बालेन शाहले मधेसको राजधानी जनकपुरमा दिएको पहिलो राजनीतिक सम्बोधनका तीन वटा महत्त्वपूर्ण सन्देश छन् —
एक, उनले पहिलो पटक आफू 'मधेसको छोरा' भएको घोषणा गरे।
दोस्रो, उनी पहिलो पटक संघीयताको पक्षमा मात्र खुलेनन्, प्रदेश सरकारलाई अहिलेभन्दा बलियो बनाउँदै काठमाडौंमा केन्द्रित अधिकारहरू प्रदेशमा ल्याउन पैरवीसमेत गरे।
तेस्रो, उनले राम–जानकीको भूमि जनकपुरमा वर्षकै एक करोड पर्यटक भित्र्याउन सकिने योजना सुनाए।
यो स्टोरीमा हामीले यिनै तीन सन्देश वरिपरि घुमेर बालेनको सामाजिक रूपमा स्थापित छविलाई 'क्रिटिकली' विश्लेषण गरेका छौं।
पछिल्लो तीन वर्षमा काठमाडौं महानगरको मेयरका रूपमा उनले गरेका काम–कारबाही पनि 'क्रिटिकली' केलाएका छौं।
यो विश्लेषण यस कारण जरूरी छ, किनभने बालेन शाह देशको भावी प्रधानमन्त्रीका रूपमा आफ्नो संसदीय राजनीतिक यात्रा सुरू गरेका छन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दा उनको एक सूत्रीय सर्त नै रास्वपाले बहुमत ल्यायो भने आफू प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो।
यो विश्लेषण यस कारण पनि जरूरी छ, किनभने तीन वर्ष काठमाडौंको मेयरका रूपमा काम गरेर 'टेस्टेड' भए पनि बालेन को हुन्, कस्ता व्यक्ति हुन्, उनको राजनीतिक सिद्धान्त के हो, उनले गर्न खोजेको आर्थिक–सामाजिक रूपान्तरण कस्तो हो भन्नेबारे धेरैलाई प्रस्ट जानकारी छैन।
धेरैले बालेन मेयर भएपछि काठमाडौंको कायापलट भयो भन्छन्। विगतमा काठमाडौंमा कहिल्यै नभएको प्रगति बालेनले तीन वर्षको छोटो कार्यकालमै गरेर देखाए भनेर उनको प्रशंसा गर्छन्।
उनले काठमाडौंलाई फोहोरको डुंगुरबाट मुक्ति दिए, फुटपाथ विस्तार गरेर काठमाडौंलाई नमूना सहर बनाए, नियम–कानुनमा कडाइ गरे, सार्वजनिक रूपले भएका अतिक्रमण रोके, चारैतिर सार्वजनिक पार्क बनाए, सार्वजनिक स्कुलको बेथिति अन्त्य गरे भन्ने श्रेय पनि धेरैले उनलाई नै दिन्छन्।
बालेनको शासनमा काठमाडौंले अभूतपूर्व प्रगति गरेको छ भनी ब्रान्डिङ गर्न उनका समर्थकहरूले त यो सांस्कृतिक सहरको नाम नै 'बालेन सिटी' जुराइदिएका छन्।
धेरैले भन्छन् — तीन वर्षमै काठमाडौंको कायापलट गर्न सक्नेले प्रधानमन्त्री भएर देश चलाउन पाए त के गर्थे होलान्!
यस्तो भन्नेहरू काठमाडौं बाहिरका जनता मात्र छैनन्, काठमाडौंभित्रकै जनता पनि छन्।
तर यसो भन्दै गर्दा बालेनले सधैं आँखामा चढाइरहने कालो चस्मा पछाडि धेरै कुरा लुकेका छन् भन्ने पनि हामीले बिर्सिनु हुँदैन।
उनलाई भावी प्रधानमन्त्रीका रूपमा देख्दै गर्दा उनको कालो चस्मा पछाडि लुकेका कुरा उधिन्न र उनले तीन वर्ष काठमाडौं मेयरका रूपमा गरेका कामको मूल्यांकन जरूरी छ।
हाम्रो यो स्टोरी पछिल्लो तीन वर्षको कार्यसम्पादनका आधारमा बालेनलाई व्यक्तिगत र राजनीतिक रूपमा चिन्ने र चिनाउने कोसिस हो।
बालेनको व्यक्तित्व क्रिटिकली केलाउनुअघि उनका सकारात्मक पक्षको चर्चा गरौं।
बालेनको सबभन्दा सकारात्मक पक्ष उनको साहस र उनको इमान हो।
पढाइ र पेसाले 'स्ट्रक्चरल इन्जिनियर' र सोखले र्याप गायक बालेन जिन्दगीमा कहिल्यै राजनीति नगरेका व्यक्ति हुन्। हामीकहाँ अधिकांश नेताहरूको राजनीतिक करिअर विद्यार्थी कालबाटै राजनीतिमा लागेबाट सुरू भएको छ। धेरैले विद्यार्थी कालमा लोकतन्त्रका लागि आन्दोलनमा सरिक हुँदै आफ्नो राजनीतिक यात्रा थालनी गरेका छन्। बालेनका हकमा न उनले विद्यार्थी जीवनमा राजनीति गरे, न लोकतन्त्रका लागि आन्दोलन गरे।
जीवन कहिल्यै राजनीति नगरेको मान्छेले एकै पटक काठमाडौं महानगरपालिकाको मेयर हुन्छु भनेर चुनावी मैदानमा आउनु कम साहसको कुरा होइन।
उनी यस कारण पनि साहसी देखिन्छन्, किनभने मेयरको दौडमा रहेका अन्य थुप्रै उम्मेदवारजस्तो उनी चुनाव लडिरहेका मात्र थिएनन्, जित्ने रणनीतिका साथ अघि बढेका थिए। र, त्यो रणनीति कार्यान्वयन गर्न आफ्नो टिमका साथ दिनरात खटेका थिए।
उनीसँग चुनावी मैदानमा खटिन ठूलो टिम थिएन। राजनीतिक दलका नेताहरूलाई जस्तो सिंगो संगठनको साथ उनलाई थिएन। आफ्नो अनुपस्थितिमा पनि चुनाव प्रचार गरिदिने कार्यकर्ताहरूको जमात उनीसँग थिएन।
उनीसँग थिए त खाली उनका निकट सहयोगी कुमार बेन (व्यञ्जनकार) र केही शुभेच्छुक साथीहरू।
तीन वर्षअघि हामीसँगको अन्तर्वार्तामा बालेनका निकट सहयोगी कुमार बेनले भनेका थिए, 'हामी पाँच महिना अगाडिदेखि नै दिनको डेढ–दुई सय मान्छे भेट्थ्यौं। पाँच महिनामा तीस हजार मान्छेलाई प्रत्यक्ष भेट्यौं होला। कहिले कुन टोलमा पुग्थ्यौं, कहिले कुन चिया पसलमा जान्थ्यौं। त्यहाँ बसेर स्थानीय युवाहरूसँग घन्टौं कुराकानी गर्थ्यौं। बालेन ती युवाहरूलाई आफ्नो भिजन सम्झाउँथ्यो।'
उनले अगाडि भने, 'बालेन र्याप गायक भएकाले युवा पंक्तिमा त्यसै पनि लोकप्रिय थियो। ऊ आफै गफ गर्न अघि सरेपछि युवाहरू उसको कुरा सुन्न झुम्मिन्थे। यसबाट हामीलाई काठमाडौंको स्थानीय समुदाय, खासगरी युवा पंक्तिमा आफ्नो कुरा पुर्याउन सजिलो भयो।'
कोही पहिलोचोटि भोट हाल्न लागेका युवाहरू थिए जो बालेनका कुरा सुनेर भन्थे, 'दाइ हाम्रो भोट तपाईंलाई नै हो। हामी सकेसम्म आमाबुबा, दाइदिदीलाई पनि तपाईंलाई नै भोट हाल्नुस् भनेर सम्झाउँछौं।'
काठमाडौंका टोल टोलमा गएर भेटघाट गर्दा बालेन र कुमारले यहाँका मतदाता मात्र छानेनन्। जो भेटिन्छ, उसैलाई आफ्नो योजना सुनाए। तीमध्ये कोही काठमाडौं बाहिरका पनि थिए, जो यहाँ डेरामा बस्थे।
त्यस्ता व्यक्तिले बालेनका कुरा सुनेर भने, 'दाइ हामीले त तपाईंलाई भोट हाल्न मिल्दैन तर हामी आफ्नो घरबेटीलाई यसपालि तपाईंलाई नै भोट दिनुस् है भनेर सम्झाउँछौं।'
यसरी बालेनले संख्याका हिसाबले एक दर्जनभन्दा कम शुभेच्छुक साथीहरूलाई लिएर काठमाडौंका टोल टोल, चोक चोक र सडक–गल्लीहरू नाप्दै आफ्नो चुनाव प्रचार गर्ने साहस देखाए र विजयी पनि भए।
कुनै राजनीतिक वा सामाजिक छवि नभएको व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएर दलका प्रतिनिधिहरूलाई हराउँछु भन्ने विश्वास पाल्नु र हराएर पनि देखाउनु चानचुने उपलब्धि होइन।
सुरूमा धेरैलाई बालेनको कोसिस 'दुस्साहस' झैं लागेको थियो। तर खासमा त्यो दुस्साहस थिएन, साहस नै थियो भन्ने उनले प्रमाणित गरेर देखाए।
कुनै एक व्यक्तिले इमानदारीपूर्वक कोसिस गर्यो भने जस्तोसुकै ठूलो छलाङ मार्न सक्छ भन्ने ज्यूँदाजाग्दा उदाहरण हुन्, बालेन।
चुनाव जितेर मेयर भएपछि पनि उनी पुराना राजनीतिक दलका कुनै नेतासामु झुकेनन्। कसैसँग सम्झौता गरेनन्। बरू उनले आफ्नो कार्यकालभरि सबैजसो राजनीतिक दलका सबैजसो नेतालाई 'बाल' दिएनन्। कतिपय समय त ललकारे नै।
महानगरको कार्यपालिका, जहाँ सबै जनप्रतिनिधिहरू कुनै न कुनै राजनीतिक दलबाट चुनाव जितेर आएका थिए, ती सबैसामु उनी एक्लै उभिए, आफ्ना जस्तोसुकै निर्णयको एक्लै बचाउ गरे र निर्भीकतापूर्वक त्यसलाई कार्यान्वयनमा पनि लगे।
कार्यपालिका बैठक क्रममा विभिन्न मुद्दामा वडाध्यक्षहरूसँग खटपट हुँदा पनि उनी कहिल्यै आफ्नो अडानबाट लत्रिएको देखिएन। आफ्ना योजना र निर्णयमा वडाध्यक्षहरूलाई सहमत गराएरै भए पनि अघि बढेका थुप्रै उदाहरण छन्।
