चीनका राष्ट्रपति सी चिनफिङले पछिल्लो समयमा जनमुक्ति सेनाका (पिएलए) वरिष्ठ जनरलहरूलाई हटाएका छन्।
सन् २०१२ मा शासन थालेदेखि नै सीले विरोधीलाई भ्रष्टाचार लगायत विभिन्न कारण देखाएर कारबाही गरेका छन्। विरोधीहरूलाई तह लगाएर सी कम्युनिस्ट व्यवस्था भएको चीनमा माओ त्से तुङपछिका सबभन्दा शक्तिशाली शासक बनेका हुन्।
आफ्नो एकछत्र नियन्त्रण कायम गर्ने क्रममा उनले बहालवाला नेताहरूलाई मात्रै होइन, अवकाशप्राप्त वरिष्ठ नेताहरूलाई पनि तह लगाएका छन्।
जियाङ जेमिन राष्ट्रपति भएका बेलामा पनि देङ सियाओपिङ जियाङ भन्दा शक्तिशाली थिए। जियाङपछि राष्ट्रपति भएका हु जिन्ताओका बेलामा पनि जियाङ प्रभावशाली थिए। तर हुपछि शासन सम्हालेका सीको पालामा हु प्रभावहीन भएका छन्।
पछिल्लो समय भने सीले सेनाका शक्तिशाली जनरलहरूलाई निशानामा पारेका छन्। 'चीनका शासकले कुखुरा मारेर बाँदर तर्साउँछन्' भन्ने चिनियाँ उखान छ। यो उखान सानो हैसियतकालाई (कुखुरा) मारेर शक्तिशालीलाई (बाँदर) तर्साउने भनेर लिइन्छ। सीले भने त्यो परम्परा तोड्दै सानातिना सैनिक अधिकारीलाई मात्र नभएर सिधै धेरै शक्तिशाली जनरलहरूलाई कारबाही गरेका छन्।
चीनमा कम्युनिस्ट पार्टीले केन्द्रीय सैन्य आयोग (सिएमसी) मार्फत सेना चलाउँछ। सीको अध्यक्षतामा रहेको सात सदस्यीय सिएमसीमा उनी मात्रै गैरसैनिक व्यक्ति छन्।
उनले भर्खरै सिएमसीका उपाध्यक्ष ही वेइदोङ र सदस्य मियाओ हुआ गरी दुई जनरललाई हटाएका छन्। सी र सिएमसीका प्रथम उपाध्यक्ष झाङ युसियापछि ही सेनामा तेस्रो वरीयतामा थिए। कतिसम्म भने २०२२ मा तेस्रो पाँचवर्षे कार्यकाल सुरू गरेपछि सिएमसीका ६ जना जनरलमध्ये तीन जनालाई सीले कारबाही गरेर हटाएकाले तीन जना मात्रै बाँकी छन्।
बेलायती पत्रिका द इकोनोमिस्टका अनुसार अक्टोबरमा मात्रै सीले ही र मियाओ सहित ९ जना जनरललाई हटाएका छन्। राष्ट्रपति भएयता २२ जना जनरललाई पदमुक्त गरेका छन्। उनीभन्दा अगाडि कम्युनिस्ट पार्टीको सर्वोच्च नेता भएका हु, जियाङ र देङ कसैले पनि कुनै बहालवाला जनरललाई हटाएका थिएनन्। २५ वर्षभन्दा बढी एकलौटि शासन गरेका माओबाहेक अरू कसैले पनि यति धेरै जनरललाई हटाएका थिएनन्।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ही झन्डै चार दशकयता हटाइएका पहिलो सिएमसी उपाध्यक्ष हुन्। यसअघि सन् १९८९ मा तियानमेन स्क्वायर वरिपरि भएको विद्यार्थी आन्दोलन भड्किन दिएको भनेर सिएमसीका प्रथम उपाध्यक्ष झाओ जियाङलाई हटाइएको थियो।
तर झाओ सेनाका जनरल थिएनन्। देङले पार्टी प्रमुखको पद छोडेर झाओलाई महासचिव बनाए पनि सिएमसी आफ्नै मातहत राखेका थिए। झाओ प्रथम उपाध्यक्ष मात्रै थिए। विद्यार्थी आन्दोलन नियन्त्रण गर्न नसकेको भनेर देङले झाओलाई पार्टी महासचिव र सिएमसी दुवैबाट हटाए। त्यसपछि जियाङ जेमिनलाई पार्टी महासचिव बनाए अनि सिएमसीमा आफूमुनि राखे।
