बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ।
गत वर्ष सत्ताच्युत भएर हाल भारतमा निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाले उनलाई लामो समय जेलमा राखेकाले र उमेरजन्य कारणले पछिल्ला वर्षमा उनको स्वास्थ्य निकै बिग्रिएको थियो।
जिया लामो समयदेखि मुटु, कलेजो, मिर्गौला, फोक्सोको रोगका साथै बाथ, मधुमेह, आँखासम्बन्धी विभिन्न स्वास्थ्य जटिलताहरूबाट ग्रसित थिइन्। उनको मुटुमा स्थायी 'पेसमेकर' राखिएको थियो।
हसिनाको तानाशाही सत्ता ढलेपछि उपचारका लागि लन्डन गएकी जिया यही वर्ष मे ६ मा स्वदेश फर्किएकी थिइन्। त्यसपछि ढाकास्थित एभरकेयर अस्पतालमा उनको नियमित स्वास्थ्य परीक्षण भइरहेको थियो। फोक्सोमा संक्रमण भएपछि नोभेम्बर २३ मा सोही अस्पताल भर्ना भएकी जियाको उपचारकै क्रममा निधन भएको हो।
सन् १९८१ मा राष्ट्रपति रहेका आफ्ना श्रीमान जियाउर रहमानको हत्या भएपछि राजनीतिमा होमिएकी जिया सन् १९९१ मा पहिलो पटक प्रधानमन्त्री भएकी थिइन्।
त्यसपछिका साढे तीन दशकसम्म उनी शेख हसिनाको मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रूपमा रहिन्।
सन् २००१ मा पुनः सत्तामा फर्केर उनले सन् २००६ सम्म सरकारको नेतृत्व गरिन्। उनले नेतृत्व गरेको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले पछिल्ला तीन आम निर्वाचन भने बहिस्कार गरेको थियो।
जियाको जन्म सन् १९४५ मा भारतको पश्चिम बंगालमा पर्ने जलपाइगुडीमा भएको थियो। सन् १९४७ मा भारत विभाजन हुँदा उनको मुस्लिम परिवार तत्कालीन पूर्वी पाकिस्तानमा बसाइ सरेको थियो।
द डेली स्टारका अनुसार उनको विवाह १५ वर्षको उमेरमा सैनिक अधिकृत जियाउर रहमानसँग भएको थियो। त्यति बेला पाकिस्तानी सेनाका मेजर रहेका जियाउर रहमानले हसिनाका पिता शेख मुजिबुर रहमानको नेतृत्वमा भएको स्वतन्त्रता संग्राममा भाग लिएका थिए। सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि जियाउर रहमानको सेनामा द्रुत पदोन्नति भयो।
सन् १९७५ अगस्टमा तत्कालीन राष्ट्रपति मुजिबुर रहमानको हत्या भएपछि उनका मन्त्री खन्दकार मोस्ताक अहमद राष्ट्रपति बने। अहमदले कू गर्दा तटस्थ बसेका सेना प्रमुखलाई हटाएर दोस्रो वरीयताका जियाउर रहमानलाई प्रमुख बनाए। पछि अहमदलाई पनि सैनिक कू मार्फत हटाइयो।
उनीपछि तत्कालीन प्रधान न्यायाधीश अबु शदात मोहम्मद सयेम राष्ट्रपति भए। स्वास्थ्यका कारण उनले राजीनामा दिएपछि सन् १९७७ मा जियाउर रहमान राष्ट्रपति बने। राष्ट्रपति बनेपछि उनले नै बिएनपी स्थापना गरे।
श्रीमान राष्ट्रपति भएपछि पनि जियाको सम्पूर्ण ध्यान दुई छोरा हुर्काउनमै केन्द्रित थियो।