खासगरी न्यूरोडमा हुँदै आएको सवारी पार्किङ हटाएर त्यहाँको फुटपाथ फराकिलो पार्ने योजनामा त केही वडाध्यक्षहरूसँग उनको खटपट नै पर्यो। कार्यपालिका बैठकमा उनको आलोचना पनि भयो। न्यूरोडका व्यवसायीहरूले उनीविरूद्ध प्रदर्शन पनि गरे। तर वडाध्यक्षहरू रिसाउलान्, व्यापारीहरूले साथ नदेलान् भनेर उनी हच्किएनन्। बरू न्यूरोडको फुटपाथ फराकिलो पार्ने काम द्रुत गतिमा अघि बढाए, जसको परिणाम आज हामी सबैसामु। उनको यो कामको काठमाडौंवासीले धेरै प्रशंसा पनि गरेका छन्।
यति मात्र होइन, देशभरका ७५३ स्थानीय तहमध्ये एउटा स्थानीय तहको 'स्वतन्त्र' मेयर भएर पनि देशभरका राजनीतिक नेताहरूको प्रतिपक्षीझैं सार्वजनिक 'पंगा' लिने, देशभरका बेथितिहरूको जिम्मा लिँदा सिंहदरबारको आलोचना गर्ने र नयाँ–पुराना सबै दलका नेतालाई 'चोर' भन्दै फेसबुकमा गाली गर्ने काम पनि बालेनले गरे।
उनको यो व्यवहारलाई पनि धेरैले 'विद्रोही' र 'साहसी' भन्दै तारिफ नै गरेका छन्। तर उनको यो साहसभित्र आफूबाहेक अरू कोही छैन र आफूले बाहेक अरू कसैले गर्न सक्दैन भन्ने एकलकाँटेपन, दुस्साहस र घमन्डको 'ककटेल' थियो। उनका त्यस्ता फेसुबके अभिव्यक्तिहरूको आलोचना पनि खुबै भयो। तर आलोचनाबाट सिक्ने र डराएर भोलिपल्ट आफ्नो स्ट्याटस मेट्ने वा लत्रिने काम उनले कहिल्यै गरेनन्। आफूले बोलेको वा लेखेका कुरा अकाट्यझैं गरे। र, अरू नेताहरूभन्दा म फरक हुँ भन्ने सधैं सन्देश दिइरहे।
आज बालेन जहाँ छन्, जसरी आम जनतामाझ लोकप्रिय भएका छन् र युवाहरूको ढुकढुकी बनेका छन्, त्यसमा उनको त्यही विद्रोह, साहस वा दुस्साहसको ठूलो भूमिका छ।
यसै कारण उनी समाजको नजरमा उनी एक–से–एक पुराना नेताहरूको खोइरो खन्न नडराउने 'मसिहा' का रूपमा स्थापित भए। समाजले जुन दल वा नेताहरूलाई 'भ्रष्ट' देख्यो, तिनै दल वा नेतासामु नझुकेर प्रखर आलोचना गर्ने 'हिरो' बने। र, दसौं वर्षदेखिको भ्रष्टाचार, कुशासन र बेथितिबाट नेपाललाई मुक्त गर्ने एक मात्र 'पालनहार' जस्तो बने।
सबभन्दा ठूलो कुरा त, आज जसरी उनी नेकपा एमालेका शक्तिशाली अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध उनकै राजनीतिक गढमा गएर चुनाव लड्दै छन्, त्यो पनि एक किसिमले उनको साहस वा दुस्साहस नै हो।
उनी काठमाडौंका कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लडेका भए सजिलै जित्न सक्थे। यसमा कुनै शंका छैन। तर देशभरिमै आफ्ना लागि विजयी हुन सबभन्दा गाह्रो निर्वाचन क्षेत्र झापा–५ रोजे।
उनको यो छनौटका पछाडि ओलीलाई हराएर प्रधानमन्त्री बन्ने र राष्ट्रिय नेताका रूपमा अघि बढ्ने उनको 'साहसिक' अभिलाषा लुकेको देखिन्छ।
उनी जेनजी आन्दोलनको बलमा हुन लागेको चुनावमा जेनजी आन्दोलनले नै सत्ताच्यूत गरेका प्रधानमन्त्रीलाई हराएर केन्द्रीय तहको आफ्नो राजनीति स्थापित गर्न चाहन्छन्। जम्मा तीन वर्षको मेयरको अनुभव बोकेर पहिलो पटक संसदीय चुनाव लड्न लागेका बालेनका लागि यो आफैमा साहसको कुरा हो।
साहसपछि आर्थिक इमान बालेनको अर्को बलियो पाटो हो।
बालेनले तीन वर्षको मेयर कार्यकालमा कुनै पनि किसिमको भ्रष्टाचार वा आर्थिक अपचलनमा मुछिएनन्। कुनै पनि योजना पास गर्दा वा नगर्दा उनले आफ्नो स्वार्थ साधेको उदाहरण छैन। यही आर्थिक इमानका कारण उनले निर्णय फटाफट गरे।
ठूलादेखि सानो तहका नेताहरू समेत भ्रष्टाचार र आर्थिक लेनदेनमा मुछिएका घटनाहरू दिनदिनै सार्वजनिक भइरहने आजको समय एक पैसा हिनामिना नगरेर पनि सार्वजनिक काम गर्न सकिन्छ, भ्रष्टाचार नगरी पनि नेता हुन सकिन्छ भन्ने 'दुर्लभ' उदाहरण बालेनले स्थापित गरिदिएका छन्।
उनकै पार्टीका सभापति रवि लामिछाने सहकारी अपचलनको आरोप खेपिरहेका छन्। रविको विगतको व्यक्तिगत आर्थिक जीवन पनि सग्लो नभएको आरोप छ। त्यसको दाँजोमा बालेनमाथि भ्रष्टाचार वा अनियमितताको सवालमा प्रश्न उठाउने ठाउँ छैन। नयाँ पार्टीका रूपमा उदाएको रास्वपाका सभापतिले नै स्थापित गर्न नसकेको सुशासनको यो मानकमा बालेन खरो उत्रिएका छन्।
बालेन युवा पुस्तामाझ लोकप्रिय हुनुको एउटा कारण उनको यही इमानदारी हो।
तर उनले वरिष्ठ नेताका रूपमा रास्वपा प्रवेश गर्दै गर्दा सभापति रवि लामिछानेमाथि लागेको आर्थिक अपचलनको अभियोग र त्यो अभियोगको गम्भीरता स्वीकार गर्दै चार–पाँच वटा अदालतले मागेको करोडौं रूपैयाँको धरौटीबारे अहिलेसम्म चुप्पी साधेका छन्।
यस अर्थमा उनले नेपालको राजनीतिमा स्वच्छ छविका नेताको उदाहरण त पेस गरेकै छन्, सँगसँगै भविष्यमा आफ्नो पार्टीलाई सुशासनतिर प्रतिबद्ध बनाउन महत्त्वपूर्ण भूमिका पनि खेल्न सक्छन्। सुशासनका मामिलामा रास्वपाका सबै नेता बालेनजस्तै हुने हो भने त्यो सिंगो पार्टी नै उदाहरणीय हुनेछ भन्नेमा कुनै शंका छैन।
यी त भए बालेनका सकारात्मक पक्षका कुरा, तर सिक्काको अर्को पाटो पनि छ।
बालेनको कार्यसम्पादन र कार्यशैलीमा उज्यालो पाटो जति छ, अँध्यारो पाटो पनि त्यति नै छ।
अब हामी बालेनले जनकपुर सम्बोधनबाट दिएका तीन सन्देशका आधारमा उनको व्यक्तित्वमा लुकेका खराब पाटाहरू केलाऔं।
जनकपुर सम्बोधनको पहिलो सन्देश बालेन शाहको मधेसी पहिचानसँग जोडिएको छ।
बालेनले सेतो कुर्ता–पाइजामा लगाएर, काँधमा गम्छा भिरेर, मैथिली भाषामा सम्बोधन गर्दै सार्वजनिक रूपले आफू 'मधेसको छोरा हुँ' भन्नु यस कारण महत्त्वपूर्ण छ, किनभने यो पहिचान उनले आजसम्म नखुलाएका मात्र होइनन्, अन्तर्वार्ताहरूमा ठाडै नकार्दै समेत आएका थिए।
उनले आफ्नो थरमा मधेसीहरूले प्रयोग गर्ने 'साह' कहिल्यै लेखेनन्। त्यसको सट्टा ठकुरी वा राजखलकले प्रयोग गर्ने 'शाह' लेखे। तीन वर्षअघि सेतोपाटीसँग गरेको कुराकानीमा त उनले स्पष्ट रूपमा आफू 'मधेसको तेली साह' होइन, 'सूर्यवंशी राजाको सन्तान हुँ, प्योर राजा हुँ' भनेका थिए।
त्यति बेला सेतोपाटीले काठमाडौं मेयरका रूपमा बालेन विजयी हुँदै छन् भन्ने प्रक्षेपण गरेको थियो। मतगणनामा पनि बालेनले जित्ने पक्कापक्की भइसकेको र अन्तिम चरणको गणना भइरहेकै बेला २०७९ जेठ पहिलो साता हामीले बालेनसँग लामो कुराकानी गरेका थियौं।
आफ्नो जातीय परिचयबारे सार्वजनिक रूपमा आएका भनाइहरूको प्रतिवाद गर्दै त्यो दिन उनले हामीसँग भने, 'मैले कहिल्यै पनि मेरो नामसँग जातीय परिचय जोड्न चाहिनँ। जनताले पनि मेरो जातीय परिचयमाथि कहिल्यै सवाल उठाएनन्। केशव स्थापितजीले म मधेसको हो भनेर भनेपछि मात्र यो कुरा उठेको हो। त्यसपछि धेरैले मलाई मधेसको तेली साह भने। मैले खुसी खुसी स्वीकारेँ। कतिले जुम्लाको ठकुरी भने, त्यो पनि मैले खुसी खुसी स्वीकारेँ।'
उनले यसलाई अझ स्पष्ट पार्दै भने, 'म मधेसको तेली साह होइन। जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी राजपरिवारको सन्तान हुँ। प्योर राजाको छोरा हुँ।'
यसो भनिरहँदा उनको स्वरमा तेज थियो। हाउभाउ पनि एकदमै उद्वेलित देखिन्थ्यो।
त्यसपछि हामीले सोध्यौं, 'तपाईंले सूर्यवंशी राजपरिवारको सन्तान हुँ त भन्नुभयो तर यो कुरा कसरी थाहा पाउनुभयो?'