यसरी लगभग पाँच दशकमा एक जना पनि बहालवाला जनरल नहटाइएको चीनमा सीले किन यति धेरै जनरल र अरू वरिष्ठ सैनिक अधिकारीलाई हटाइरहेका छन् त? सीले यत्रो धेरै संख्यामा जनरलहरूलाई हटाएपछि यसले सेनामा कस्तो प्रभाव पार्छ? अनि एकपछि अर्को गरेर यति धेरै जनरल हटाउँदा रिसले सेनाले कू पो गर्ने हुन् कि— अहिले यस्ता प्रश्नहरू उठेका छन्।
यी प्रश्नको जबाफ खोज्नुअघि जनमुक्ति सेनाको इतिहास फर्केर हेर्नुपर्छ। चीनमा कम्युनिस्ट शासन ल्याउन क्रान्ति सुरू गर्दा जनमुक्ति सेना बनाइएको थियो। शासन हत्याएपछि त्यसैलाई राष्ट्रिय सेनाको हैसियत दिइयो। तर पनि जनमुक्ति सेना साँचो अर्थमा चीनको सेना नभएर चिनियाँ कम्युनिस्ट पार्टीको सेना हो।
यस अर्थमा, यसको बेग्लै अस्तित्व नै बन्न पाएन र केवल पार्टीकै एक अंगका रूपमा रह्यो।
'पार्टीको निर्देशनमा बन्दुक चल्नुपर्छ' भन्ने सिद्धान्त मान्दै यसले सधैं पार्टी प्रमुखको आज्ञा पालना गर्यो।
यस कारण यसले सैनिक शासन हुने देशका सेनाको त के, नागरिक सर्वोच्चता हुने लोकतान्त्रिक मुलुकका सेनाको हैसियत पनि बनाउन सकेन। सन् १९४९ मा शासन हत्याएपछिका सुरूका वर्षमा त क्रान्तिमा लडेका कारण सैनिक अधिकारी केही हदसम्म शक्तिशाली हुन्थे।
क्रान्तिको समयमा लडेका सैन्य अधिकारीहरू अवकाश र मृत्यु भइसकेकाले अहिलेका जनरलहरूको हैसियत झन् कम छ। पार्टी नेताका तुलनामा उनीहरूको हैसियत दोस्रो दर्जाको जस्तो छ। पार्टीको आज्ञा पालन गर्ने भनेर हुर्किएको सेनाले संस्थागत रूपमा नै आफ्नो हैसियत बलियो बनाउन सकेको छैन।
अब सीले किन सेनाका जनरलहरूलाई यति धेरै कारबाही गरेका हुन् भनेर चर्चा गरौं।
सी माओसँगै कम्युनिस्ट क्रान्तिमा सहभागी भएका र पछि उपप्रधानमन्त्री समेत भएका सी झोङसुनका छोरा हुन्। त्यसैले चीनको सेनाले आफै सत्ताका लागि दाबी नगरे पनि कसैले चुनौती दिए सत्ता टिकाउन सेनाको साथ चाहिन्छ भन्ने सीले राम्ररी बुझेका छन्।
सन् १९७६ सेप्टेम्बरमा माओले आफू मर्ने बेलामा शक्तिशाली जनरल ये जियानयिङको हात समातेर अरूले नसुन्ने गरी केही भनेका थिए। माओले उनले चुनेका उत्तराधिकारी हुआ गुयोफेङको साथ दिनू भनेका थिए भनेर ये जियानयिङले पछि सहकर्मीहरूसँग बताएको फरेन अफेयर्सले लेखेको छ।
माओकी चौथो पत्नी जियाङ किङ र अरू तीन नेतासहितको 'ग्याङ अफ फोर' ले माओको मृत्युलगत्तै हुआलाई चुनौती दिँदा ये जियानयिङले हुआको साथ दिए।
माओले उत्तराधिकारी चयन गर्दा खासै क्षमता नभएका हुआलाई छानेका थिए। क्षमतावानलाई उत्तराधिकारी बनाए आफ्नो मृत्यु नहुँदै उसले हैसियत आर्जन गर्ने सोचेर माओले हुआलाई चुनेको मानिन्छ। हैसियत नभए पनि माओको बचन ये जियानयिङले मानेकाले हुआको शासन जोगियो र 'ग्याङ अफ फोर' पाखा लागे।