सन् १९८१ मे ३० मा जियाउर रहमानको हत्या भएपछि जिया राजनीतिमा सक्रिय भइन्। सेनाभित्रको संघर्षका क्रममा विरोधीलाई दबाएका कारण रिसाएका केही सैनिक अधिकारीले जियाउर रहमानको हत्या गरेका थिए। त्यसपछि जियाउर रहमानकै बिएनपी दलको सरकार रह्यो। तर एक वर्ष नबित्दै सेना प्रमुख हुसेन मोहम्मद एर्शादले कू गरेर सत्ता हातमा लिए। एर्शादलाई जियाउर रहमानले नै सेना प्रमुख बनाएका थिए।
त्यसपछि लजालु गृहिणीका रूपमा चिनिएकी जियाले बिएनपीको नेतृत्व सम्हालेर एर्शादको दृढतापूर्वक सामना गर्न थालिन्।
मुजिबुर रहमानको हत्यापछि निर्वासनमा रहेकी हसिना, जियाउर रहमानले अनुमति दिएपछि मात्र सन् १९८१ मा स्वदेश फर्किएकी थिइन्। हसिनाका पिताले स्थापना गरेको दल अवामी लिग त्यति बेला कमजोर रहेकाले जिया नै सैनिक शासकको मुख्य प्रतिपक्षी थिइन्। हसिना र जिया दुवै सैनिक शासनविरूद्ध लडे पनि उनीहरूबीचको सम्बन्ध सधैं असहज रह्यो।
जिया र हसिनाले मिलेर आन्दोलन गरेपछि मात्र एर्शादको सैनिक शासन ढल्यो। सन् १९९१ को पहिलो संसदीय निर्वाचनमा जियाले नेतृत्व गरेको बिएनपीले २५१ सिटमध्ये १४० सिट जितेर बहुमत ल्यायो। हसिनाको अवामी लिग ८८ सिट जित्दै दोस्रो भयो।
त्यसपछि जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनिन्। अघिल्लो वर्ष मात्रै पाकिस्तानको प्रधानमन्त्री बनेकी बेनजिर भुट्टोपछि उनी मुस्लिम बहुल राष्ट्रको दोस्रो महिला सरकार प्रमुख भइन्।
प्रत्यक्ष निर्वाचन प्रणालीमा सिट संख्यामा ठूलो अन्तर भए पनि दुई दलले पाएको मत भने करिब समान थियो। बिएनपीले ३०.८१ प्रतिशत मत पायो भने अवामी लिगले ३०.०८ प्रतिशत।
त्यहीँबाट हसिना र जियाको राजनीतिक प्रतिस्पर्धा सुरू भयो र बिस्तारै त्यो दुश्मनीमा परिणत भयो।
बिएनपीको सरकारले धाँधली गर्न सक्ने भन्दै अवामी लिगले सन् १९९६ को निर्वाचन बहिस्कार गर्यो। निर्वाचनमा २१ प्रतिशत मात्रै मत खस्यो। उक्त चुनाव बिएनपीले भारी बहुमतले जिते पनि थोरै मतदाताले भाग लिएका कारण त्यसले वैधता पाउन सकेन। अन्ततः जिया सम्झौता गर्न बाध्य भइन्।
उनले संविधान संशोधन गरेर प्रधानन्यायाधीशको नेतृत्वमा निर्वाचन गराउन कामचलाउ सरकार गठन गरिन्। सोही वर्ष भएको निर्वाचन हसिनाको दल अवामी लिगले जित्यो र उनी प्रधानमन्त्री बनिन्।
पाँच वर्षपछि सन् २००१ मा भएको निर्वाचन विभिन्न दलसँग गठबन्धन गरेको जियाको दल बिएनपीले जित्यो। यसरी बंगलादेशमा प्रजातन्त्र पुनः स्थापना भएपछि लगातार तीन वटा निर्वाचन सम्पन्न भए। हार्नेले सत्ता छाड्ने र जित्ने सत्तामा पुग्ने स्वाभाविक प्रक्रियाले लोकतन्त्र संस्थागत हुँदै थियो। तर दुई प्रमुख नेता हसिना र जियाबीचको तिक्तता कम भएन।