जबाफमा उनले भने, 'त्यो त हाम्रो वंशावलीमै छ।'
'के तपाईंहरूको इतिहास सिम्रौनगढसँग जोडिन्छ?'
उनले भने, 'सिम्रौनगढभन्दा पुरानो। त्यहाँका राजा हरिसिंह देवभन्दा पुरानो। हाम्रो राज्यमा मिथिला, हेटौंडा, काठमाडौंसहित यहाँका धेरै ठाउँ पर्थे।'
बालेनले पूरा आत्मविश्वासका साथ यसो भन्दै गर्दा हामीले उनको वंशावलीबारे थप जान्न चाह्यौं।
उनले भने, 'त्यो त धेरै अगाडिदेखिको छ। पृथ्वीनारायण शाहभन्दा अगाडिको।'
बालेनको सुनाएको सूर्यवंशी राजपरिवारको विवरण र त्यसले काठमाडौं, मिथिला, हेटौंडा लगायतका ठाउँमा राज्य गरेको कुरा हाम्रो इतिहाससँग मेल खाँदैन। लिच्छविहरू आफूलाई सूर्यवंशी भन्छन्, तर त्यो हजार वर्षभन्दा पुरानो इतिहास हो। आफूलाई सूर्यवंशी लिच्छविहरूको खलक भन्ने अहिलेसम्म कोही देखिएका छैनन्। त्यसपछि अर्को कुनै सूर्यवंशी खलकले यो भूभागमा राज्य गरेको देखिँदैन।
हामीले यसबारे प्रश्न गरेपछि बालेनले आफै पनि यो कुरा यकिनसाथ भन्न सकेका थिएनन्।
त्यति बेला नेवार बहुल काठमाडौं महानगरको मेयरका रूपमा बालेनले आफ्नो मधेसी पहिचान लुकाउनु स्वाभाविक थियो। उनले राजनीतिमा आउनुअघि पनि कहिल्यै आफूलाई मधेसीका रूपमा नचिनाएको उनका निकटहरू बताउँछन्। झन् मेयर उठ्ने बेला त आफूलाई मधेसी भनेर चिनाउनुमा राजनीतिक लाभ केही थिएन। मधेसी पहिचान बोकेका भए सायद उनलाई काठमाडौंको मेयर जित्न गाह्रो पर्न सक्थ्यो।
तर आज मधेसको राजधानीमा गएर संसदीय राजनीतिक यात्राको सुरूआत गर्दै गर्दा उनलाई त्यही मधेसी पहिचान आवश्यक परेको छ। किनभने, आज रास्वपा अरू प्रदेशको तुलनामा मधेसमै सबभन्दा कमजोर छ।
उनले राष्ट्रिय नेताको पहिचान बनाउन, आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न, झापा–५ मा ओलीविरूद्ध चुनाव लड्न र अझ त्योभन्दा बढी मधेस प्रदेशमा रास्वपाको कमजोर साख बलियो बनाउन त्यही जातीय पहिचान सगौरव प्रस्तुत गरिरहेका हुन् कि भन्ने देखिन्छ।
बालेनले जनकपुरको सम्बोधनमा बोलेको संघीयताको विषय मधेसको मुटु र आत्मासँग जोडिएको राजनीतिक मुद्दासँग सम्बन्धित छ।
यो यस्तो मुद्दा हो, जसमा मधेस प्रदेशले कहिल्यै सम्झौता गर्दैन। किनभने, संघीयता मधेस आन्दोलनको देन। संघीयता प्राप्त गर्न मधेसमा दुईचोटि आन्दोलन भयो र संविधान जारी हुँदा 'अपुरो संविधान' भन्दै तेस्रोचोटि आन्दोलन भयो। तीन चरणमा भएका मधेस आन्दोलनमा करिब सय जना मधेसी सहिद भएका छन्।
नेपालको संविधानले संघीयतालाई आत्मसात गर्नुको एउटा मुख्य कारण नै दुई चरणमा भएको मधेस आन्दोलन हो।
काठमाडौं लगायत देशका अन्य प्रदेश र खासगरी बाहुन, क्षत्री लगायतका कथित उपल्लो जातिका लागि संघीयता मात्र एउटा राजनीतिक नारा हुन सक्छ, तर मधेसका लागि यो आफ्नो स्वत्वसँग जोडिएको छ। आफ्नो पहिचानसँग जोडिएको छ। र, त्यो पहिचानका खातिर मधेसमा बगेको रगतसँग जोडिएको छ।
तर बालेनले काठमाडौंको मेयरका रूपमा अहिलेसम्म संघीयता स्वीकार गरेका थिएनन्। स्वीकार नगरेको मात्र होइन, उनले २०७९ सालको संसदीय निर्वाचनमा भोट हाल्दा प्रतिनिधिसभाका लागि मात्र मतदान गरेका थिए। प्रदेशसभाको निम्ति त उनले मतपत्र लिनसमेत अस्वीकार गरेका थिए।
यसरी प्रदेश सरकारको अस्तित्व अस्वीकार गर्दै आएका बालेनले मधेसको राजधानीमा गएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ र 'काठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो' भन्नु आफैमा अर्थपूर्ण छ।
त्योभन्दा ठूलो कुरा, जुन प्रदेशसभाको निम्ति बालेनले २०७९ सालको चुनावमा भोटसमेत हालेनन्, त्यही प्रदेशसभालाई संविधानमा स्थापित गर्न ज्यानको आहुति दिएका मधेस आन्दोलनका सहिदहरूको शालिकमा माल्यार्पण गरेर उनले आफ्नो संसदीय राजनीतिक अभियान सुरू गरे।
जनकपुरको कार्यक्रममा उपस्थित हुनुअघि एकाबिहानै बालेन सिराहाको लहानमा रहेको सहिद पार्क जानु र मधेस आन्दोलनका सहिदहरूको शालिकमा माल्यार्पण गर्नुले राजनीतिक अर्थ बोकेको छ।
बालेनले यसरी संघीयताको पक्षमा आफूलाई प्रस्तुत गर्नु कति निर्वाचन प्रयोजनका लागि हो र कति उनले नेपालमा संघीयता चाहिँदो रहेछ भनेर बुझेका हुन् र मनैदेखि यसको राजनीतिक महत्त्व स्वीकार गरेका हुन् भन्ने यकिन छैन। यो कुरा आगामी दिनमा बालेन प्रधानमन्त्री भए वा रास्वपा सत्तामा पुग्यो भने उनीहरूले लिने नीतिबाट मात्र छर्लंग थाहा हुनेछ।
जनकपुर सम्बोधनको तेस्रो बुँदा बालेनले तीन वर्षअघि काठमाडौंलाई सुनाएको 'रूमानी' कल्पनासँग जोडिन्छ।
उनले जनकपुरमा भनेका थिए, 'रामको जन्मभूमि अयोध्यामा वार्षिक १० लाख पर्यटक आउँछन्। राम–जानकीको भूमि जनकपुरमा पनि एक करोड पर्यटक ल्याउन सकिन्छ।'
बालेनले जनकपुरका जनतामाझ एक करोड पर्यटक भित्र्याउने सपना त सुनाए, तर यो सपना कति 'रूमानी' छ भन्ने नेपालमा पर्यटक आगमनको वार्षिक आँकडाले नै देखाउँछ।
पर्यटन बोर्डका अनुसार नेपालमा वार्षिक १० लाखभन्दा केही बढी पर्यटक मात्र भित्रिन्छन्। यसमा भारतीय पर्यटकको संख्या करिब ३ लाख छ। भारतीय पर्यटक सबभन्दा बढी आउने काठमाडौं, पोखरा घुम्न हो भने तेस्रो देशका पर्यटक धेरैजसो हिमाल आरोहण र पदयात्राका लागि आउँछन्।
यस्तो आँकडा अगाडि राखेर जनकपुरमा मात्रै वर्षको एक करोड पर्यटक भित्र्याउन सकिन्छ भन्नु कति 'हावादारी' हो भन्ने सजिलै थाहा हुन्छ।
जनकपुर आउने भनेका बहुसंख्यक भारतीय पर्यटक हुन्। भारतीयहरूको करिब ३ लाख संख्यालाई ह्वात्तै बढाएर १ करोड पुर्याउने कहिले? कसरी?
बालेन शाहसँग त्यस्तो के जादूको छडी छ, जुन घुमाएर उनी एकैचोटि १ करोडको लक्ष्य हासिल गर्न सक्छन्?
