भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि नेपाली कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको आवाज उठेको छ।
त्यसका लागि महाधिवेशन गरेर जानुपर्नेमा नेताकार्यकर्ता छन्। तर कहिले महाधिवेशन गर्ने, नियमित गर्ने कि विशेष महाधिवेशन भन्नेजस्ता विषय कांग्रेस केन्द्रीय समितिले टुंगो लगाउन सकेको छैन।
केन्द्रीय समितिमा महाधिवेशन लगायत १० एजेन्डा छ र त्यसमाथि आजदेखि फेरि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू भएको छ।
नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग नेपाली कांग्रेसभित्र तीव्र रूपमा अघि बढेको छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्।
यहीबेला देशभरका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताउँदै कार्यतालिका नै प्रस्ताव गरेका छन्।
महानगर सभापतिहरू किन यस्तो अवस्थामा पुगे, उनीहरू किन तत्कालै महाधिवेशन चाहन्छन् भन्नेबारे सेतोपाटीले उनीहरूसँग कुराकानी गरेको छ।
यसैक्रममा हामीले पर्साको वीरगञ्ज महानगर कार्यसमितिका सभापति मणिन्द्रलाल श्रेष्ठ (नेपाली) सँग कुराकानी गरेका छौं:
अन्तर महानगर कार्यसमिति बैठक नै बसेर नेपाली कांग्रेसको नियमित महाधिवेशन माग गर्नुपर्ने अवस्था किन आयो?
पहिलो, मंसिरमा यो कार्यसमितिको समय सकिन्छ। एउटा प्रजातान्त्रिक पार्टीले समय सकिएपछि महाधिवेशन त गराउनैपर्छ। नियमित सकिएन भने विशेष महाधिवेशनमा जानु नै पर्छ।
दोस्रो, नयाँ परिस्थिति आयो देशमा। नचाहँदा नचाहँदै पनि नयाँ परिस्थिति आएको छ। भ्रष्टाचार निर्मुल र थितिको व्यवस्था कायम गर्न पार्टीभित्र कता कता अहिलेको नेतृत्व चुकेको जस्तो छ। त्यसो हुँदा फ्रेस म्यान्डेड र फ्रेस नेतृत्वमा जानु नै पर्छ। त्यसका लागि नियमित महाधिवेशनमा जानुपर्ने माग राखिएको हो।
तेस्रो, हामीलाई लाग्छ, हामी मात्रै हैन, सामान्य कांग्रेसको कार्यकर्तालाई पनि के लाग्छ भनेदेखि यो कार्यसमितिको नेतृत्वमा हामी चुनावमा जान सक्दैनौं। जनताले स्वीकार्दैनन् भन्ने निष्कर्ष हाम्रो छ। यही तीन वटा कारण हो ।
विशेष महाधिवेशनका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्, नियमित नभए विशेष महाधिवेशन गर्दा हुन्छ भन्ने हो?
हैन हैन हाम्रो पहिलो माग नियमित महाधिवेशन हो, किनभने विशेष महाधिवेशनमा पुरानै महाधिवेशन प्रतिनिधिहरूले भोट खसाउने भएको हुनाले नयाँ फ्रेस म्यान्डेडमा धेरै युवा साथी आउन सक्ने सम्भावना छ। त्यसले गर्दा नियमितमै जानुपर्छ भन्ने हाम्रो पहिलो चाहाना हो तर तपाईंले भनेजस्तै विशेष महाधिवेशन दर्ता भइसकेको छ, अब विशेष महाधिवेशनलाई रोक्ने एउटै बाटो भनेको नियमित महाधिवेशन हो। नियमित महाधिवेशन समयमा नगरेको अवस्थामा ९० दिनभित्र विशेष महाधिवेशन त गर्नु नै पर्छ। किनभने बहुमतले ५४ प्रतिशतले माग गरिसकेको छ, यो त कुनै कारण रोकिन्न। विशेष महाधिवेशन आत्मा मिलेर गर्नुपर्ने महाधिवेशन हैन, विषम परिस्थितिमा गर्नुपर्ने महाधिवेशन हो। अहिले जुन तितोपन र खटास आइरहेको अवस्थामा विशेष महाधिवेशनमा जानु पर्दा पार्टीलाई घाटा लाग्न सक्ने अवस्था छ। त्यो भएर नियमित महाधिवेशनमा जानु राम्रो हुन्छ।
पार्टीभित्रै तितोपना आएको हो कि बाहिरको कुरा हो?