सन् २००४ मा मुस्लिम अतिवादी समूहले विपक्षी नेता हसिनाको हत्या प्रयास गर्यो। त्यति बेला देशमा इस्लामी आतंकवादी गतिविधि बढिरहेको थियो। त्यसको विरोधमा हसिनाले ढाकामा गरेको सभामा ग्रेनेड आक्रमण हुँदा २४ जनाको मृत्यु भयो र हसिना घाइते भइन्।
बिएनपी जियाउर रहमानकै पालादेखि अतिवादी मुस्लिमप्रति नरम रहेकाले यो हमलामा बिएनपीको समर्थन रहेको आरोप लाग्यो। हमलापछि 'सत्तामा नरहे आफ्नो हत्या हुन सक्ने' भय हसिनाको मनमा पस्यो।
अर्कातिर जियाले पनि सत्तामा रहिरहन अनेक प्रपञ्च गर्न थालिन्। उनले संविधान संशोधन गर्दै आफू निकट एक पूर्वप्रधानन्यायाधीशलाई कामचलाउ सरकारको प्रमुख बनाउने प्रयास गरिन्। विपक्षीको विरोधका कारण हिंसा भड्किएपछि झन्डै दुई वर्ष सेनाले सरकार चलायो। जिया र हसिना दुवै जेलमा थुनिए।
अन्तर्राष्ट्रिय र आन्तरिक दबाबबीच सन् २००८ डिसेम्बरमा भएको चुनावमा हसिनाको गठबन्धनले भारी बहुमत ल्यायो भने जियाको गठबन्धन निकै खुम्चियो।
हसिनाले दोस्रो पटक सत्तामा आएपछि पकड बलियो बनाउन बिएनपीमाथि चरम दमन सुरू गरिन्। निर्वाचनका लागि कामचलाउ सरकारको माग गर्दै जियाले सन् २०१४ को चुनाव बहिस्कार गरिन्। त्यसपछि जियाका लागि सत्ताको ढोका बन्द हुँदै गयो।
सन् २०१५ मा जियाका कान्छा छोरा अराफात रहमान कोकोको मलेसियामा हृदयाघातका कारण मृत्यु भयो। उनको शव स्वदेश ल्याइए पनि भ्रष्टाचारको अभियोगमा नजरबन्दमा रहेका कारण जियाले अन्तिम संस्कारमा भाग लिन पाइनन्। शोकका बेला उनलाई भेट्न गएकी प्रधानमन्त्री हसिनालाई जियाले भेट दिइनन्। भित्रबाट ढोका नखुलेपछि हसिना फर्किएकी थिइन्।
सन् २०१८ को चुनावअघि हसिनाले जियालाई भ्रष्टाचार मुद्दामा जेल हालिन् र धेरै बिएनपी नेताहरूलाई थुनामा पठाइन्।
सन् २०२० मा जियालाई जेलबाट रिहा गरी उनकै घरमा नजरबन्दमा राखियो। बिएनपीले सन् २०२४ को चुनाव पनि बहिस्कार गर्यो र हसिना पाँचौं पटक प्रधानमन्त्री बनिन्।
गत वर्षको आन्दोलनपछि हसिना सत्ताच्युत भएपछि मात्र जियाको नजरबन्द हट्यो र उनी विरूद्धका मुद्दा फिर्ता भए।
हसिनाले चरम दमन गरे पनि जियाले उनी विरूद्ध तिक्तता पोखिनन्।
हसिनाले देश छाडेको दुई दिनपछि अस्पतालको शय्याबाट जारी पहिलो भिडिओ सन्देशमा पनि जियाले हसिनाको नाम लिइनन्। देशवासीलाई प्रतिशोध र विध्वंशको राजनीति त्याग्न उनले आग्रह गरिन्।
आगामी फेब्रुअरीमा हुने निर्वाचनमा हसिनाको अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले बिएनपीले जित्ने अपेक्षा गरिएको छ। १७ वर्षको निर्वासनपछि भर्खरै लन्डनबाट फर्किएका जियाका जेठा छोरा तारिक रहमान प्रधानमन्त्री हुने बलियो सम्भावना छ।
आमाको आग्रह अनुसार उनले प्रतिशोधको राजनीति छाडे भने त्यो बंगलादेशलाई ठूलो गुन लाउनेछन्।
***