तर पछि क्षमतावान देङले ये जियानयिङसहित सेनाको साथ लिएर बिस्तारै हुआलाई पाखा लगाए। देङलाई सर्वोच्च नेता बनाउन बाहेक अहिलेसम्म पनि सेनाले सत्तामा कसैलाई ल्याउन भूमिका खेलेको छैन।
सेनाको महत्त्व बुझेकै कारण देङले पार्टी प्रमुखको पद छोडेर अरूलाई दिए पनि केही वर्षसम्म सिएमसी आफ्नै मातहत राखे।
उनी पछिका सर्वोच्च नेता जियाङ र हु दुवै जना इन्जिनियर भएको र सेनाबारे धेरै जानकार नभएकाले उनीहरूले सेनामा खासै धेरै हस्तक्षेप गरेनन्। अहिले सीको जस्तो जनरलहरूलाई चलाएनन्।
ठूला नेताका छोरा भएकाले सीले भने सेनाको महत्त्व पहिल्यै बुझेका थिए। उनीजस्तै क्रान्तिमा सहभागी भएका ठूला नेताका सन्तानलाई 'राजकुमार–राजकुमारी' भन्ने गरिन्छ। सेनातिर गएका उनकै उमेरका केही त्यस्ता 'राजकुमार' सँग उनले राम्रो सम्बन्ध राखे।
हाल सेनामा सीपछि दोस्रो वरीयतामा रहेका सिएमसीका प्रथम उपाध्यक्ष झाङ युसिया पनि उनीजस्तै 'राजकुमार' मानिन्छन्। सानैदेखिका साथी भएकै कारण ६८ वर्षमा अवकाश हुनुपर्ने झाङलाई अहिले ७५ वर्ष हुँदा पनि पदमा राखेका छन्।
सीलाई सन् २००८ मै उत्तराधिकारी छानेर उपराष्ट्रपति बनाए पनि उनीजस्तै 'राजकुमार' बो जिलाइ पनि प्रतिद्वन्द्वी मानिन्थे। बो जिलाइलाई २०१२ मा भ्रष्टाचारमा कारबाही गरेर गिरफ्तार गरेपछि मात्रै सी पार्टी प्रमुख हुने पक्का भएको थियो। त्यति हुँदा पनि हुले सत्ता हस्तान्तरण गर्ने बेलामा कू गरेर सीलाई रोक्न खोजिएको हल्ला चलेको थियो।
त्यसैले पनि उनले सेनामा पकड बलियो पार्न खोजेको हुनुपर्छ।
उनले सत्ता हातमा लिने बित्तिकैदेखि अवकाश भए पनि धेरै शक्तिशाली रहेका केही पूर्वजनरल र प्रहरी अधिकारीलाई भ्रष्टाचारको मुद्दामा कारबाही गरेका थिए। कतिले उनले विरोधीहरूलाई सिध्याएर शक्ति आर्जन गर्न भ्रष्टाचारको बहाना बनाएको मान्छन्। कतिले भने सेनामा साँच्चै नै व्यापक भ्रष्टाचार भएकाले सीले भ्रष्टाचार विरोधी अभियान चलाएको जिकिर गर्छन्।
सन् २००८ मा हुको उत्तराधिकारी चुनिएपछि उनलाई बिस्तारै सत्ता सम्हाल्न तयार पार्न सन् २०१० मा सिएमसीको उपाध्यक्ष बनाइएको थियो। सिएमसीमा बसेर काम गर्दा व्याप्त भ्रष्टाचार उनले नजिकबाट देखे। त्यही जालो तोड्न उनले सो अभियान सुरू गरेको भनिन्छ।
सो अभियान अन्तर्गत उनले अवकाशप्राप्त मात्रै नभएर, बिस्तारै बहालवाला जनरलहरूलाई पनि हटाउन थाले। उनीहरूका ठाउँमा आफ्ना मान्छे राख्न थाले। सीले सन् २०१८ मा राष्ट्रपतिका लागि दुई कार्यकाल— अर्थात् दस वर्ष— को सीमा हटाएको घोषणा गरे। त्यसपछि पनि उनले जनरलहरूलाई हटाउने क्रम चलिरहेको छ।