बाहिरको माहोल पनि तितोपन छ। अहिले तुरून्तै केही न केही कदम उठाएनौं भने कांग्रेसलाई पनि पत्याउने अवस्था छैन। हामीमा पनि कमी कमजोरी छन नभएको हैन। कांग्रेसले धेरै कमीकमजोरी गर्यो। नेतृत्वले कमी कमजोरी गरेकै हो। त्यसलाई स्वीकार्नैपर्छ। पार्टीभित्र पनि हेर्नुस् अब प्रजातान्त्रिक पार्टी हो। गुट उपगुट त हुन्छ। त्यो झन् चरम विन्दुमा पुग्न सक्ने अवस्था आउन सक्छ। विशेष महाधिवेशन बाध्यात्मक अवस्था हो, भोलि नियमित महाधिवेशन गर्न मानेनन् भने विशेष महाधिवेशन गर्नु नै पर्छ।
मंसिरमा महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षले समय नपुग्ने भनिरहेको छ, तपाईंहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सकिने कार्यतालिका नै प्रस्ताव गर्नुभयो, यो सम्भव छ?
सबैभन्दा पहिलो कुरा नियत हुनुपर्छ, मैले मेरो पार्टी बचाउने, देश बचाउने, देशलाई सही ल्याण्डिङ गराउन सक्ने नियत हुनुपर्छ। नियत भयो भने हामीले आरामले एक डेढ महिनामा महाधिवेशन गराउन सक्छौं। मंसिरको अन्तिम हप्तामा भएन भने पुसको पहिलो हप्तामा हुन्छ। तर सुरूवात त गर्नुपर्यो। तपाईंलाई म उदाहरण दिन्छु- पहिलो कुरा, के छ भने अहिले हामीले नयाँ क्रियाशील सदस्यता नदिने, त्यो अवस्था छैन। देशमा पनि अवस्था अनुकूल छैन, पार्टीभित्र पनि अवस्था अनुकूल छैन। त्यसले अहिले अल्झाउने काम गर्छ। नयाँ क्रियाशील नदिउँ, जुन छ छ।
दोस्रो कुरा के छ भने, देशभर पार्टी कार्यालय जलाएको हुँदा डकुमेन्ट जलेको अवस्था छ। केही जिल्लामा क्रियाशील सदस्यता नवीकरण भएको छैन, हामीले के गर्नुपर्छ भनेदेखि केन्द्रले नै अटोमेटिक ०७८ को क्रियाशीललाई नवीकरण गर्नुपर्छ। त्यसपछि जो मरेका छन्, या कसैले पार्टी छोडेर गएका छन् भने १० दिनको दाबी विरोधको समय दिने, १० दिनपछि दाबी विरोध आएन भने अन्तिम रिपोर्ट बनाएर पेस गर्ने, फाइनल भनेर जिल्ला जिल्लामा लिष्ट पठाइदिने सकियो। यति गर्नका लागि ६ महिना लाग्छ र?
क्रियाशिल साथीहरू बितेका छन् भने वा पार्टी छोडेर गएका छन् भने सम्बन्धित समितिले नाम पठाउँछन्, छानबिन हुन्छ १० दिनभित्रमा छोडेर गएको रहेछ, मृत्यु भएको रहेछ भने नाम काटेर पठाइदिने हो। त्यसको लागि छ महिना लाग्दैन। १०, १५ दिनमा हुने काम हो। त्यसैगरी बुथको अधिवेशन देशैभरी एकैदिनमा गर्न सकिन्छ, ५/१० दिनपछि क्षेत्रिय अधिवेशन गरायो, जिल्ला, नगर लगायत अरू अधिवेशन त महाधिवेशन पछि पनि गर्न सकिन्छ। जुन जिल्लाले भ्याउँछ अगाडि नै गर्छ, जसले भ्याउँदैन महाधिवेशनपछि गर्छ। नियत हुनुपर्छ आरामले गर्न सकिन्छ।
महाधिवेशन कार्यतालिका ल्याउने केन्द्रीय समितिले हो, महानगर सभापतिहरूले किन प्रस्ताव ल्याउनुभएको?
केन्द्रीय समितिले नै ल्याउने हो, तर आइडिया त दिन सकिन्छ। हामीले आइडिया दिएको हो, यसरी गर्न सकिन्छ भनेर। महाधिवेशन गराउने भनेको ६ वटा महानगरभित्रै हुने हो। अरू ठाउँमा गराउन गाह्रो छ किनभने ६ वटा महानगरमा क्रियाशील सदस्य बढी छ, महाधिवेशन प्रतिनिधि बढी छ। या त विराटनगरमा गर्नुपर्छ, या वीरगञ्जमा गर्नुपर्छ, या चितवन, पोखरा, काठमाडौं, ललितपुर। हामी जिम्मेवारी लिन सक्छौं भनेर देखाएको पनि हो। तपाईंहरू यसो यसो गर्नुस्, हामी जिम्मेवारी लिन्छौं भनेर पार्टीलाई भनेको हो।
तपाईंहरू ६ जना सभापतिको एक मत छ?
