सर्वोच्च अदालतले प्रधानन्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिस सम्बन्धि एउटा रिट दरपीठविरूद्धको निवेदनलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।*
न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाले पेस गरेको रिट दरपीठविरूद्धको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको प्रवक्ता एवं सहरजिष्टार अर्जुन प्रसाद कोइरालाले जानकारी दिए।
‘संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदन समेत माथि संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा संवैधानिक इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले दरपीठ भने सदर भएको छ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति विरूद्ध परेका ३ वटा रिटलाई प्रशासनले दरपीठ गरेको थियो। दरपीठ विरूद्ध परेको निवेदनलाई प्रधानन्यायाधीश नियुक्ति नहुन्जेलसम्म सर्वोच्च प्रशासनले रोकेको थियो। यसरी प्रशासनले दरपीठ विरूद्धको निवेदन नै दर्ता नगरेपछि त्यतिबेला कामु प्रधानन्यायाधीश रहेकी सपना प्रधान मल्लले मुख्य रजिष्टार विमल पौडेललाई उक्त निवेदन दर्ता गर्न निर्देशन दिएको थिइन्।
तर उक्त निवेदन प्रधानन्यायाधीश नियुक्त भएपछि दर्ता प्रक्रिया अघि बढेर आज सुनुवाइ भएको हो।
*सम्पादन गरिएको- सम्पादक