सन् २०२२ पछि तेस्रो कार्यकाल सुरू गरेयता त उनले त्यसलाई झन् तीव्रता दिएका छन्।
उनले सुरूमा सत्तामा आउँदा शक्ति आर्जन गर्न अरूले नियुक्त गराएकालाई हटाएर आफ्ना मान्छे राख्नु सामान्य नै हो। तर पछिल्लो समय उनी आफैले नियुक्त गरेकालाई भ्रष्टाचार आरोपमा हटाइरहेका छन्।
केहीले भने सीको शक्ति बिस्तारै क्षय भएर सत्तामा अरू हाबी भएकाले सीका विश्वासपात्रलाई हटाइएको दाबी गर्छन्। तर कतिले भने सी झन् शक्तिशाली भएको र उनले नै निर्णय लिइरहेको जिकिर गर्छन्।
कम्युनिस्ट व्यवस्थामा सर्वोच्च नेताले गलत निर्णय गरेर भ्रष्ट मान्छे छानेको देखिँदा सीकै छवि समेत बिग्रिने डर हुन्छ।
तर अहिले सीले नियुक्त गरेका मान्छे भ्रष्ट रहेछन् भन्दा पनि भ्रष्टाचार गर्नेलाई सीले आफ्नै मान्छेलाई पनि छोड्दैनन् भन्ने भाष्य बनाइएको छ। आफ्नो छवि बिग्रिने डरको समेत बेवास्ता गर्दै उनले भटाभट आफै नियुक्त गरेका जनरललाई कारबाही गरेकाले पनि उनी ज्यादै शक्तिशाली भएको देखिन्छ।
उनले तेस्रो कार्यकालमा सुरूमा आणविक हतियार सहित अत्याधुनिक मिसाइल बनाउने रकेट फोर्समा धावा बोले। अमेरिकासँग प्रतिस्पर्धा गर्ने गरी सेनालाई बलियो बनाउने क्रममा उनले रकेट फोर्समा पैसाको खोलो नै बगाएकाले त्यहाँ भ्रष्टाचार भएको मानिन्छ।
अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा तरल इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचारका कारण धेरै कमजोरी भेटिएपछि सीले कारबाही सुरू गरेको भनेर पश्चिमा मिडियाले लेखेका छन्।
तर पनि पछिल्लो महिना सिएमसीका उपाध्यक्ष ही वेइदोङ र सदस्य मियाओ हुआलाई हटाएपछि भने विश्लेषकहरू अचम्म परेका छन्।
उनीहरू दुवै जना सी फुजियान प्रान्तको प्रमुख हुँदा सँगै काम गरेका थिए। सन् २०१२ मा सी सत्तामा आएपछि फुजियानमा उनी निकट रहेर काम गरेका धेरै जना शक्तिशाली भएका छन्। तीनलाई 'फुजियान ग्याङ' भनेर चिनिन्छ। सिएमसीमा रहेका 'फुजियान ग्याङ' कै वरिष्ठ जनरलहरूलाई पनि हटाएपछि भने भ्रष्टाचार मात्रै हो कि अरू कारणले हटाएको भनेर अनुमान गर्न थालिएको छ।
सेनामा भ्रष्टाचार हातहतियार र उपकरण बनाउने वा खरिद गर्ने क्रममा मात्रै हुँदैन। चीनमा सैनिक अधिकृतहरूलाई बढुवा गर्न पनि जनरलहरूले पैसा लिन्छन् भन्ने समाचार आएका छन्। मियाओले सिएमसीमा सैनिक नियुक्ति हेर्ने राजनीतिक कार्य विभागको नेतृत्व गर्थे। उनीअघि सो पदमा रहेका झाङ याङ पनि त्यस्तै मामलामा भ्रष्टाचार गरेको आरोपमा कारबाहीमा परेका थिए।
सेनाभित्र गुट बनाएका कारण पनि ही र मियाओलाई कारबाही गरिएको हुन सक्छ। अहिले सेनाभित्र कसैले गुट बनाएर सीलाई चुनौती दिने अवस्था नभए पनि स–साना गुट पनि पछि बढेर आफूलाई खतरा हुने ठानेर सीले कारबाही गरेका हुन सक्छन्।