बालेनले काठमाडौं मेयरको चुनाव लड्ने क्रममा गरेका बाचा सम्झने हो भने जनकपुरलाई देखाएको १ करोड पर्यटकको सपना नयाँ लाग्दैन। उनले तीन वर्षअघि यसरी नै काठमाडौंलाई आफ्ना 'रूमानी' सपना र योजनाहरू बेचेका थिए।
त्यति बेला उनले घोषणा गरेका अधिकांश योजनाको स्वाद काठमाडौंवासीले चाख्न पाएका छैनन्। कतिपय योजना त यति तिलस्मी थिए, व्यावहारिकतासँग त्यसको दूर दूरसम्म कुनै सम्बन्ध थिएन।
तीमध्ये केही योजना व्यावहारिक रूपले कति असम्भव छन् भनेर हामीले विभिन्न देशको उदाहरण दिँदै उनलाई प्रश्न पनि गरेका थियौं। तर उनले आफ्ना योजना कार्यान्वयन गर्न असम्भव छन् भनेर स्वीकार नै गरेनन्। बरू 'म जसरी पनि पूरा गर्छु' भन्ने दाबी गरिरहे।
बालेनले चुनावी घोषणापत्रमा समावेश गरेका 'तिलस्मी' योजनाहरू कुनै पनि साकार भएका छैनन्। उनले आफ्नो तीन वर्षको कार्यकालमा ती योजना सुरू नगरेका मात्र होइनन्, त्यसबारे एक शब्द उच्चारणधरि गरेनन्। किन कार्यान्वयन हुन सकेनन् भनेर प्रस्टीकरण पनि दिएनन्।
यसमा सबभन्दा अगाडि आउँछ, बालेनले घोषणा गरेको फोहोर व्यवस्थापनको योजना।
बालेनले फोहोर व्यवस्थापनका अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म अघि सारेका थिए।
बालेनले भनेका थिए, 'काठमाडौं महानगरमा दैनिक ६ सय टन फोहोर निस्किन्छ। तीमध्ये ७० प्रतिशत कुहिने खालका हुन्छन्। त्यस्ता कुहिने खालका फोहोरबाट जैविक मल बनाउने र त्यसलाई काठमाडौंभित्र मात्र होइन; धादिङ, काभ्रे लगायतका जिल्लामा बिक्री गर्ने मेरो योजना छ।'
'हामी यो फोहोरबाट पैसा कमाउन सक्छौं,' उनले भनेका थिए, 'जैविक मल बनाएर धादिङ र काभ्रे निर्यात गर्न सक्छौं।'
उनले कतिपय टेलिभिजन अन्तर्वार्तामा त यस्तो जैविक मल देशैभरि निर्यात गर्न सकिने, त्यसपछि काठमाडौंले विषादीरहित तरकारी खान पाउने, देशभरका युवाले रोजगारी पाउने र विदेश जान नपर्ने बताएका थिए।
काठमाडौंमा जैविक मल उत्पादन र निर्यातको बालेन–योजना कहाँ पुग्यो, अहिलेसम्म कसैलाई थाहा छैन।
उनले यो योजना कार्यान्वयन गर्न सिन्को पनि भाँचे कि भाँचेनन्, त्यो पनि कसैलाई थाहा छैन।
यति मात्र होइन, बालेनले आफ्नो चुनावी घोषणापत्र र हामीसँगको कुराकानीमा बाँकी बचेका ३० प्रतिशत फोहोर जलाउन 'इन्सिनेरेटर' मेसिन जडान गर्ने भनेका थिए।
यो आफैमा कार्यान्वयन हुनै नसक्ने योजना थियो।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरेडाँडा डम्पिङ साइटमा पहिले यस्तै इन्सिनेरेटर राख्नेबारे छलफल भएको थियो। वातावरणविज्ञहरूले इन्सिनेरेटरमा फोहोर जलाउँदा प्रदूषणको समस्या आउनसक्ने भनेपछि कार्यान्वयन भएन।
वातावरणविदहरूका अनुसार कुहिने फोहोरबाट जैविक मल बनाउन सम्भव भए पनि इन्सिनेरेटरमा जलाउनु एकदमै जटिल प्रक्रिया हो। किनभने, बर्खा बेला काठमाडौंमा जम्मा हुने फोहोर भिजेको हुन्छ। त्यसलाई जलाउँदा तापक्रम हजार डिग्री सेल्सियस आसपास हुनुपर्छ। तापक्रम ठ्याक्कै मिलाउन सकिएन भने स्वास्थ्यका लागि हानिकारक विषाक्त ग्यासहरू निस्किन्छन्।
यो योजना चीन, सिंगापुर लगायत विकसित देशहरूमा राम्ररी सञ्चालन भए पनि भारतमा भने प्रदूषणको समस्या देखिएकाले विरोध हुँदै आएको थियो। भारतले करिब एक दशकअघि सय वटा जति इन्सिनेरेटर मेसिन राख्ने योजना ल्याएको थियो। केही ठाउँमा जडान भएका थिए तर राम्ररी चलेनन्। दिल्लीकै विभिन्न ठाउँमा रहेका यस्ता मेसिनमा समस्या देखिएपछि बन्द गरिए।
भारतको प्राविधिक क्षमता हाम्रो दाँजोमा निकै सबल छ। तर उनीहरूले पनि आगोमा फोहोर जलाउने विधि सफल रूपमा प्रयोग गर्न सकिरहेका छैनन् भने नेपालमा हचुवा भरमा इन्सिनेरेटर प्रयोग गर्नु घातक हुनसक्ने वातावरणविदहरूको राय थियो।
हामीले भारतको दिल्लीमा इन्सिनेरेटरको असफल प्रयोग र वातावरणविदहरूको तर्कसहित इन्सिनेरेटर राख्दाको समस्याबारे बालेनलाई प्रश्न गरेका थियौं। बालेनलाई त्यसलाई कुनै महत्त्व दिएनन्।
'दिल्लीले राम्ररी कार्यान्वयन नगरेर हो, त्यस्तो इन्सिनेरेटर त हामी आफै बनाउन सक्छौं,' उनले भनेका थिए।
उनी आफ्नो धारणामा अत्यन्तै विश्वस्त थिए। भारतको दिल्लीले गर्न नसकेको काम हामी सजिलै गर्न सक्छौं भन्ने आत्मविश्वास देखाएका थिए।
प्राविधिक जटिलता भनेको कठोर यथार्थ हो। बालेनले त्यो कठोर यथार्थलाई सामान्यीकरण गर्न खोजे। यसबाट आफूले जतिसुकै हावादारी कुरा गरेको भए पनि त्यस विपरीतका तथ्यहरू स्वीकार नगर्ने र आफ्नै कुरामा अड्डी कसिराख्ने प्रवृत्ति देखिन्छ।
आखिरमा त्यति बेला उनले 'दिल्लीले गर्न नसकेको काम हामी गरेर देखाउँछौं' भनेर देखाएको आत्मविश्वास पानीको फोका साबित भयो।
उनले तीन वर्षको कार्यकालमा एकचोटि पनि इन्सिनेरेटरको नाम लिएनन्।
आफैले हदैसम्म आत्मविश्वास देखाएको उक्त योजना कार्यान्वयन गर्न उनले सिन्को पनि भाँचेनन्। कोसिस गरेर असफल भएका भए बरू 'गर्न खोजेका थिए, सकेनन्' भन्न सकिन्छ, उनले त कोसिस पनि गरेनन्। आफूले त्यति बेला भनेका कुरा गलत रहेछन् भनेर कहिल्यै स्वीकार पनि गरेनन्। त्यसको प्रसंग पनि कहिल्यै झिकेनन्।
फोहोरमैला व्यवस्थापनकै सवालमा बालेनले घरघरमै कुहिने र नकुहिने फोहोर अलग अलग राख्ने प्रणाली लागू गर्छु भनेका थिए। यी दुई खालका फोहोर उठाउन महानगरले फरक फरक दिन गाडी पठाउने योजना सुनाएका थिए।
व्यावहारिक रूपले कार्यान्वयन गर्न चुनौतीपूर्ण भए पनि यो योजना सम्भव थियो। यसका लागि काठमाडौं महानगरपालिकाले सूचना पनि निकालेको थियो। त्यही सूचनाका आधारमा काठमाडौंवासीले केही समयसम्म कुहिने र नकुहिने फोहोर अलग अलग राख्न सुरू पनि गरेका थिए। तर त्यसरी अलग अलग राखिएको फोहोर अलग अलग संकलन गर्ने गाडी कहिल्यै आएन।
कार्यान्वयन गर्न सम्भव योजना साकार पार्न पनि बालेन कहिल्यै गम्भीर देखिएनन्।
हुन त हामीले तीन वर्षअघि कुराकानीकै क्रममा यसको व्यावहारिक कठिनाइबारे बालेनसँग चर्चा गरेका थियौं। एकाएक यो बानी बसाल्न गाह्रो होला भनेका थियौं।
तर उनले निकै आत्मविश्वासका साथ भनेका थिए, 'हाम्रा नागरिकहरू एकदमै भनेको मान्छन्। गाडीको हर्न नबजाउनू भन्दा कसैले बजाएनन्। त्यस्ता मान्छेलाई कुहिने र नकुहिने फोहोर अलग राख्नू भन्यो भने पक्कै मान्छन्।'
बालेनले भनेको यो कुरा सही हो — काठमाडौंका नागरिकले भनेको मानेका थिए।
विडम्बना के भने, उनी आफैले महानगरवासीलाई आह्वान गरेको कुरा टिकेर कार्यान्वयन गरेनन्।
काठमाडौंको फोहोरमैला समस्या आज पनि उस्तै छ, जस्तो तीन वर्षअघि थियो। तर धेरैलाई बालेन आउनेबित्तिकै काठमाडौंबाट फोहोरको डुंगुर हटेर सहर सफा भयो भन्ने भ्रम छ।
