भदौ २४ गते आफ्नो घर जलिरहँदा रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान श्रीमती खुस्नाज बेगमको उपचारका लागि भारतको लखनउमा थिए। ५५ वर्षीया बेगम एक वर्षयता विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्।
केही महिनादेखि उनको स्वास्थ्य झनै गम्भीर बन्दै गएपछि खानले भदौ ११ गते लखनउ लगेका थिए।
यसबीच घरमा श्रीमती गम्भीर बिरामी भए पनि उनले जनप्रतिनिधिको आफ्नो भूमिकामा कुनै कमी आउन दिएका थिएनन्। नगरपालिका मार्फत हुने विकास निर्माणका काम होस् वा प्रदेश र संघीय सरकार मार्फत भएका योजनाको निर्माण र सञ्चालन होस्, खानको सक्रियता सधैं अगाडि देखिन्थ्यो।
उनी भदौ १० गते मात्र काठमाडौं पुगेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर फर्किएका थिए। भोलिपल्ट श्रीमतीलाई लखनउ लगेर अस्पताल भर्ना गरेपछि उनी भैरहवा–लखनउ ओहोरदोहोर गरिरहेका थिए।
त्यही क्रममा भदौ २३ गते बिहान लखनउ जाँदा जेन-जी आन्दोलनको प्रभाव सिद्धार्थनगरको बेलहियासम्म फैलिएर आफ्नो घर खरानी होला भन्ने उनले कल्पनासम्म गरेका थिएनन्। तर त्यही भयो।
भारतीय सिमानादेखि डेढ-दुई सय मिटर दुरीमा मुस्लिमहरूको बाक्लो बस्तीको बीचमा छ, खानको घर।
सिमानामै रहे पनि तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध, मधेस आन्दोलन, नाकाबन्दी लगायत हरेक आन्दोलनमा सुरक्षित रहेको उनको घर यसपालिको जेन-जी आन्दोलनमा भने सुरक्षित रहन सकेन। काठमाडौंबाट सुरू जेन-जी आन्दोलनको ज्वालाले उनको घर पनि खरानी बनायो।
भदौ २३ गतेको प्रदर्शनमा सरकारले गरेको अत्यधिक बल प्रयोगबाट २१ जना युवा विद्यार्थीहरूको मृत्यु भएपछि २४ गते बिहानैदेखि देशभर प्रदर्शन सुरू भएको थियो। रूपन्देहीमा पनि बुटवल, भैरहवा लगायतका बजारमा बिहानैदेखि प्रदर्शन भएका थिए।
दिउँसो १ बजेसम्म सडकमा मात्र केन्द्रित प्रदर्शन २ बजेपछि सरकारी कार्यालय, व्यक्तिका निजी घर र व्यापारिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड र लुटपाटमा परिणत भयो। जेन-जीहरूका नाममा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवा लगायत स्थानमा आगजनी र तोडफोडमा ओर्लिएको समूहले अपराह्न ५ बजेपछि खानको घरमा आगजनी गरेको थियो।
इस्तियाक अहमद खान
स्थानीय प्रशासनले खानलाई उनको घरसँगै सिद्धार्थनगरका एक दर्जनभन्दा बढी भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको जानकारी गराएको थियो। एकातर्फ अस्पतालको शैयामा श्रीमती जीवनसँग संघर्ष गरिरहेकी थिइन् भने अर्कातर्फ आफ्नो वर्षौंदेखिको कमाइ र सपनाले बनाएको घर र नगर क्षेत्रका एक दर्जनभन्दा बढी सरकारी तथा निजी भौतिक संरचना खरानी भइरहेका थिए।
२०७० सालमा संविधानसभा सदस्य रहेका इस्तियाक भैरहवाका हरेक परिवर्तनका साक्षी र सारथि बने। भद्र स्वभाव, स्वच्छ छवि र मिजासिलो बोलीका कारण उनले सजिलै अरूको मन जितेका छन्।
उनी जति बोली–व्यवहारमा सहज र सरल छन्, त्यति नै मनकारी पनि छन्। उनले कुनै पनि धर्म, संस्कृति र जातजातिबीच विभेद गरेनन्। हरेक धर्म-संस्कृतिका व्यक्ति र संस्थालाई सक्दो सहयोग गरे।
विभिन्न धार्मिक, शैक्षिक र स्वास्थ्य क्षेत्र मार्फत गरिब तथा असहायहरूलाई सहयोग गर्दै आएका उनलाई धेरैले 'दानवीर' का रूपमा पनि चिन्ने गर्छन्।
'कसैलाई गरिएको सहयोग अरूलाई भन्नुहुन्न भन्छन्, मैले पनि अहिलेसम्म डेढ करोडभन्दा बढी सहयोग गरेँ हुँला। तर यसलाई यति सहयोग गरेँ, उसलाई उति सहयोग गरेँ भनेर कहिल्यै भन्न मन लागेन,' उनले भने।
