संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले गाँस, बास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो।
समितिकी सभापति समिक्षा बाँस्कोटाले बालबालिका तथा युवाको पठनपाठन अवरूद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला लगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन्।
उनले रोजगारीमा आबद्ध व्यक्तिहरूलाई कार्यस्थल नजिक पायक पर्ने स्थानमा स्थानान्तरणको व्यवस्था गर्न पनि निर्देशन दिइन्।
वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण प्रक्रियालाई तीव्रता दिन, स्थायी पुनःवास तथा दीर्घकालीन व्यवस्थापनमार्फत संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको प्रत्याभूति सुनिश्चित गर्न समेत सरकारलाई आग्रह गरिन्।
समितिले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक ऐन तथा कानुन निर्माण गर्न र आवश्यक परे विद्यमान कानून संशोधनको प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ। –न्युज एजेन्सी नेपाल