यस्तो भ्रम फैलिनुका पछाडि कारण छ। बालेनको निम्ति सुखद संयोग के भयो भने, संघीय सरकारले काठमाडौं उपत्यकाका लागि निर्माण गरेको बञ्चरेडाँडा डम्पिङ साइट ठ्याक्कै त्यही बेला तयार भयो, जब बालेन चुनाव जितेर मेयर भएका थिए।
त्यही भएर उनी आउनुभन्दा अगाडि काठमाडौंमा थुप्रिएको फोहोरमैला स्वत: उठ्न थाल्यो र बञ्चरेडाँडामा व्यवस्थापन गरिन थाल्यो।
उनले काठमाडौंको मेयरका रूपमा कुहिने/नकुहिने फोहोर छुट्ट्याउने र अहिले पनि दुवै फोहोर लगेर बञ्चरेडाँडामा थुपारिँदै आएको छ। यसले बञ्चरेडाँडा डम्पिङ साइट भरिन लागेको छ। कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नकुहिने फोहोर मात्र त्यहाँ लगेको भए बञ्चरेडाँडा यति चाँडै भरिँदैन थियो। दुर्गन्ध र प्रदूषणको समस्या आउने थिएन।
त्यही समस्याले आज पनि बञ्चरेडाँडा काठमाडौंसँग रूष्ट छ। बेला बेला फोहोरका गाडीहरूको बाटो छेक्छ। असन्तुष्ट बञ्चरेडाँडा फेरि पहिलेजस्तै आन्दोलित भएको दिन काठमाडौं पहिलेजस्तै फोहोरले दुर्गन्धित हुनेछ।
फोहोरको यो समस्या बालेनले थाती राखेर आफूपछिका मेयरको टाउकोमा सारिदिएका छन्।
बालेनले काठमाडौंलाई धुलोमुक्त गर्न सहरमा छिर्ने गाडीहरूलाई थानकोटतिर धोइपखाली गराउने र सहरका सडकहरू निरन्तर सरसफाइ गर्ने घोषणा पनि गरेका थिए। सहरका सडक सरसफाइ गर्नु नयाँ काम भएन, जहाँसम्म काठमाडौं भित्रिने गाडी धोइपखालीको योजना छ, त्यो पनि आजसम्म कार्यान्वयन भएको छैन।
हुन त यो तीन वर्षमा काठमाडौं पहिलेजस्तो धूलोधुवाँले कुइरीमण्डल छैन। यसका लागि पनि धेरैले बालेनलाई जस दिन्छन्।
तर खास कारण के भने, तीन वर्षअघि बालेनले काठमाडौं सम्हाल्नुअघि आठ लेन चक्रपथ विस्तारको काम द्रुत गतिमा भइरहेको थियो। मेलम्ची आयोजनाको पाइपलाइन राख्ने काम पनि चल्दै थियो। त्यसले काठमाडौं र ललितपुरलाई धूलोले कुइरीमण्डल बनाएको थियो। ती दुवै काम सकिएपछि धूलोको धेरै अंश त्यसै हट्ने भइहाल्यो। यसमा बालेनको योगदान एकरत्ति पनि छैन।
काठमाडौं कोर सिटीको सम्पदा र संस्कृति पुरानै स्वरूपमा फर्काउने पनि बालेनको योजनामा थियो।
उनी न्यूरोड र वसन्तपुरदेखि ठमेल र थँहितिसम्मका भित्री बस्तीका सडकमा ढुंगाको सट्टा इँटाले छाप्छु भन्थे। भित्री बस्तीमा सवारी साधन निषेध गर्ने र त्यहाँका प्रत्येक घरपरिवारलाई आफ्नो अगाडि स्थानीय परिकारहरूको व्यवसाय गर्न प्रोत्साहित गर्ने योजना पनि सुनाएका थिए। स्थानीय जात्रापर्व मनाउन पैसाको कमी भएकाले सबै जात्रापर्व र गुठीहरूलाई जाने खर्च बढाउने र यहाँका जात्राहरूमा सिंगो काठमाडौं सरिक हुने वातावरण बनाउने बाचा गरेका थिए।
उनले भनेका थिए, 'मैले बच्चा बेला जुन काठमाडौं देखेँ, त्यो अहिलेका बच्चाहरूले देख्न पाएका छैनन्। काठमाडौंको अलग्गै बास्ना छ। यहाँका मन्दिरहरूमा हुने आरती, घन्टीको आवाज र जात्रापर्वको रौनकले काठमाडौंमा सधैं संगीत गुञ्जिरहेझैं लाग्छ। म अहिलेका केटाकेटीलाई आफू केटाकेटी हुँदा देखेको काठमाडौं देखाउन चाहन्छु। काठमाडौंको मौलिक बास्नासँग संसारलाई परिचित गराउन चाहन्छु।'
उनले भक्तपुरले जस्तै काठमाडौंका सम्पदा स्थलहरू जनसहभागितामा स्थानीय कालिगढहरूबाटै बनाउने योजना सुनाएका थिए।
'मन्दिर र सम्पदाको आफ्नै अर्थ हुन्छ। ठेकेदारले भाडाको श्रमिक ल्याएर काम गर्यो भने त्यो मर्म जीवित रहँदैन। यसनिम्ति यहीँको कलाशैली बुझेको कालिगढ चाहिन्छ। त्यसैले सम्पदाको काम जनसहभागिताबाटै हुनुपर्छ,' उनले भनेका थिए।
यी योजना कति सफल भए, कति भएनन्, हामीसामु छर्लंगै छ।
हो, उनले काठमाडौंमा जात्रापर्वमा जाने बजेट बढाउन पहल गरे। केही गुठीघरहरू पुनर्निर्माणमा सहयोग पनि गरे। जात्रापर्व मनाउन महानगरको तर्फबाट सहयोगको हात पनि बढाए।
तर यो कामको सुरूआत उनीअघिका मेयर विद्यासुन्दर शाक्यले नै गरेका थिए, बालेनले त्यसलाई निरन्तरता मात्र दिएका हुन्।
काठमाडौंमा संस्कृति र सम्पदा संरक्षणको काम विशिष्ट होइन भन्ने भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका काम हेरे पुग्छ। आज पनि वसन्तपुर दरबार क्षेत्रको दाँजोमा पाटनको मंगलबजार दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र कता हो कता सुन्दर छ, 'अथेन्टिक' छ। काठमाडौंका मान्छेधरि साँझको समय मंगलबजार घुम्न जाँदा आहा भन्छन्। बिदाको दिन भक्तपुर गए मोहित हुन्छन्।
कोर–सिटी संरक्षणमा पनि काठमाडौंभन्दा पाटन र भक्तपुर धेरै अगाडि छ, धेरै सम्पन्न छ। भक्तपुरले त कोर–सिटीका निजी घरहरूमा समेत मल्लकालीन आर्किटेक्चरलाई पुनर्जीवन दिएको छ। यो काम काठमाडौंमा पनि गर्न सकिन्थ्यो।
बालेनले यो संघीय राजधानी सहरको संस्कृति र सम्पदालाई जति समृद्ध बनाएका छन्, त्योभन्दा कम होइन, बढी नै समृद्ध पाटन, भक्तपुर वा बुंगमती बनेका छन्।
बालेनले ट्राफिक व्यवस्थापनका योजना पनि अघि सारेका थिए। घाटामा चलिरहेका डिपार्टमेन्ट स्टोर र मलहरू भाडामा लिएर तिनलाई बहुतले पार्किङ स्थलमा परिणत गर्ने उनको योजना थियो। ट्राफिक व्यवस्थापनका लागि विभिन्न अफिसहरू खुल्ने र बन्द हुने समय पनि अदलबदल गर्छु भनेका थिए।
'अहिले काठमाडौं एकैचोटि जाग्छ, एकैचोटि सुस्ताउँछ। यो समय तालिका फेरेर बिहान ८ बजेभित्र सबै स्कुल खुल्यो भने त्योभन्दा अगाडि नै स्कुलका गाडीहरू विद्यार्थी छाडेर आ–आफ्नो ठाउँमा फर्किसक्छन्। त्यसको दुई घन्टापछि सरकारी कार्यालयहरू खुल्छन्। त्यसपछि बजार, सपिङ कम्प्लेक्स, न्यूरोडका सुन पसल, कपडा पसलहरू दिउँसो १२ बजेतिर मात्र खोल्ने हो भने ट्राफिक समस्या केही हदसम्म हल हुन्छ,' उनले भनेका थिए।
त्यस्तै, आइटी (सूचना प्रविधि) कम्पनी र त्यस्तै किसिमका अरू कार्यालय दिउँसो २–३ बजेतिर मात्र खुल्ने हो भने पनि सवारी चाप खुकुलो हुने उनको भनाइ थियो। यसरी राति अबेरसम्म सहर जागा राख्ने बालेन–परिकल्पना थियो।
सहरलाई जागा राख्न नगर प्रहरीहरू थपेर सुरक्षाको प्रबन्ध मिलाउने र सहरभरि दसौं हजार सिसिटिभी क्यामरा जडान गरेर चौबीसै घन्टा निगरानी गर्ने उनले बताएका थिए।
तर काठमाडौं अहिले पनि आफ्नै गतिमा उठ्छ, आफ्नै गतिमा सुत्छ।
बालेनले भनेजस्तो न सहरको समय तालिका फेरियो, न यो सहर रातभरि जागा हुन सक्यो।
काठमाडौंको अर्को मुख्य समस्या सार्वजनिक यातायात हो। थोत्रा गाडीमा कोचाकोच यात्रा गर्न जनता बाध्य छन्। यसलाई हल गर्ने उपाय पनि बालेनले घोषणा गरेका थिए।
