काठमाडौं निर्वाचन क्षेत्र शृंखला
शिवपुरीधारा–बागद्वारा–सुन्दरीजल काठमाडौंको मुहान क्षेत्र हो।
आधा काठमाडौंको खानेपानी माग धान्ने यो क्षेत्र समेत रहेको काठमाडौं–३ मा अहिले चुनावी सरगर्मी बढेको छ। र, परीक्षा दिइरहेका छन् — २२ उम्मेदवार।
यही पंक्तिमा छन्, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ।
घिसिङ सहित नेकपा एमालेका नेता रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहरा (सुन्दरराम) लगायत विभिन्न दलबाट १६ जना यो अग्निपरीक्षामा सामेल छन्। ६ जना स्वतन्त्र उम्मेदवार छन्।
यसमध्ये केही दलका डमी उम्मेदवार पनि हुन्। निर्वाचन आचारसंहिता छल्न र बुथ प्रतिनिधिका रूपमा संख्या बढाउन दलहरूले निर्वाचनैपिच्छे यस्ता उम्मेदवार खडा गरेका हुन्छन्।
६४ हजार ४७९ मतदाता रहेको यो उत्तरपूर्वी काठमाडौं भूगोलका हिसाबले सानो निर्वाचन क्षेत्र हो, जहाँ १३ वटा वडा मात्र छन्।
कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १ (गागलफेदी), २ (आलापोट), ३ (भद्रबास र डाँछीका केही भाग); गोकर्णेश्वर नगरपालिकाको वडा १ (सुन्दरीजल), २ (नयाँपाटी), ३ (बालुवा), ४ (गोकर्ण), ५ (जोरपाटी चोक), ६ (नयाँ बस्ती), ७ (दक्षिणढोका), ८ (आत्तरखेल), ९ (आरूबारी) र काठमाडौं महानगरपालिकाका ६ नम्बर वडा यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।
यस निर्वाचन क्षेत्रभित्र ठूलो मताधार जोरपाटी र बौद्ध क्षेत्रमै छ। त्यसमध्ये काठमाडौं–६, गोकर्णेश्वर–६, ५ र ८ नम्बर वडामा बढी मतदाता छन्। यही क्षेत्रका मतदाता निर्णायक बन्ने गरेका छन्।
काठमाडौं–३ सँग काठमाडौं–२ कै समान विशेषता छन् — यहाँ पनि निर्वाचनैपिच्छे सांसद फेरिने गरेका छन्।
हुन त २०५१ सालसम्म काठमाडौं–२ र काठमाडौं–३ एउटै निर्वाचन क्षेत्र थियो। त्यति बेलाको १ नम्बर निर्वाचन क्षेत्र २०५६ बाट फेरिएको हो। त्यसपछि यो क्षेत्र नम्बर २ बन्यो।
२०६४ सालको संविधानसभा निर्वाचनपछि फेरि क्षेत्र फेरफेर भए। एक नम्बर क्षेत्र दुई बन्यो, दुई नम्बर क्षेत्र तीनमा रूपान्तरित भयो।
२०५६ सालपछि काठमाडौं–२ मा रूपान्तरित काठमाडौं–३ बाट फरक फरक निर्वाचनमा विद्यादेवी भण्डारी, चक्रबहादुर ठकुरी, रामेश्वर फुयाल, कृष्णबहादुर राई र सन्तोष चालिसे सांसद निर्वाचित भए।
२०५६ मा कांग्रेसकी अम्बिका बस्नेतलाई हराउँदै भण्डारी निर्वाचित भइन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका रामेश्वर फुयाललाई हराउँदै कांग्रेसका चक्रबहादुर ठकरी सभासद भए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ठकुरीलाई हराउँदै एमालेका फुयाल निर्वाचित भए।
२०७४ को निर्वाचनमा एमालेकै कृष्णबहादुर राई र २०७९ मा कांग्रेसका सन्तोष चालिसे विजयी भए।
मताधारका हिसाबले यो निर्वाचन क्षेत्र पुराना राजनीतिक शक्तिहरू कांग्रेस–एमालेकै प्रभाव क्षेत्रका रूपमा परिचित थियो। अझ वामपन्थी प्रभाव क्षेत्रकै रूपमा काठमाडौं–३ लाई लिने गरिन्थ्यो। गत निर्वाचनमा एमाले विभाजित भएको र कांग्रेस–माओवादी केन्द्र गठबन्धनका कारण त्यो प्रभाव खण्डित भएको थियो।
यसरी परम्परागत राजनीतिक शक्ति बलियो भएको ठाउँमा अहिले नवोदित पार्टी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ परीक्षा दिइरहेका छन्।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदादेखि नै घिसिङ आम नागरिकबीच लोकप्रिय थिए। लोडसेडिङ अन्त्य, विद्युत चुहावट नियन्त्रणजस्ता व्यवस्थापकीय कुशलताका कारण उनी राम्रो काम गर्न सक्छन् भन्ने अनुभूति नागरिकमा छँदै थियो।