आफूलाई खतरा नै नभए पनि सेनाभित्र गुटबन्दीले सेना कमजोर होला भनेर उनीहरूलाई हटाएका पनि हुन सक्छन्। उनीहरूले गुट नै चलाएको नभए पनि क्षमताभन्दा चिनजानका आधारमा अधिकृतहरूलाई बढुवा गरेकाले सेना कमजोर होला भनेर बर्खास्त गरेका पनि हुन सक्छन्।
कतिले भने सीका सानैदेखिका साथी सिएमसीका प्रथम उपाध्यक्ष झाङ युसियासँग खटपटका कारण हीलाई हटाइएको अनुमान गरेका छन्। ही हटेपछि ताइवानको छेवैमा चीनले गर्ने शक्ति प्रदर्शन कम भएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। झाङलाई त्यसरी बढी तामझाम गरेर शक्ति प्रदर्शन गर्नु ठिक लाग्दैन भनिन्छ। त्यसैले पनि त्यसो गर्ने हीलाई हटाइएको हुन सक्छ।
अर्कोतर्फ ताइवान छेउमा गरिने सैन्य अभ्यास धेरै पटक गरेर निपुण भइसकेकाले पनि अहिले त्यहाँ शक्ति प्रदर्शन नगरेको हुन सक्ने कतिले अनुमान गर्छन्। चीनभन्दा अझै टाढाको समुद्रमा सेनाले ध्यान दिएको हुन सक्छ भन्ने उनीहरूको जिकिर छ। त्यसो हो भने, ही हटेकै कारण ताइवान छेउ शक्ति प्रदर्शन नघटेको पनि हुन सक्छ। अरू नै कारण हीलाई हटाइएको हुन सक्छ।
वा, अरू कुनै कारण नभएर आशा गरे अनुरूप ही र मियाओले राम्रो काम गर्न नसकेकाले सीले हटाएका हुन सक्छन्।
सीले सन् २०२७ सम्म अमेरिकासँग लड्न सक्ने गरी तयार हुन सेनालाई निर्देशन दिएको भनेर अमेरिकी खुफिया निकायले दाबी गर्दै आएका छन्। चीनले आफ्नो अभिन्न अंग मान्ने ताइवानका कारण अमेरिकासँग लडाइँ हुने खतरा रहेकाले उनले त्यस्तो निर्देशन दिएका हुन सक्छन्।
उनले निर्देशन दिएकै भए पनि २०२७ सम्ममा चीनको अमेरिकासँग युद्ध हुन्छ भन्ने छैन। सन् २०२७ मा जनमुक्ति सेना बनेको १०० वर्ष पुग्छ। संयोगले सीको तेस्रो कार्यकाल पनि २०२७ मै सकिन्छ। त्यसैले उनले त्यतिन्जेलमा सेनाको आधुनिकीकरण गरेर बलियो बनाउन खोजेका हुन सक्छन्।
बहालवाला जनरलहरूले जनमुक्ति सेनाको शतवार्षिकीमा आफूले सोचेजस्तो बलियो सेना बनाउन नसक्ने ठानेर पनि उनीहरूलाई हटाएका हुन सक्छन्।
उनले जुनसुकै कारणले वरिष्ठ जनरलहरू हटाए पनि तत्कालका लागि सेनालाई घाटा हुने देखिन्छ। लगातार वरिष्ठ जनरलहरू हटाएकाले तिनका ठाउँमा नयाँ नियुक्त गर्न र नवनियुक्त जनरलहरूले राम्ररी काम गर्न थाल्न समय लाग्छ।
अर्कोतर्फ सीले आफू निकट वरिष्ठ जनरलहरूलाई समेत हटाएकाले आफू पनि जुनसुकै बेला कारबाहीमा पर्न सक्ने डर बाँकी रहेका जनरलहरूलाई हुन सक्छ। यसले उनीहरूको मात्रै नभएर सारा सेनाकै मनोबल खस्किन सक्छ। अनि सन् १९७९ मा भियतनामसँग भएको युद्धपछि अर्को युद्ध नलडेको सेनालाई सन् २०२७ सम्म बलियो बनाउने सीको योजना पूरा नहुन पनि सक्छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।