नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर बहस भइरहेको छ।
महाधिवेशन कहिले गर्ने र नियमित कि विशेष भन्ने विषयमा केन्द्रीय समितिदेखि पार्टीका सबै निकायहरूमा छलफल भइरहेका छन्।
नयाँ महाधिवेशनमार्फत पार्टीलाई रुपान्त्रण गर्नुपर्ने माग कांग्रेसभित्र तीव्र रूपमा अघि बढेको छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर हस्ताक्षर बुझाइसकेका छन्।
यहीबेला देशभरका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताउँदै कार्यतालिका नै प्रस्ताव गरेका छन्।
महानगर सभापतिहरू किन यस्तो अवस्थामा पुगे, उनीहरू किन तत्कालै महाधिवेशन चाहन्छन् भन्नेबारे सेतोपाटीले उनीहरूसँग कुराकानी गरेको छ।
यसैक्रममा हामीले चितवनको भरतपुर महानगर कार्यसमितिका सभापति चित्रसेन अधिकारीसँग कुराकानी गरेका छौं:
अन्तर महानगर कार्यसमिति बैठक नै बसेर कांग्रेसको नियमित महाधिवेशन माग गर्नुपर्ने अवस्था किन आयो?
अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ। युवाहरुले ठूलो आन्दोलन गरे। विद्रोह गरे। उनीहरूको परिवर्तनको चाहना छ। यो अवस्थामा महाधिवेशन गर्दा पार्टीमा युवाहरूको आकर्षण बढ्न सक्छ। महाधिवेशनमार्फत युवाहरु नेतृत्वमा पुग्न सक्छन् भन्ने चाहना हो। यसले आगामी फागुनमा हुने निर्वाचनमा राम्रो परिणाम ल्याउन सघाउँछ।
विशेष महाधिवेशनका लागि पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्, नियमित नभए विशेष महाधिवेशन गर्दा के हुन्छ?
पार्टीको नियमित महाधिवेशन गर्ने समय भइसक्यो नि त। महाधिवेशन गर्न अझै १/२ वर्ष नै लाग्ने भएको भए विशेष महाधिवेशन भने पनि गरौं भन्नु ठीक थियो। तर नियमित महाधिवेशन नै गर्ने समय भइसक्यो। यो अवस्थामा विशेष आवश्यक छैन भनेका हौं। अर्को कुरा नियमित महाधिवेशन गर्दा तल्लो तहबाटै नयाँ युवाहरूले अवसर पाउनुहुन्छ। विशेष गर्दा पदाधिकारी परिवर्तन होलान् नयाँ युवाहरू बञ्चित हुने अवस्था आउनसक्छ। नियमित महाधिवेशनले पार्टीलाई एक ढिक्का पनि बनाउँछ।
मंसिरमा महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षले समय नपुग्ने भनिरहेको छ, तपाईंहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सकिने कार्यतालिका नै प्रस्ताव गर्नुभयो, यो सम्भव छ?
गर्न चाहे सम्भव छ। क्रियाशील सदस्यताको काम धेरैजसो जिल्लामा सकिएको छ। बाँकीलाई केही समय दिए पुग्छ। त्यसपछि निश्चित समय तोकेर वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशनका गर्ने। अनि केन्द्रीय महाधिवेशन गर्ने। हामी समय तालिका नै बनाएर प्रस्ताव गरेका छौं। यसमा नसक्ने भन्ने कुरै हुँदैन।
महाधिवेशन कार्यतालिका ल्याउने केन्द्रीय समितिले हो, महानगर सभापतिहरूले किन प्रस्ताव ल्याउनुभएको?
कार्यतालिका ल्याउने केन्द्रीय समितिले नै हो। आज केन्द्रीय समितिको बैठक बस्दै गर्दा हामीले समितिको ध्यानाकर्षण गराएका हौं। बेलैमा घचघच्यायो भने यसको प्रभाव पनि पर्छ भनेर महानगर कार्यसमितिको बैठक बसेर निर्णय गरिएको हो। यो सबैको चाहना र आह्वानको आधारमा भएको कुरा हो।
चुनावअघि नियमित वा विशेष महाधिवेशन केही पनि भएन र केन्द्रीय समितिले कार्यकाल थप गर्यो भने तपाईंहरूको भूमिका के रहन्छ?
यो त सम्भव नै छैन। यो केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति नतोकी सुखै छैन। विषम परिस्थिमा पार्टी सभापतिले कार्यवहाक तोकिसक्नुभएको छ। पदाधिकारीका आ-आफ्नै धारणा छन्। यो अवस्थामा हामी यथास्थितिमा बस्यौं भने भोलि पार्टीलाई ठूलो असर पर्छ। त्यसैले केन्द्रीय समितिले म्याद थप्ने निर्णय गर्दैन।
म्याद थप्ने जस्ता निर्णय भइहाले के गर्नुहुन्छ त?
त्यो भयो भने पार्टीभित्र विद्रोह चल्नसक्छ। पार्टी एक ढिक्का हुँदैन। यसको गम्भीर असर आगामी चुनावमा पर्छ। बरू मंसिरमा नसके १-२ महिना ढिला गर्दा बिग्रिँदैन। चैतमा गर्दा पनि हुन्छ महाधिवेशन। तर मिति त यो बैठकले तोक्नैपर्छ।
चुनावअघि महाधिवेशन नहुने सम्भावना पनि छ?
होइन। सबैको कुरा मिल्यो भने त त्यो पनि हुन सक्ने भयो नि! मंसिरमा नसक्ने पुस, माघमा गर्दा फागुनको संसदीय निर्वाचनलाई असर गर्ने भयो भने त सबैको सहमतिमा चैतमा गर्दा पनि भयो नि भन्न खोजेको। जसरी पार्टी एक ढिक्का हुन्छ, युवाहरूको माग पनि सम्बोधन हुने, असहज परिस्थिति नआउने गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ।
यो पनि:
'नेतृत्वको शैली देखेर साथीहरू वाक्क छन्, नियमित नभए विशेष महाधिवेशन हुनुपर्छ'
'महाधिवेशन नभए कांग्रेसमा नसोचेको विद्रोह हुनेछ'