यही छविमार्फत् राजनीतिमा पदार्पण गरेका घिसिङ यसबीच ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री समेत भए।
राजनीति गर्नकै लागि मन्त्रीबाट राजीनामा दिएर काठमाडौं–३ को उम्मेदवार बनेका घिसिङलाई यहाँ केही समुदायगत लाभ पनि छ। तामाङ समुदायबाट उनीजत्तिकै छाप छाड्न सक्ने उच्च राजनीतिज्ञ, पार्टी प्रमुख अरू छैनन्।
काठमाडौं महानगरपालिका–६ अन्तर्गत बौद्ध–रामहिटी–नयाँ बस्ती, कागेश्वरी मनोहरा नगरपालिका–१ (गागल), गोकर्णेश्वर नगरपालिका–१ (सुन्दरीजल), गोकर्णेश्वर–३ (बालुवा), गोकर्णेश्वर–६ मा समेत तामाङ, लामा, शेर्पा समुदायको उल्लेख्य बसोबास छ।
काठमाडौं–३ मा ५ हजार ५०० भन्दा बढी लामा, ५ हजारभन्दा बढी तामाङ, २ हजार ५०० हाराहारी शेर्पा मतदाता छन्। यी समुदायबाट उल्लेख्य रूपमा कुलमान घिसिङले मत तान्ने आकलन गरिएको छ।
हुन त आदिवासी जनजाति समूहबाट घिसिङ एक्ला उम्मेदवार होइनन्।
नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं–३ बाटै निरज लामालाई उम्मेदवार बनाएको छ। उनी पनि यहाँका रैथाने अनुहार हुन्। सामुदायिक प्रभाव उनको पनि राम्रो छ। तथापि भोट बाँडिने सम्भावना भने कमै देखेका छन्, स्थानीयले।
एमालेले उम्मेदवार बनाएका रामेश्वर फुयाल २०६४ देखि नै यस क्षेत्रमा निरन्तर उम्मेदवार छन्। झन्डै १४ वर्ष पार्टीको काठमाडौं प्रमुख, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो र गत महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित फुयालको यो पाँचौं चुनाव हो।
यही क्षेत्रबाट उनी पहिलो र दोस्रो संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए।
२०७४ र २०७९ मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले फेरि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। यसअघि चार पटक चुनावी प्रतिस्पर्धामा रहेका फुयाल दुई पटक निर्वाचित भएका छन् भने दुई पटक पराजय व्यहोरेका छन्।
२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका फुयाल आलापोटका रैथाने हुन्। उनी साविक आलापोट गाविसको दुई पटक (२०४९ र २०५४) निर्वाचित गाविस अध्यक्ष समेत हुन्। २०५४ सालमा उनी काठमाडौं जिल्ला विकास समितिका उपसभापति बनेका थिए।
विकास–निर्माणमा चासो राख्ने, अगुवाइ गर्ने लगायत गतिविधिले पूर्वोतर काँठमा उनको प्रभाव छ। कागेश्वरी धाम निर्माण, तारेभीर क्षेत्रमा पर्यटन प्रवर्द्धन लगायत विकास–निर्माणको काममा उनको पहलकदमी देखिन्छ।
तर बढी मताधार रहेको क्षेत्रमा उनको प्रभाव कमजोर बन्दै गएको विश्लेषण त्यहाँ हुने गरेको छ।
कांग्रेसका उम्मेदवार भने तुलनात्मक रूपमा 'लो प्रोफाइल' का हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर–६ का वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालमा मेयरका आकांक्षी उनले टिकट पाएनन्। कांग्रेसमा उनी महासमिति सदस्य थिए।
पछिल्लो समय यहाँ कांग्रेसको मताधार बलियो बन्दै गएको छ। १३ वटा वडामध्ये कांग्रेसले कागेश्वरी मनोहराको वडा नम्बर २, गोकर्णेश्वरको प्रमुखसहित ५, ८, ९ र काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा जितेको थियो।
एमालेले कागेश्वरी मनोहराको १, ३, गोकर्णेश्वरको उपप्रमुखसहित वडा नम्बर १, २, ३, ६, ७ नम्बर वडा जितेको थियो।
स्थानीय स्तरमा भिजेको उम्मेदवार भएकाले काठमाडौं–३ मा कांग्रेसले अहिले पनि सुरक्षित महसुस गरिरहेको छ।
