जनमत पार्टीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको बताएको छ।
प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्दै जनमतले यस्तो जानकारी गराएको हो।
२९ असोज दिउँसो ३ः३० बजे सोनललाई आधिकारिक रूपमा मुख्यमन्त्री पदमा समर्थन रहेको पत्र प्राप्त भएको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी पत्रमा उल्लेख छ।
यसैबीच जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।
निर्वाचन आयोग मधेस प्रदेशको कार्यालयमा पुगेर मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले हस्ताक्षर गरेका हुन्।
उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुग्दा दुईतर्फी झडप भएको थियो।
मधेस प्रदेश सभाबाट विश्वासको मत नपाउने स्थिति भएपछि मुख्यमन्त्री सिंहले राजीनामा दिएका थिए।
मधेसमा कांग्रेस र एमालेबाहेक दल मिलेर सरकार बनाउने, लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने
मधेस प्रदेशमा कांग्रेस एमालेलाई बाहिर राखेर नयाँ सरकार गठन गर्ने सहमति भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल (जितेन्द्र सोनार) लाई मुख्यमन्त्री बनाउनेगरि सहमति भएको हो
जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी मिलेर सरकार बनाउन प्रदेश प्रमुखकोमा दाबी पेस गर्ने नेताहरू पुगिसकेका छन् ।
जसपाका नेता मनिष सुमनले कांग्रेस एमाले बाहेकका दल मिलेर सरकार बनाउने सहमति पछि दाबी पेस गर्न लागेको जानकारी दिए।
‘अहिलेलाई पाँच वटा दलबीच सहमति भएको छ, सदस्य संख्या ५६ छ, बाँकी दललाई पनि समेटेर अघि बढ्छौं,’ उनले भने।
उनका अनुसार मन्त्रालयको भागबण्डा गर्न बाँकी छ।
माओवादी केन्द्रका दलका नेता युवराज भट्टराईले पनि सरकार गठनका लागि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको जानकारी दिए।
१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक छ। जसपा नेपालको १९, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ र जनमत पार्टीको १३ गरी ५७ सदस्य छन्। जसमध्ये लोसपाका एकजना सांसद निलम्बित छन्।
यसरी यो समीकरणमा ५६ सिट पुग्छ।
यसअघि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन भनि पेस गरिको दाबीमा एमाले र जनमतको प्रदेश सभा सदस्यलाई जोडिएको थियो। २२ असोजमा यी तीन दलका दलका नेताले ५८ सदस्यको समर्थन आफूसँग रहेको दाबी गरेका थिए। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगर्दै उनीहरूले दाबी पेस गरेका थिए। मधेसमा एमालेको २५ सिट रहेकोमा रामचन्द्र मण्डल सभामुख बनेको र एक सांसद निलम्बनमा रहेकोले २३ मत छ, कांग्रेससँग २२ मत छ। जनमतले साथ नदिएको अवस्थामा बहुमत पुग्दैन। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले २९ असोज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
लोकसभाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुन राइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने सहभागी थिए।
सम्बन्धित समाचार:
कसरी बन्यो मधेसमा कांग्रेस–एमाले बाहेकको गठबन्धन?
मधेस प्रदेशमा नयाँ सरकार: कांग्रेस-एमालेले गर्यो पुरानै पत्रको आधारमा दाबी पेस