सबै सार्वजनिक गाडीलाई एउटा कम्पनी मातहत ल्याउने र त्यही कम्पनीले एउटै ब्रान्डका रूपमा गाडी चलाउने उनको योजना थियो। यसो गर्दा प्रिपेड–कार्ड प्रणाली पनि लागू गर्न सकिने र दैनिक, साता वा महिनावारी पैसा तिरेर एउटै कार्डले सहरभरि यात्रा गर्न सकिने उनले बताएका थिए।
'महानगर आफैले बिजुली गाडी प्रवर्द्धन गर्नेछ,' उनले भनेका थिए, 'अहिले सार्वजनिक यातायातमा संलग्न व्यवसायीहरूलाई पनि पुराना गाडी थन्क्याएर बिजुली गाडी किन्न प्रोत्साहन गरिनेछ।'
सार्वजनिक यातायात प्रणाली सुधार गर्ने बालेन–योजना कति पूरा भयो, कति भएन; त्यो काठमाडौं नगरवासीहरूलाई राम्ररी थाहा छ। काठमाडौं घुम्न मात्र आउनेहरूले पनि भोगेकै छन्।
बालेनको कार्यकालमा एकदमै राम्रो काम भएको न्यूरोड लगायतका सहरका विभिन्न ठाउँमा फुटपाथ विस्तार हो। न्यूरोडको फुटपाथ विस्तार गर्न त उनले कसरी वडाध्यक्षहरूसँग झगडा नै गरे भन्नेबारे मैले माथि चर्चा गरिसकेको छु।
त्यसबाहेक अन्य मुख्य सडकका फुटपाथ फराकिलो पारेर त्यसमा बुट्टेदार इँटा छाप्ने योजनामा पनि काठमाडौं महानगरले राम्रो प्रगति गरेको छ। यो बालेनको तीनवर्षे कार्यकालको सबभन्दा ठूलो उपलब्धि हो। यस्तै उपलब्धि त ललितपुर र भक्तपुरले पनि हासिल गरेका छन्।
त्यस्तै, काठमाडौंका स्कुलहरूमा विद्यार्थीलाई छात्रवृत्ति दिने, सीप विकास तालिम दिने लगायतका कार्यक्रम पनि उनले कार्यान्वयनमा ल्याएका छन्।
हाम्रो कानुनले विपन्न र पछाडि परेका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ भन्छ। विगतमा यो कानुन राम्ररी कार्यान्वयन भएको थिएन। अहिले कानुन अनुसार निजी स्कुल पनि स्थानीय तह मातहत आएपछि बालेनले काठमाडौं महानगरमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याए। र, अन्य स्थानीय तहको दाँजोमा राम्रो प्रगति देखाए।
नेपालमा विकास भयो कि भएन भन्ने कुरा गर्दा आर्थिक स्रोतसँग पनि जोडिन्छ। धेरै स्थानीय तहले स्रोतसाधनकै अभावमा विकासको लक्ष्य हासिल गर्न सकेका छैनन्। तर काठमाडौं महानगरका हकमा विकास गर्न बजेटको कुनै कमी नभए पनि त्यसको तुलनामा काम निकै कम भएका छन्। अन्य महानगरको तुलनामा त विकास बजेट सबभन्दा कम खर्च गर्ने काठमाडौं नै हो।
बालेनले आफ्नो कार्यकाल सुरू गरेको वर्ष काठमाडौं महानगरको पुँजीगत बजेट १४ अर्ब ४८ करोड रूपैयाँ थियो, जसमध्ये ३ अर्ब ७५ करोड मात्र खर्च भयो।
त्यसै वर्ष ५ अर्ब ११ करोड बजेटमध्ये २ अर्ब ५३ करोड खर्च गरेको थियो भने भरतपुर महानगरले ३ अर्ब १८ करोड बजेटमध्ये २ अर्ब ५३ करोड खर्च गरेको थियो।
गत आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा पनि पुँजीगत खर्चमा काठमाडौंले खासै प्रगति गरेको देखिँदैन।
उक्त अवधिमा काठमाडौंले १५ अर्ब बजेटमध्ये जम्मा ६ अर्ब ७३ करोड खर्च गरेको थियो। यसको तुलनामा ललितपुरले साढे ४ अर्ब बजेटमध्ये २ अर्ब ७० करोड खर्च गर्यो भने भरतपुरले २ अर्ब ७२ करोडमध्ये १ अर्ब ६८ करोड खर्च गरेको तथ्यांक छ।
हामीले बालेनसँगको कुराकानी क्रममा उनले ल्याएका विकास योजनाहरूमाथि थुप्रै प्रश्न उठाएका थियौं। बालेन हरेक प्रश्नको उत्तर नअलमलिकन दिन्थे। सबै प्रश्नको उत्तर उनीसँग छ जस्तो गरेर कुरा गर्थे। उनले हामीलाई दिएका सबै उत्तर वा तर्क मिल्दैन थिए। तर आफूले दिएका उत्तरप्रति उनी पूर्ण विश्वस्त देखिन्थे।
जान्ने मान्छे राम्रो हो, तर कहिलेकाहीँ धेरै जान्ने वा सबै जान्ने मान्छे धेरै राम्रो होइन। बालेनले आफ्नो तीन वर्षको कार्यकालमा यसलाई प्रमाणित गरेर गएका छन्।
बालेनको सबभन्दा अँध्यारो पक्ष हो, उनी शक्तिको आडमा अमानवीय तुजुक देखाउँछन्। उनले काठमाडौं महानगरको मेयरका रूपमा देखाएका अमानवीय तुजुकका दर्जनौं उदाहरण छन्। उनले धनी–गरिब दुवैमाथि समान रूपले यस्तो तुजुक देखाएका छन्, आफ्ना प्रतिद्वन्द्वीहरूमाथि पनि तुजुक देखाएका छन्।
यसमा सबभन्दा पहिला उनको तीनवर्षे कार्यकालमा काठमाडौंका सडक व्यवसायीहरूमाथि भएका अमानवीय दमनको कुरा गरौं।
पछिल्लो तीन वर्षमा बालेनको निर्देशन र उनले काठमाडौं महानगरको नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेको नेतृत्वमा सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिएका थिए। त्यस्ता धेरै भिडिओ सामाजिक सञ्जालमा भाइरल छन्। काठमाडौंका जनताले ती घटना प्रत्यक्ष देखे–भोगे नै, काठमाडौं बाहिरका जनताले पनि सामाजिक सञ्जालमा त्यस्ता भिडिओ हेर्न सक्छन्।
तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने साना र निर्वाहमुखी व्यवसायीमाथि बालेनले गरेका धरपकडका कति दृश्य त हृदयविदारक नै छन्। ती व्यवसायी हात जोडेर बिन्ती गर्छन्, आँसु झार्छन्, तर नगर प्रहरीहरूको अमानवताका अगाडि उनीहरूको कुनै जोर चल्दैन।
आफ्नो थातथलो छाडेर रोजीरोटीका लागि राजधानी सहर आएका सडक व्यवसायीहरूको ठेला र त्यसमाथि उनीहरूले बसालेको व्यवसायको जग उखेलेर बालेनले उनीहरूको उठिबास लगाउन कुनै कसर छाडेनन्।
ती भिडिओ हेर्दा हामीलाई बालेन शाह 'परपीडक' जस्ता लाग्छन्, जो काठमाडौंमा जीविका गरिरहेका गरिबहरूलाई रूवाइरहेका छन्। र, काठमाडौंको सौहार्द, समावेशी र सहभागितामूलक सभ्यता मार्दैछन्।
ती भिडिओमा काठमाडौंका नगर प्रहरीहरूमा पलाएको दम्भ र अहंकार पनि झल्किन्छ, जो सहरका नागरिकको मुखैनिर औंला तेर्स्याएर धम्क्याउँछन्। नागरिकलाई धकेलाधकेल गर्छन्। उनीहरूसँग घम्साघम्सीमा ओर्लिन्छन्। नगर प्रहरीहरूमा जागेको यो हदसम्मको दम्म र अहंकारको स्रोत स्वयं बालेन हुन्, जसले ती सडक व्यवसायीहरूमाथि कहिले पनि दया, माया वा सहानुभूति देखाएनन्।
कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ —एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यून–मध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता रमाजस्तै सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्।
बालेनले सडक व्यवसायीहरूको ठेला खोसेर, रोजगारविहीन बनाएर उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यून–मध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोलेका थिए।
काठमाडौंका सडक व्यापारीहरूका लागि जीवनको एउटा ठूलो विडम्बना यो हो, उनीहरूको संघर्ष, उनीहरूको विवशता र उनीहरूको आँसुको मूल्य जुन र्याप गायक बालेनले बुझेका थिए, महानगरको घुम्ने कुर्सीमा ती बालेन थिएनन्।
राजनीतिमा आउनुभन्दा अगाडि बालेनले धेरै र्याप गाए। तीमध्ये एउटा र्याप बालेनको विम्ब बन्यो — गरिबको चमेली बोल्दिने कोही छैन...।