रास्वपाले यस क्षेत्रबाट काठामाडौं महानगरपालिकाका पूर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ। काठमाडौं–३ का लागि उनी नयाँ अनुहार हुन्। उनी यहाँका विकास–निर्माण र जनअपेक्षासँग त्यति नजिक छैनन्। तथापि काठमाडौं महानगरपालिकामा छँदा फुटपाथ व्यवस्थापन, अतिक्रमित ठाउँहरू खाली गर्ने लगायत क्रियाकलापले उनी अपरिचित अनुहार नरहेको रास्वपाको बुझाइ छ।
झापा–५ बाट उम्मेदवार बनेका बालेनकै लोकप्रियताको आडमा मत बटुल्ने पाण्डेको ध्येय देखिन्छ। काठमाडौं–३ बारे आफ्नो प्रतिबद्धता, चुनावी घोषणा भने उनले सार्वजनिक गरिसकेका छैनन्।
आधा काठमाडौंलाई पानी खुवाउने क्षेत्र भए पनि काठमाडौं–३ मा खानेपानीको समस्या छ। त्यही बाटो भएर खानेपानी सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर–४, ९, ६ वडामा खानेपानीको चर्को समस्या छ। ढल, सडक सञ्जाल, फोहोर व्यवस्थापन पुरानै समस्या भइहाले।
त्यसबाहेक गोकर्णेश्वर–१ सुन्दरीजलमा वन्यजन्तुको समस्या छ। शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जीवजन्तु आएर बालीनाली खाइदिने समस्या उहिलेदेखि विद्यमान छ।
'जीवजन्तुबाट बालीनाली जोगाउने उपाय पत्ता लगाउनुको सट्टा बस्ती नै उठिवास लगाउने योजना ल्याउँछन्,' गोकर्णेश्वर–१ चिलाउनेकी स्थानीय अस्मिता पोखरेलले सेतोपाटीसँग भनिन्, 'यहाँ यस्तो समस्या छ। हामीलाई त काठमाडौंवासी भन्न पनि लाज लाग्छ।'
मध्यवर्ती क्षेत्रको चिलौने गाउँभन्दा माथि अर्को पनि गाउँ छ, जसलाई स्थानीय कोने भन्छन्। उहिले सुन्दरीजल, नयाँपाटीवासीको चरिचरन उक्त गाउँमा अहिले बाक्लो आवादी छ। फराकिला बारीका पाटा छन्। तर उत्पादन शून्य। एक याम कोदो, मुला फल्छ। त्यो पनि शिवपुरीबाट झरेका बँदेल, दुम्सी लगायत जीवजन्तुले खाइदिन्छन्। स्थानीयले आयस्ता उठाउनै पाउँदैनन्।
कच्ची सडक त पुगेको छ। तर गाउँमा माध्यमिक तहको विद्यालय पनि छैन। साविक सुन्दरीजल गाविस छँदा कायम रहेका तीन गाउँका बालबालिका कक्षा १० सम्म पढ्न आउनजान गरी चार घन्टा लाग्ने दूरीमा रहेको सुन्दरीजलको ओख्रेनी स्कुल झर्छन्। यसले उक्त भेगमा पढाइ छाड्ने दर उच्च छ।
अहिले ओख्रेनी स्कुलले चिलाउनेसम्मका लागि स्कुल बसको प्रबन्ध गरेको छ। तर बाटो कच्ची भएकाले बर्खा याममा बस चल्दैन। विद्यार्थीहरू हिँडेरै स्कुल आउजाउ गर्छन्।
'मध्यवर्ती क्षेत्रको समस्या छँदैछ, निकुञ्ज प्रशासनले दुःख पनि उस्तै छ। तर चुनावमा उम्मेदवार बनेकाहरूलाई यी कुरा थाहा हुँदैन,' स्थानीय अस्मिता पोखरेल भन्दै थिइन्।
चारैतिर हरियाली रहेको यो क्षेत्रमा स–साना छाँगामा पनि आन्तरिक पर्यटक झुत्तिने गरेका छन्। तर उनीहरूलाई बारम्बार चिलाउने फर्कन प्रेरित गर्ने किसिमको पूर्वाधार छैन। सडक स्तरोन्नति गरेर होटल, लज, घरवास सुविधा सहितको पूर्वाधार बनाउने हो भने पर्यटक फर्काउन सकिने स्थानीयको बुझाइ छ।
यसका लागि उनीहरूले स्थानीय तह, प्रदेश र संघ सरकारलाई समेत नगुहारेका होइनन्। तर कतैबाट सुनुवाइ नभएको अस्मिताले बताइन्।
निकुञ्ज भएर गाउँ ओहोरदोहोर गर्नुपर्छ। स्थानीयहरू निर्वाध नै ओहोरदोहोर गर्न पाउँछन्। तर पाहुनाहरूलाई त्यो सुविधा छैन। अवरोध झेल्नुपर्छ। उस्तै परे प्रतिव्यक्ति सय रूपैयाँ दस्तुत बुझाउनुपर्छ। कहिले जाँचकीहरू परिवर्तन हुँदा स्थानीयले पनि सास्ती झेल्नुपर्ने अस्मिताको भनाइ छ।
'हामीले यो समस्या पनि जितेर जाने प्रतिनिधिलाई सुनाएका छौं। कहिलेकाहीँ सदनमा पनि कुरा उठ्छ। तर समस्या ज्युँका त्युँ,' उनले दुखेसो पोखिन्।
आगामी चुनावमा यी र यस्तै समस्या पन्छाउने प्रतिबद्धता जनाउने र समाधान गर्ने भरोसा दिलाउनेलाई मत हाल्ने उनीहरूको भनाइ छ।
यो पनि पढ्नुहोस्: