रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्न लागेको क्रेमलिनलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
ट्रम्पको बेइजिङ भ्रमणलाई पुटिनले नजिकबाट हेरेको पनि क्रेमलिनले जनाएको छ।
'मंगलबारदेखि सुरू हुने दुई दिने भ्रमणमा राष्ट्रपति पुटिनले सीसँग प्रमुख मुद्दाहरूमा छलफल गर्नुहुनेछ,' क्रेमलिनले भनेको छ।
ट्रम्प बेइजिङ जानुअघि नै पुटिनको चीन भ्रमणबारे कुराकानी भएको थियो। मितिमात्रै शनिबार तय भएको हो।
क्रेमलिनका प्रवक्ता दिमित्रि पेश्कोभले पुटिनको भ्रमण अमेरिकी राष्ट्रपतिको चीन भ्रमण र त्यसक्रममा आदान प्रदान भएका विचारहरु साझा गर्ने राम्रो अवसर हुने बताए।
बेइजिङमा दुई देशका प्रमुखहरूले धेरै द्विपक्षीय अन्तरसरकारी, अन्तरविभागीय र अन्य सम्झौताहरू सहित संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको क्रेमलिनको विज्ञप्तीमा उल्लेख छ।
ट्रम्पको चीन भ्रमण शुक्रबार सकिएको थियो।
भ्रमणमा अमेरिका–चीन व्यापार, ताइवान र सुरक्षा सम्बन्धी विषयमा छलफल भए पनि कुनै ठूलो घोषणा सार्वजनिक भएको छैन। पुटिनले यसअघि ट्रम्पको चीन भ्रमणबारे बोल्दै अमेरिका र चीनबीच अवैध प्रतिबन्ध वा आर्थिक तनाव बढ्ने अवस्था नआओस् भन्ने अपेक्षा व्यक्त गरेका थिए।
युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग गम्भीर टकरावमा रहेको रुसका लागि चीन अहिले सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदारमध्ये एक बनेको छ।
चीनले रुसको कुल आयातको एक तिहाइभन्दा बढी वस्तु आपूर्ति गर्छ भने रुसको निर्यातको चौथाइभन्दा बढी हिस्सा किन्ने गर्छ। तर चीनको कुल अन्तर्राष्ट्रिय व्यापारमा रुसको हिस्सा भने करिब ४ प्रतिशत मात्रै रहेको छ।
यद्यपि युक्रेन युद्ध र हाल इरान युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला रुसको ऊर्जा स्रोत चीनका लागि थप महत्वपूर्ण बन्दै गएको विश्लेषण गरिएको छ। इरान युद्धपछि विश्व बजारमा तेल र प्राकृतिक ग्यास आपूर्तिमा दबाब बढ्दा मस्कोलाई बेइजिङको भरपर्दो ऊर्जा साझेदारका रूपमा हेरिएको छ।
पछिल्ला वर्षहरूमा रुसले साइबेरियाबाट मङ्गोलियामार्फत चीनसम्म ग्यास पुर्याउने नयाँ पाइपलाइन परियोजनामा सहमति गर्न बेइजिङलाई दबाब दिँदै आएको छ। तर चीनले एउटै आपूर्तिकर्तामा अत्यधिक निर्भर हुने जोखिमका कारण यसमा सावधानी अपनाउँदै आएको छ।
मस्कोमा मे ९ को विजय दिवस समारोहपछि पुटिनले रुस र चीन तेल तथा ग्यास सहकार्यमा महत्वपूर्ण कदम चाल्ने सहमतिनजिक पुगेको बताएका थिए।
'यदि भ्रमणका क्रममा त्यसलाई अन्तिम रूप दिन सकियो भने म निकै खुसी हुनेछु,' उनले भनेका थिए।