पञ्चायतविरूद्ध राजनीतिक आन्दोलन क्रममा राल्फा समूहले सिर्जना गरेको यो गीतले गरिबहरूलाई सदियौंदेखिको गरिबी र उत्पीडनबाट मुक्त गर्ने भाव बोकेको छ। बालेनले गरिबी र उत्पीडनविरूद्धको त्यो आगोलाई र्यापमार्फत् नयाँ पुस्तामा पुर्याए। सायद त्यसले पनि उनलाई महानगरको कुर्सीमा पुर्याउन मद्दत गर्यो।
तर मेयरका रूपमा बालेनका कृत्यले काठमाडौं सहरलाई गरिबीबाट होइन, गरिबहरूबाट मुक्त गर्न खोज्यो। उनको अभियानले सदियौंदेखि गरिबहरूलाई आश्रय र बाँच्ने आशा दिँदै आएको काठमाडौं सहरको आत्मा नै मार्यो।
पछिल्लो समय सडक व्यवसायीहरूमाथिको धरपकड कम भएको छ। यसको कारण बालेनमा पलाएको संवेदना होइन, 'ईः' लगायतका केही सामाजिक अभियानीहरूले सडक व्यवसायीका पक्षमा उठाएको आवाज हो। सञ्चार माध्यमले निरन्तर उठाएको आवाज हो। स्वयं सडक व्यवसायीहरूले महानगरविरूद्ध छेडेको आन्दोलन हो। त्यही आन्दोलनका कारण अहिले काठमाडौंका सडकमा एकाबिहानै र राति ९ बजेपछि मात्र सडक व्यवसाय गर्न पाइने नियम लगाइएको छ।
यति सामान्य कुराको निम्ति पनि बालेनले तीन वर्षमा धेरैको आँसु बगाए, धेरैको रोजीरोटी खोसे, धेरैका पेटमा लात मारे। जबकि, यही नियम ललितपुर, भक्तपुर लगायत स्थानीय तहमा पहिल्यै थियो।
बालेनले देखाएको अर्को अमानवीय तुजुक हो, सुकुम्बासीका झुप्रो उखेल्न डोजर लिएर जानु।
गैरकानुनी रूपले नदी किनारको जग्गा अतिक्रमण गरेर बसेका नक्कली सुकुम्बासी हटाउनुपर्छ भन्नेमा कुनै दुबिधा छैन। तर उनीहरूलाई हटाउने नाममा सक्कली सुकुम्बासीहरूको पनि उठिबास लगाउनु चाहिँ न्यायोचित होइन।
बालेनले भने काठमाडौंको मेयरका रूपमा सक्कली र नक्कली सुकुम्बासी छुट्ट्याउने विधि–प्रक्रिया बेवास्ता गरे र मै अदालत हुँ, मै राज्य हुँ, न्याय दिने पनि मै, दण्डित गर्ने पनि मै भन्ने भावमा सिंगो सुकुम्बासी बस्तीलाई डोजरमुनि पेल्न खोजे।
लगभग देशका सबै महानगरमा सुकुम्बासी समस्या छ। सबै महानगरमा सक्कली र नक्कली सुकुम्बासी छन्। यसको समाधान गर्न को सुकुम्बासी हुन् र को होइनन् भनेर छुट्ट्याउन जरूरी छ। त्यसका लागि सुकुम्बासी बस्तीमै गएर लगत संकलन गर्नुपर्छ। त्यो अरूको होइन, महानगरकै जिम्मेवारी हो। काठमाडौंका हकमा बालेनकै जिम्मेवारी थियो।
राज्यले सही सुकुम्बासी पहिचान गरेर तिनलाई बसोबास व्यवस्थापन गर्ने नीति बनाएको छ। उनीहरूप्रति आफ्नो जिम्मेवारी हुन्छ भनेर राज्यले मानेको छ। सामाजिक न्यायका दृष्टिले पनि यो राज्यको आधारभूत जिम्मेवारी हो।
आज भरतपुर, सुर्खेत लगायत धेरै महानगर/नगरपालिकाहरू सुकुम्बासीको लगत संकलन गरेर समस्या समाधानमा अघि बढिसकेका छन्। काठमाडौं महानगर भने अहिलेसम्म सुकुम्बासीको लगत संकलन गर्न तयार नै छैन। उसको अडान छ — सबै अतिक्रमणकारी भएकाले लगत संकलन नगर्ने। सबैलाई डोजर र प्रहरी लगाएर बल प्रयोग गर्दै रक्तपातपूर्ण भिडन्तबाट भए पनि हटाउनुपर्ने बालेन शाहको जिकिर रह्यो। त्यसैका लागि उनले धेरै पटक प्रयत्न गरे। हरेक पटक सुकुम्बासीसँग मुठभेड भएपछि काठमाडौं महानगर पछाडि हट्न बाध्य भयो।
बालेनले सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोगसँग सम्झौतामा हस्ताक्षर नगरेका होइनन्। आफ्नो कार्यकालको सुरूआतमै गरेका थिए। तर पछि गएर उनी आफूले हस्ताक्षर गरेको सम्झौताबाट आफै पछि हटे। सुकुम्बासी पहिचान गर्न राज्यले केही नगरेकाले म आफै अघि सरेँ भनेर नेताहरूलाई गाली गर्न र जनतामा भ्रम छर्न उद्धत भए।
यसरी आफ्नो काम नगरी अर्कालाई गाली गर्ने र राज्यको नीति–कानुनको खिल्ली उडाउने छुट कसैलाई छैन, बालेनलाई पनि छैन।
उनले कतिसम्म तुजुक देखाए भने, सुकुम्बासीमाथि बल प्रयोग गर्न प्रहरी उपलब्ध गराइएन भनेर सिंहदरबारसँगै रिसिइबी मोले।
उनले आफ्नो तीनवर्षे कार्यकालको एउटा समयमा सिंहदरबार र राष्ट्रपति भवनमा फोहोर उठाउन बन्द गर्ने निर्देशन दिएका थिए।
फोहोर उठाउन बन्द गरेको सूचना दिँदै आफ्नो फेसबुकमा लेखेका थिए, 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।'
बालेनको त्यो अभिव्यक्ति र काम दुवै गैरजिम्मेवार र अराजक थिए। त्यसले पदीय मर्यादाका सीमाको धज्जी उडाएको थियो।
सार्वजनिक पदमा बसेको मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यो पदको गरिमा राख्नुपर्छ। सँगसँगै, सार्वजनिक पदमा बस्ने मान्छेले अरूको गरिमाको पनि ख्याल गर्नुपर्छ। सिंहदरबारमा सबै 'चोर' बस्छन् र सिसडोलमा फाल्न लायक छन् भन्नु बालेनको दम्भ र बहुलठ्ठीपनभन्दा बढ्ता अरू केही थिएन।
सिंहदरबार होस् वा बागदरबार, त्यहाँ बस्ने नेताहरूका कमजोरी पनि हुन्छन्, सबल पक्ष पनि हुन्छन्। उनीहरूलाई यी दुवै ठाउँमा जनताले निर्वाचित गरेर पठाएका हुन्। सबै जना आ–आफ्ना सीमा र मर्यादामा बसेर मिलेर काम गरून्, अनि मुलुकका समस्या समाधान गरून् भन्ने जनताको अपेक्षा हो।
बालेनले भने आफू मात्र ठिक र अरू सबै 'सिसडोलमा फाल्न लायक' भन्ने मनोरोग देखाए।
उनले अरूको कामको आलोचना गर्न पाउँछन्, यसो गरौं भनेर सुझाव दिन पाउँछन्, हात बढाउन पनि पाउँछन् तर अरूलाई गाली गरेर, अरूमाथि दोष थुपारेर उनी आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैनन्।
त्यति बेला उनले सिंहदरबारको फोहोर नउठाउने आफ्नो निर्णयको बचाउ गर्दै संघीय सरकारका १४ वटा मन्त्रालयले आफूलाई के के काममा असहयोग गरे भनेर फेहरिस्त सार्वजनिक गरेका थिए। उनले उठाएका बहुसंख्यक विषय उनको कार्यक्षेत्रभित्रका थिएनन्। एक नागरिक र मेयरका रूपमा त्यसमा उनको सरोकार हुनसक्छ, उनले त्यसमा बोल्न र सुझाव दिन पनि पाउँछन्, तर आफ्नो जिम्मेवारी नै नभएको विषयमा अरूले सहयोग गरेनन् भनेर प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर उठाउनबाट रोक्न पाउँदैनन्।
मेयरले सहयोग गरेनन् भनेर संघीय सरकारले पनि काठमाडौं महानगरपालिकामा जाने बजेट रोक्ने वा कर्मचारी नपठाउने काम जसरी अकल्पनीय र गैरजिम्मेवार हो, महानगरले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने कुरा त्यति नै अकल्पनीय र गैरजिम्मेवार हो।
बालेन शाहले आफ्नो कार्यकालमा यस्तै अकल्पनीय काम गरेका थिए।
बालेनले भनेजस्तो मुलुकका समस्या छुमन्तर गरेर समाधान हुने भए र ठिक मनसुबाले मात्र सबै कुरा ठिक हुने भए काठमाडौं महानगरले आफै समाधान गर्न मिल्ने कैयन समस्या आज किन ज्युँका त्युँ छन्? के बालेनले पछिल्लो तीन वर्षमा काठमाडौं महानगरले गर्न मिल्ने सबै काम फत्ते गरेर राजीनामा दिएका हुन् र?