भैरहवा क्षेत्रमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएका खान सफल व्यवसायीका रूपमा चिनिन्छन्। बिएससीसम्म अध्ययन गरेका उनले रियल स्टेट व्यवसायसँगै कृषि व्यवसाय पनि गरे। नेपाली कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको मेयर निर्वाचित भएपछि भने उनी आफ्नो व्यवसाय चटक्कै छाडेर जनताको सेवामा तल्लीन थिए।
'मैले कति संघ-संस्थाको भवन निर्माण र भूमिहीनहरूका लागि आफ्नो जग्गा दिएको छु। मैले कहिल्यै भोटका लागि मात्र सहयोग गरिनँ। आफ्नो क्षेत्र र जिल्ला बाहिरका लाई पनि सहयोग गरेको थिएँ। त्यो सबैलाई थाहा थियो। तर मेरै घर किन जलाइयो, बुझ्न सकेको छैन,' उनले भने।
भदौ २४ गते घरमा आगजनी भए पनि उनी असोज ६ गते मात्र लखनउबाट भैरहवा फर्किए। केही साथीभाइ र शुभचिन्तकसँगै घरमा गए। बाक्लो बस्तीको बीचमा अग्लो कम्पाउन्ड र डबल गेट सहितको उनको घर वरिपरिका अन्य घरको तुलनामा सुरक्षित मानिन्थ्यो।
उनी जाँदा दुईतले घरको आँगनमा जलाइएका दराज, टेबल, कुर्सीको थुप्रो थियो। भान्छा कोठामा तोडफोड गरिएका भाँडा-बर्तन छरपस्ट थिए।
उनी सरासर आफू सुत्ने कोठामा गए। कोठामा उनका सामानको कुनै नामनिसान थिएन। सुत्ने पलङ, बिस्तरा, दराज सबै खरानी बनेका थिए। एउटा कुनामा डढेर कालो बनेका केही थान रित्ता ह्यांगर झुन्ड्याइएका थिए।
'यहाँ मैले सबै कोट-पाइन्ट झुन्ड्याएको थिएँ, फलामका भएकाले ह्याङ्गर यत्तिकै रहेछन्,' उनले भने।
घर रेखदेख गर्ने दुई जना कामदारबाहेक आगजनी हुँदा परिवारका कोही नहुँदा कुनै पनि सामान जोगाउन नसकिएको उनले बताए।

इस्तियाकका २६ वर्षदेखि ३२ वर्ष बीचका तीन छोराछोरी छन्। उनीहरू सबैको विवाहका लागि सुनचाँदीका गरगहना बनाएर घरमै राखेका थिए। ती सबै लुटिएको उनले बताए।
'हामी त सबै अस्पतालमै थियौं, घरमा रहेको सुनचाँदी, पैसा, कागजात केही पनि जोगिएन,' उनले भने, 'आगजनीबाट घर पूरै ध्वस्त भएको छ। लत्ताकपडा, बिस्तरा, भाँडा वर्तन, रासन, गरगहना, महत्त्वपूर्ण कागजात सबै आगजनी गरिएको छ, लुटपाट गरिएको छ। खण्डहर बनेको घरमा गएर हेर्न सक्ने अवस्था पनि छैन।'
अहिले उनी एक्लै होटलमा बसिरहेका छन्। दुई छोरा र एक छोरी आमासँगै लखनउ अस्पतालमा छन्।
खान पछिल्लो समय नगरपालिका क्षेत्रभित्र पर्ने बेलहिया–बुटवल ६ लेन सडक खण्डको सौन्दर्य बढाउने काम गर्दै थिए। सडकको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको हरियाली क्षेत्रमा फूलका बिरूवा लगाएर आकर्षक बगैंचा सहितको सडक बनाउने नगरपालिकाको योजना थियो।
पहिलो चरणमा बेलहिया नाकादेखि डन्डासम्म सडकलाई बगैंचा सहितको आकर्षक बनाउने र त्यसपछि सिंगो भैरहवालाई फूलैफूलको सहर बनाउने उनको योजना थियो। त्यसका लागि नगरपालिका, लुम्बिनी प्रदेश सरकार, भैरहवा भन्सार कार्यालय र बेलहिया क्षेत्रका व्यापारीबाट समेत गरी ५० लाख रूपैयाँ बजेटको व्यवस्थापन गरिसकेका थिए।
'फूलै फूलको आकर्षक सडक बनेपछि भारतीय पर्यटकहरू साँझ, बिहान र बिदाको दिन घुमफिर गर्न, फोटो खिच्न नेपाल आउँछन् र यताको व्यापार फस्टाउँछ, पर्यटक बढ्छन् भन्ने अपेक्षा थियो,' उनले भने।
श्रीमतीलाई छोराछोरीको जिम्मामा अस्पताल छाडेर त्यसैको छलफल र तयारीका लागि भैरहवा आएका खान असोज १ गते सडक सौन्दर्यका लागि पार्क निर्माणको तयारी गरेर भदौ २३ गते बिहान पुनः लखनउ फर्किएका थिए।
***