एक मत छ, हामी छ जनाको मात्रै हैन, देशका तमाम क्रियाशील साथीहरूको एकमत छ। यो ५४ प्रतिशत पुगेको हो, भोलि विशेष महाधिवेशन भयो भने यो भन्दा बढी हुन्छ। चुनाव नै हुने हो भने यो भन्दा बढ्छ।
चुनावअघि नियमित वा विशेष महाधिवेशन केही पनि भएन र केन्द्रीय समितिले कार्यकाल थप गर्यो भने तपाईंहरूको भूमिका के रहन्छ?
बहुत चाखलाग्दो र डरलाग्दो कुरा तपाईले गर्नुभयो। जतिसुकै जेनजी आन्दोलन भनौं, चाहे माओवादी भनौं, चाहे एमाले भनौं। यदि नेपाली कांग्रेसले ठोस निर्णय गर्न सकेन भने राम्रो अवस्था आउँदैन, यो हाम्रो ठम्याइँ हो, अरूले के भन्छ थाहा भएन। किनभने प्रजातान्त्रिक पार्टी हो। हामीले यदि राम्रो दिशा दिन सकेनौं, नेपालमा समाज र जनतालाई भने राम्रो अवस्था आउँदैन। त्यसले गर्दाखेरि यदि जर्बजस्ती गरियो, पार्टीभित्र अहिले यो आवाजलाई दवाउन खोजियो भनेपछि जस्तोसुकै अवस्था आउन सक्छ, अकल्पनीय, नसोचेको अवस्था आउन सक्छ। त्यो राम्रो हुँदैन। त्यो कुरा हाम्रो नेताहरूले बुझ्छन्।
तपाईंहरूको भूमिका के हुन्छ सोधेको त्यो हो?
परिवर्तनको पक्षमा हामी छौं, अहिले देशले जुन चिज माग गरेको छ, त्यसको पक्षमा हामी छौं। महाधिवेशन नभए पार्टी भित्र भयावह अवस्था आउन सक्छ। अहिले नै त्यो अवस्था आएको छैन, आउँदा पनि आउँदैन। आएको खण्डमा फेरि कुरा गरौंला।
अहिले जेनजीले जुन माग गरेको छ त्यसैको पक्षमा हो तपाईंहरू?
जेनजीभन्दा पनि सुशासन, भ्रष्टाचारमुक्त होस् र देशले एउटा निकास पाओस्। जेनजीले उठाएको कुरा पनि धेरै राम्रो हो तर सरकार जेनजीको मर्मअनुसार अघि बढ्न सकेको देखिरहेको छैन। चुनाव गर्ने कुरा गर्नुहुन्छ, अहिलेसम्म चुनावको कुनै माहोल देखिँदैन। हामीले सुरक्षाको कुनै अनुभूति पाइरहेका छैनौं। त्यतातिर पनि डर छ, ठूलो समस्या छ। हामी चाहान्छौं देशले निकास पाउनका लागि चुनाव आवश्यक छ। कांग्रेसले चुनावमा भाग लिन्छ, सरकार गम्भीर नभएर चिन्ता लागेको छ।
तपाईंहरूको यो सक्रियता जेनजीको आन्दोलन पछि मात्रै किन देखियो?
हामीले बारम्बार यो कुरा बोलेको हो, मिडियाले नै चासो नदिएकोले हाइलाइट नभएको हो। जेनजीको आन्दोलनका कारण मिडियाले चासो दिएको छ, पार्टी भित्रको वेथितिविरूद्ध बारम्बार कुरा उठाएको हो। हाइलाइट मात्रै नभएको हो। बारम्बार कुरा उठाएका हौं। हामीले सारा कुरा उठाउन सक्दैनौं, मर्यादा पनि हुन्छ। हाम्रो तहबाट हामीले उठाउनुपर्ने कुरा उठाएका छौं। ठूलो पार्टी भएकोले अलि अलि कुरा दब्ने काम पनि हुन्छ, भएको छ। मर्यादामा रहेर कुरा उठाएका छौं।
यो पनि:
'केन्द्रीय समितिले म्याद थपे पार्टीभित्र विद्रोह हुन सक्छ'
'नेतृत्वको शैली देखेर साथीहरू वाक्क छन्, नियमित नभए विशेष महाधिवेशन हुनुपर्छ'
'महाधिवेशन नभए कांग्रेसमा नसोचेको विद्रोह हुनेछ'