अब बालेनले काठमाडौंको टुकुचा खोला उत्खननमा देखाएको तुजुकको कुरा गरौं।
काठमाडौं महानगरपालिकाले उनकै कार्यकालमा हात्तीसारको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मका घर घरमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बज शैलीको सुरूङभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गरेको थियो।
नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन। यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्किन्छ। यसबीचको करिब ५ सय मिटर खण्डमा टुकुचा जमिनमुनि बग्छ।
बालेनले टुकुचाको यो भूमिगत खण्ड उत्खनन गर्दा यहाँ भूमि माफियाहरूले खुला पुरेर भौतिक संरचना खडा गरे भन्ने न्यारेटिभ बनाए। त्यही न्यारेटिभका आधारमा उनले कानुन अनुसार जग्गा किनेका र महानगरबाटै नक्सा पास गरेर बनाइएका घरमाथि पनि गैरकानुनी डोजर चलाए। बालेनको उक्त कदमलाई सर्वोच्च अदालतले नै गैरकानुनी भन्दै रोक लगाएको थियो।
त्यति बेला बालेनले रितपूर्वक बसोबास गरेकाहरूको घरमा डोजर चलाउने दुस्साहस मात्र गरेनन्, उनले काठमाडौं सहरको एउटा ऐतिहासिक तथ्य नजरअन्दाज गरे।
टुकुचाको यो भूमिगत खण्ड कुनै भूमाफियाले बनाएको होइन। कुनै व्यक्ति वा समूहले यस्तो गुम्बज शैलीको सुरूङ खनेर त्यसमा खोला बगाउने काम गर्नै सक्दैन। राज्यको संलग्नता पनि यो सम्भवै छैन। यति सानो कुरा पनि बालेनले स्वीकार गरेनन् वा गर्न चाहेनन्।
टुकुचा खोलाको त्यो भूमिगत खण्डको ऐतिहासिक यथार्थ के हो भने, त्यो बिक्रम सम्बत् १९४९ मा राणा प्रधानमन्त्री वीर शमशेरले बनाउन लगाएका हुन्।
वीर शमशेरले टुकुचा खोलालाई जमिनमुनि बगाएर त्यसमाथि पटांगिनी अर्थात् खुला चउर बनाएका थिए। करिब ५ सय मिटर लामो सुरूङ संरचनाको डिजाइन र निर्माण तत्कालीन इन्जिनियर जोगवीर स्थापितले गरेका थिए।
यसरी राणाकालमा बनेको पुरातात्त्विक संरचना खोतल्न वा भत्काउन पुरातत्व ऐनले पनि रोक लगाउँछ। बालेनले आफ्नो शक्तिको तुजुक देखाउन यो कानुनको धज्जी उडाए।
यति मात्र होइन, उनले टुकुचाको सुरूङ भत्काएर खोला खुला गर्ने र त्यस वरिपरि पार्क बनाउने तिलस्मी योजना पनि बेचे।
उनको त्यो योजना कार्यान्वयन गर्न कम्तिमा ५० वटा घर भत्काउनुपर्थ्यो, जसको लागत लागत निकै ठूलो थियो। महानगरले नै ६ अर्ब रूपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको थियो।
टुकुचामा बालेनले निरर्थक तुजुक देखाएका हुन् भनेर हामी यस कारण पनि भन्न सक्छौं, किनभने उनले आफ्नो कार्यकालमा बागमती, विष्णुमती, धोबीखोला लगायत नदीखोलाको सरसफाइ र तिनलाई ढलबाट मुक्त गर्ने काम कहिल्यै गरेनन्। विगतमा बागमती नदी सरसफाइको जुन योजना काठमाडौंले सुन्दै आयो, त्यसलाई कार्यान्वयन गर्छु भनेर पनि बालेनले कहिल्यै भनेनन्।
टुकुचा पुनर्स्थापना नै गर्ने अभिप्राय थियो भने पनि करिब ६ किलोमिटरको खोल्सामा साढे ५ किलोमिटर त खुला छँदैछ। भूमिगत सुरूङ खोतल्न छाडेर जहाँ जहाँ सम्भव छ, त्यहाँ त्यहाँको पानी सरसफाइ गर्न सकिन्थ्यो। हात्तीसार क्षेत्र छाडेर सम्भव भएका बाँकी ठाउँमा पार्क बनाउने र त्यो नौका विहार गराउने उनको योजना कार्यान्वयन गर्न सकिन्थ्यो।
ती ठाउँमा काम गरेर देखाएपछि र त्यहाँ कलकल पानी बगाइसकेपछि बल्ल महानगरले सबैको विश्वास जित्न सक्थ्यो।
तर गर्न सकिने वा गर्नुपर्ने नदीखोला पुनर्स्थापनाका तमाम काम थाती राखेर बालेन एकोहोरो टुकुचाको त्यही ५ सय मिटर खण्ड खाली गराउने ढिपीमा लागिरहे। तबसम्म लागिरहे, जबसम्म सर्वोच्च अदालतले नै उनलाई रोक लगाइदिएन।
हात्तीसारमा मात्र होइन, उनले काठमाडौंका थुप्रै ठाउँमा राज्यले र महानगरले नै स्वीकृति दिएर बनाएका घर बिना क्षतिपूर्ति र ती घरधनीहरूसँग बिना सहमति भत्काएका गिए। कसैले बसोबास गरिरहेको वा व्यवसाय गरिरहेको ठाउँमा डोजर चलाउनुअघि उनले कानुनी रूपमा अपिल गर्ने मौका पनि दिएनन्।
बालेन शाहको तुजुकको पराकाष्ठा त त्यति बेला झल्कियो, जब उनले आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सामाजिक सञ्जालमा 'सिंहदरबार जलाउने' धम्की दिए।
यो घटना २०८० भदौ १६ गतेको हो। शनिबारको दिन थियो। राति ९ बजेतिर ललितपुरको बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा हुइँकिएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले रोके।
ती ट्राफिक प्रहरीले 'बिदाको दिन सरकारी गाडी चलाउने अनुमतिपत्र बोक्नुभएको छ?' भन्दै सोधखोज गरे।
त्यस क्रममा सरकारी नम्बर प्लेटको गाडीमा काठमाडौंका मेयर बालेन शाहकी श्रीमती सवार छिन् भन्ने थाहा पाएपछि ट्राफिकले गाडी जान दिए। बिदाको दिन गुडिरहेको सरकारी गाडीको नम्बरसमेत टिपिएन।
त्यसैको झोँकमा बालेनले त्यसै रात सामाजिक सञ्जालमा आफ्नो रिस पोखे, 'आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख् चोर सरकार!'
फर्केर हेर्ने हो भने, सिंहदरबार जलाइदिन्छु वा सिंहदरबार पनि जलाउन सकिन्छ भन्ने विचारको बीउ आम मानिसको मस्तिष्कमा रोपिएको त्यही बेला हो।
यसरी आफ्नी पत्नी चढेको गाडी रोकिएपछि बालेनले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। र, काठमाडौं महानगरपालिकाको गाडी जाँच गर्नुको कारण सोधखोज गरेका थिए।
उक्त घटनामा काठमाडौं महानगरको गाडीलाई सडकमा कसैले रोक्नै हुँदैन भन्ने मनसाय राख्नु आफैमा तुजुकको पराकाष्ठा हो। सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई सबै गाडी रोकेर सोधपुछ गर्ने हक हुन्छ। यदि सर्वसाधारणका गाडी रोकिन्छन्, बिदाको दिन गुडिरहेका सरकारी नम्बर प्लेटका अरू गाडी रोकिन्छन् भने काठमाडौं महानगरका गाडीलाई छुट दिनुपर्ने कुनै कारण छैन।
यस्तोमा जिम्मेवार जनप्रतिनिधिका हैसियतमा बालेनले माफी माग्नु त परै जाओस्, उल्टै सरकारलाई 'चोर' भन्ने र सिंहदरबार जलाइदिन्छु भनी धम्की दिने दुस्साहस गरे।
आफ्नी श्रीमती चढेको गाडी ट्राफिक जाँचमा पर्यो भन्दैमा सिंहदरबार नै जलाइदिन्छु भन्ने यस्तो बहुलठ्ठी अभिव्यक्ति कसले दिन्छ?
कस्तो मानसिकताको व्यक्तिले दिन्छ?
यस्तो अभिव्यक्ति दिने व्यक्तिको दिमागमा शक्तिको कति ठूलो तुजुक सवार थियो भन्ने यसै छर्लंग हुँदैन र?
बालेनको तुजुक र आफूबाहेक अरू कसैले नगन्ने बानीको सबभन्दा पछिल्लो उदाहरण गत मंसिर महिना देखिएको थियो, जब प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग सामूहिक कुराकानी गर्न बालुवाटार डाकेकी थिइन्। उक्त छलफलमा बालेन सहभागी भएनन्।
यति मात्र होइन, उपत्यकाका समस्या सामूहिक छलफलबाट समाधान गर्न र एकअर्काका अनुभव आदानप्रदान गर्न गठन गरिएको 'मेयर फोरम' का बैठकहरूमा पनि बालेन आफ्नो कार्यकालभरि जम्मा तीन पटक सहभागी भए। एउटा बैठक त बीचैमा छाडेर निस्केका थिए।
भन्नुको मतलब, उनले आफ्नो कार्यकालमा उपत्यकाका अन्य स्थानीय तह प्रमुखहरू खासै सरसल्लाह र सहकार्य गरेनन्। जबकि, काठमाडौंका कतिपय समस्या उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्य बिना हल गर्न सम्भवै छैन।
यसरी काठमाडौंको मेयरका रूपमा तीन वर्षको कार्यकाल केलाउने हो भने आफूले देखेको, ठानेको सबै ठिक र अरूले सोचेको, भनेको सबै गलत; अनि म ठिक अरू सबै गलत भन्ने मनोवृत्तिबाट बालेन शाह ग्रसित देखिन्छन्।
कुनै पनि नेतामा साहस र इमान हुनुपर्छ, जुन बालेनमा छ। तर नेतामा साहस र इमानबाहेक अरू पनि धेरै कुरा हुनुपर्छ।
नेतामा साहस र इमान सँगसँगै सहिष्णुता, समभाव र न्यायिक विवेक पनि हुनुपर्छ।
बालेनले जनकपुरको पहिलो राजनीतिक सम्बोधनको सुरूमा आफूलाई हेर्न र सुन्न आतुर दर्शकतिर 'फ्लाइङ किस' उछाल्दै आफ्नो अनौपचारिक र्यापर शैलीको झलक दिएका थिए।
यो त्यही शैली हो, जसको युवा पुस्ता 'फ्यान' छन्। यही शैलीले उनी युवाहरूको मनमा बसेका छन्, ढुकढुकी बनेका छन्।
उनको लोकप्रियताको झलक जनकपुरको कार्यक्रममा मात्र होइन, झापा–५ मा मनोनयन पत्र दर्ता गर्न जाँदा पनि देखियो।
उर्लिएको भिडका बीचमा आफ्नो चिरपरिचित शैलीमा कसैलाई 'बाल' नदिई फटाफट हिँडेको देखिएका बालेनले त्यसको भोलिपल्ट झापाका मतदातासम्म छलफल गरे, फोटो खिचाए।
युवाहरू उनीसँग हात मिलाउन, फोटो खिचाउन, उनका कुरा सुन्न र उनलाई आफ्ना कुरा सुनाउन लालायीत देखिएका छन्। एक जना वृद्धले त बालेनलाई मायाको 'चुम्बन' पनि दिए।
उनीप्रति देखिएको अहिलेको राजनीतिक आकर्षणले रास्वपालाई सत्तामा पुर्याउँछ कि पुर्याउँदैन र उनलाई प्रधानमन्त्री बनाउँछ कि बनाउँदैन, त्यो निर्वाचनपछि नै थाहा हुनेछ।
त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हो — चुनावपछि बालेन कस्तो नेता बन्छन्?
उनी हिजोजस्तै साहस, दुस्साहस, घमन्ड र अति आत्मविश्वासमा सवार भएर एकल रूपमा अगाडि बढ्छन् कि, साहस र इमान सँगसँगै आफ्नो स्वभावमा सहिष्णुता, समभाव र न्यायिक विवेक पनि ल्याउँछन्?
केन्द्रीय राजनीतिमा आफ्ना प्रतिपक्ष र अरू राजनीतिक दलहरूसँग चाहिने संवाद, सहकार्य र सम्झौताको विनयशील मार्गमा हिँड्छन् कि हिँड्दैनन्?
उनको राजनीतिक भविष्य यसले नै तय गर्नेछ।
यो पनि पढ्नुहोस्:
***