछ। ट्रम्पले भने एट्लान्टिक महासागरमा रहेको क्यारेबियन क्षेत्रमा नौसेना पठाएका छन्।
अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने जिकिर रक्षाविज्ञहरूले गरेका छन्। त्यसैले यसरी सेना पठाउनुको खास उद्देश्य मदुरोलाई सत्ताबाट हटाउने हुन सक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
गत महिना अमेरिकाले मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले पुरस्कार बढाएको घोषणा गरेका थिए। अमेरिकामा लागुऔषध तस्करी गर्न मदुरोले सहयोग गरेको आरोप उनीहरूले लगाएका थिए।
'मदुरो एक दशकभन्दा बढी समयदेखि अमेरिकामा लागुऔषध तस्करीका लागि जिम्मेवार कार्टेल डे लोस सोलेसका नेता हुन्,' रूबियोले विज्ञप्ति निकाल्दै भनेका थिए।
बन्डीले पनि भिडिओ सन्देशमा उक्त कार्टेलसँगै सिनलोआ र ट्रेन डे अरागुवा जस्ता विदेशी आतंकवादी संगठनहरूको प्रयोग गरी मदुरोले अमेरिकामा घातक लागुऔषध र हिंसा भित्र्याएको आरोप लगाएकी थिइन्। अमेरिकी सरकारले मदुरोसँग सम्बन्धित धेरै टन कोकिन जफत गरेको पनि उनले दाबी गरेकी थिइन्।
दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरीयता नौ वटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्।
तीमध्ये एउटा मदुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ। ट्रम्पले भेनेजुएलाका लागुऔषध तस्कर समूहमाथि सैनिक बल प्रयोग गर्न गोप्य रूपमा रक्षा मन्त्रालयलाई निर्देशन दिएको पनि जर्नलमा उल्लेख छ।
अमेरिकी विदेशमन्त्री रूबियोले केही महिनाअघि भेनेजुएलाको छिमेकी गायनाको समुद्री क्षेत्रबाट टाढा रहन मदुरोलाई चेतावनी दिएका थिए। गायनाको समुद्री क्षेत्रमा ठूलो मात्रामा तेल खानी रहेको पत्ता लागेपछि सानो र कमजोर गायनाको दुई तिहाइ भूभाग ओगटेको एस्सेक्विबो क्षेत्रमा कब्जा गर्ने धम्की भेनेजुएलाले दिइरहेको छ।
यस्तो परिस्थितिमा मदुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्छन्। सेना र युद्धपोत देखेर मदुरो डरले देश छाडेर भागून् भन्ने मनसाय उनको हुन सक्छ।
वाल स्ट्रिट जर्नलका अनुसार भेनेजुएलाका केही सैन्य जनरलहरूले मदुरोको साथ छोड्न सक्ने देखिएको विपक्षीहरूले दाबी गरेका छन्। त्यो दाबी सही हो भने नजिकै अमेरिकी सेना तैनाथ भएपछि मदुरोले अझ दबाब महसुस गरेर सत्ता छोड्न सक्ने अमेरिकाको आकलन हुन सक्छ।
तर अमेरिकाले नौसेना परिचालन गरेपछि मदुरोले पनि आफ्ना सेनालाई सतर्क र तयार रहन निर्देशन दिएका छन्। उनले ‘साम्राज्यवादी’ सँग लड्न जनतालाई मिलिसियामा भर्ती हुन आह्वान पनि गरेको द वासिङटन पोस्टले जनाएको छ।
मदुरोले सन् २०२४ मा भएको चुनावमा धाँधली गरेर गत जनवरीदेखि नयाँ कार्यकाल सुरू गरेका थिए। त्यसपछि तत्कालीन जो बाइडेन सरकारले मदुरोलाई पक्रिन सहयोग गर्नेलाई दिने पुरस्कार एक करोड ५० लाख डलरबाट बढाएर दुई करोड ५० लाख डलर पुर्याएका थिए।
ट्रम्पले भने आफ्नो दोस्रो कार्यकालको सुरूमा भेनेजुएलामाथि तुलनात्मक रूपमा नरम नीति लिएका थिए। उनले अमेरिकी कम्पनी शेभरोनलाई भेनेजुएलामा तेल उत्खननको लाइसेन्स दिएका थिए। अब भने उनी भेनेजुएलाप्रति आक्रामक देखिन्छन्। त्यसै अनुसार पहिले मदुरोलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर गरेर पाँच करोड डलर बनाए। अनि अहिले सत्ता छोड्न दबाब दिन सेना पठाए।
मदुरोले सत्ता छाडेनन् भने अमेरिकाले के गर्छ भन्ने चाहिँ अहिले टुंगो छैन। कतिले भने लागुऔषध तस्कर समूहमाथि कारबाहीका नाममा अमेरिकाले भेनेजुएलामै हमला गर्न सक्ने भनेका छन्।
मदुरोले तानाशाही शासन चलाए पनि एक स्वतन्त्र देशमा सेना पठाएर सत्ता पल्टाउन अमेरिकालाई मुस्किल हुनेछ। तर अमेरिकाले विगतमा त्यस्तो कदम चालेको छ।
सन् १९८९ मा, राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो। अहिले मदुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो।
