पार्टी सदस्यता अद्यावधिक गर्न–गराउन तत्कालै परिचालित नभए जिम्मेवारी खोस्ने केन्द्रको चेतावनीपछि नेपाली कांग्रेस मोरङका नेताहरू अभियानमा सक्रिय भएका छन्।
सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले गरेको निर्णयअनुसार सदस्यता अद्यावधिक गर्न शेखर कोइराला पक्षका नेताहरू अटेरी गरिरहेका थिए।
शेखरनिकट रहेका मोरङ सभापति डिगबहादुर लिम्बूसहितका नेताहरू केन्द्रको निर्देशनअनुसार खटिए पनि उसभापतिसमेत रहेका विराटनगरका मेयर नागेश कोइरालासहित अद्यावधिक नगर्ने अडानमा थिए।
‘शेखर कोइरालाले अद्यावधिक गर्नु नभनेसम्म हामी नगर्ने निर्णयमा पुगेका छौं,’ जिल्ला उपसभापति नागेश कोइरालाले साताअघि भनेका थिए, ‘हाम्रो नाम्जे भेलाले यही निर्णय गरेको हो।’
धनकुटाको नाम्जेमा मोरङका शेखरनिकट नेताहरू भेला भएर यस्तो निर्णय गरेका थिए। अन्यत्र अद्यावधिकको काम धमाधम भइरहँदा मोरङ अनि त्यसमा पनि शेखरको निर्वाचन क्षेत्र मोरङ ६ मा काम अपेक्षाकृत अघि नबढेपछि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे, सहमहामन्त्री डिला संग्रौलासहितका नेताले यस्तो अटेरी सह्य नहुने बताएका थिए।
लगत्तै आइतबार शेखर निकटहरूको बर्चश्व रहेको जिल्ला पदाधिकारीहरूकै बैठकले जेठ २१ भित्र सदस्यता अद्यावधिक गरिसक्न सबैलाई अपिल गरेको छ।
सदस्यता अद्यावधिक गर्नकै लागि समन्वय, सहजीकरण र अनुगमन गर्न पदाधिकारी नेतृत्वमा समितिसमेत गठन गरेको छ। जिल्ला समितिका एक नेताले दिएको जानकारी अनुसार अब पनि ढिलाइ गर्ने भए केन्द्रले जिम्मेवारी खोस्ने चेतावनी दिएपछि मोरङ कांग्रेस यो कामका लागि तात्तिएको हो।
‘केन्द्रले दिएको निर्देशन मान्दिनँ भन्ने छुट कसैलाई छैन,’ जिल्ला सचिव मोदराज घिमिरेले भने, ‘अद्यावधिक अनिवार्य गर्न गराउन भनेर सबै क्षेत्रीय समिति, पालिका र वडाहरूलाई निर्देशन भइसकेको छ। ती समितिहरुले काम गरे नगरेको अनुमगन गर्न समिति पनि बनेको छ।’
उनका अनुसार अब द्रुत गतिमा सदस्यता अद्यावधिक हुनेछ। अद्यावधिक नगराउनेहरुबारे अनुगमन समितिले मूल्यांकन गरेर विधान अनुसार निर्णय हुने उनले बताए।
२५ हजार क्रियाशील सदस्यता रहेको मोरङमा हालसम्म २५ प्रतिशतले मात्रै अद्यावधिक गराएको र अब यसले गति लिने सचिव घिमिरे बताउँछन्।
मोरङको पदाधिकारी बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई निर्धारित समयभित्र सक्न ६ वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै टोली गठन गर्दै ‘कहिँतैबाट असहयोग भए विधानअनुसार कार्य गरिने’ स्पष्ट निर्णय गरेको छ।
जिल्ला सभापति लिम्बुको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा देखिएको विवाद समाधान गर्न शीर्ष नेतृत्वलाई संवादमार्फत एकढिक्का हुन आग्रह गर्ने, जिल्ला तहमा भने संगठनात्मक काममा कुनै ढिलाइ स्वीकार नगर्ने सन्देश दिएको हो।
जिल्ला समितिले क्षेत्रीय समिति, प्रदेश सभा समिति, पालिका समिति, वडा समिति र क्रियाशील सदस्यहरूलाई समयमै अद्यावधिक प्रक्रिया पूरा गर्न अपिल गरेको छ।
बैठकले ६ वटै निर्वाचन क्षेत्रमा सहजीकरण र अनुगमनका लागि जिम्मेवारीसमेत तोकेको छ।
क्षेत्र नम्बर १ मा ललित अधिकारी,२ मा मोदराज घिमिरे ३ मा ललितबहादुर श्रेष्ठ, ४ मा भक्तिनाथ माझी संयोजक, ५ मा दिलीप पोखरेल र क्षेत्र नम्बर ६ मा भुवनेश्वर मण्डल संयोजक रहेको समिति बनाएर जिल्लाले अनुगमनमा खटाएको हो। केन्द्रीय समितिले कोशीको अनुगमन तथा समन्वयका लागि सहमहामन्त्री डिला संग्रौलालाई जिम्मा दिएको छ।