त्यस्तै कतिपयले ट्रम्पको यो कदमलाई तत्कालीन जोन एफ केनेडी सरकारले क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन गरेको हमलासँग तुलना गरेका छन्।
सन् १९६१ मा सिआइए (अमेरिकी गुप्तचर संस्था) ले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ पिग्समा आक्रमण गरेको थियो। केनेडीले अमेरिकाको संलग्नता नदेखियोस् भनेकाले त्यहाँ सिआइएले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर सो आक्रमण विफल भयो, क्यास्ट्रो झन् धेरै शक्तिशाली भए र त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे।
त्यसैले मदुरोलाई सत्ताच्युत गर्न सैनिक कारबाही नै गर्ने हो भने, क्युबामा त्यति बेला गरेजस्तो अधकल्चो कारबाही गर्न नहुने कतिपय विश्लेषकहरूले बताएका छन्। मदुरोलाई हटाउने गरी नै हमला गर्नुपर्ने उनीहरूको भनाइ छ।
भेनेजुएला विश्वमै सबभन्दा धेरै तेल भएको देश हो। उत्तर एट्लान्टिक महासागर छेउमा ब्राजिल र कोलम्बियासँग जोडिएको भेनेजुएलाले निर्यात गर्ने सामानमध्ये ९८ प्रतिशत हिस्सा तेलको छ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा तेलको योगदान ५० प्रतिशत छ।
तर त्यहाँका जनता पछिल्लो एक दशकदेखि चरम आर्थिक संकटसँग जुझिरहेका छन्। त्यो संकट भेनेजुएला सरकारले लिएको नीतिले नै निम्त्याएको हो।
तत्कालीन राष्ट्रपति ह्युगो चाभेजले नागरिकलाई चाहिने कुरा राज्य कोषबाट सित्तैमा बाँड्ने समाजवादी भेनेजुएलाको परिकल्पना गरेका थिए।
सन् १९९२ मा सैनिक 'कू' असफल भएपछि चाभेजले आत्मसमर्पण गरेका थिए। पछि सन् १९९८ मा उनी राष्ट्रपति निर्वाचित भए र नयाँ संविधान लागू गरे। त्योसँगै उनले भेनेजुएलालाई समाजवादी राज्यको रूपमा रूपान्तरण गर्दै लगे। संयोगवश्, त्यही बेला कच्चा तेलको मूल्य बढ्न थाल्यो। यसले राज्यको आम्दानी बढ्यो र चाभेजको मनोबल उच्च भयो।
उनले सन् २००७ मा दुई अमेरिकी तेल कम्पनीसहित धेरै तेलखानी राष्ट्रियकरण गरे। बैंक अफ भेनेजुएला, तेल वितरक कम्पनी र पेट्रोल पम्प पनि सरकारले नै लियो। तेल बेचेर समृद्ध भएको भेनेजुएलाले नजिकैको कम्युनिस्ट देश क्युबालाई सस्तोमा तेल दिन थाल्यो। बदलामा क्युबाले भेनेजुएलाको स्वास्थ्य सेवामा सघायो। क्युबाको स्वास्थ्य सेवालाई संसारकै उत्कृष्टमध्ये मानिन्छ।
तर देशभित्र र बाहिर धेरै खर्च गर्न थालेपछि चाभेज शासनकालको उत्तरार्द्धमा अर्थतन्त्रमा समस्या देखिन थाले।
सन् २०१२ मा तेस्रो पटक राष्ट्रपति चुनिएका चाभेजले मृत्युअघि मदुरोलाई आफ्नो उत्तराधिकारी छाने।
सन् २०१३ मा मदुरो राष्ट्रपति बने। अर्को वर्षदेखि तेलको भाउ स्वाट्टै घट्न थाल्यो। सन् २०१२ मा प्रतिब्यारेल ११० अमेरिकी डलर पुगेको तेलको भाउ सन् २०१६ मा आइपुग्दा ४० डलरमा झर्यो।
मदुरोले भने तेलको भाउ घटे पनि समाजवादी राज्य बनाउन गरिएको खर्चलाई निरन्तरता दिइरहे। उनलाई शासन टिकाउन सैनिक समर्थन चाहिन्थ्यो। नागरिकलाई बाँड्ने सामानको जिम्मा पाएको सेनाको भ्रष्टाचारमा मदुरोले आँखा चिम्लिए। कुशासन र भ्रष्टाचारले देशको अर्थतन्त्र थिलथिलो हुँदा पनि क्युबालाई सस्तोमा तेल दिन छाडेनन्। किनकी, देशविदेशमा व्यापक असन्तुष्टि र विरोध भइरहँदा मदुरोका लागि त्यो क्षेत्रमै क्युबा मात्र समर्थक थियो।
अहिले पनि आफूविरूद्ध कू हुन सक्ने डरका कारण मदुरोले आफ्ना सुरक्षाका लागि क्युबाका खुफिया र सैन्य अधिकारी प्रयोग गर्छन् भनेर अमेरिकाले दाबी गर्छ।
ट्रम्पले साँच्चै मदुरोलाई सत्ताच्युत गर्न खोजेका हुन् भने आफूलाई धोका दिन सक्ने सैनिक अधिकारी पहिचान गर्न क्युबाली सुरक्षा अधिकारीको सहयोग महत्त्वपूर्ण हुनेछ।
क्युबाली सुरक्षा संयन्त्रले साढे ६ दशकअघि अमेरिकी हमलाबाट क्यास्ट्रोको सत्ता जोगाएको थियो। यस पटक मदुरोलाई जोगाउन सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)