मधेस प्रदेशको राजधानी सहर हो — जनकपुरधाम।
जनकपुरधाम उपमहानगरपालिकाको आधा भूभाग धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। तर मधेस प्रदेशको यही केन्द्रमा यसपटक मधेसवादी दलहरूको चुनावी चर्चा मुर्झाएको अवस्थामा छ।
२०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोलाई जिताएर पठाएको यो क्षेत्रमा २०७९ मा नेकपा एमालेकी जुलीकुमारी महतोले जितेकी थिइन्।
२०७४ मा धनुषा–३ बाट राजपाका राजेन्द्र महतो ३० हजार ७५० मतसहित विजेता बन्दा कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८४७ मत मात्र पाएका थिए। त्यस बेला एमालेले अघोषित रूपमा महतोलाई सघाएको थियो।
त्यस्तै, २०७९ को निर्वाचनमा एमालेकी जुलीकुमारी महतो ३३ हजार ३८८ मत ल्याएर विजेता बन्दा लोसपाका अनिलकुमार झा २३ हजार ६८६ मत पाएर दोस्रो बनेका थिए। जनमत पार्टीका शम्भुनाथ साह ७ हजार ३७४ मतसहित तेस्रो भएका थिए।
२०७९ मा अनिल र शम्भुनाथले पाएको मतले देखाउँछ — तीन वर्ष अघिको चुनावसम्म धनुषा–३ मा मधेसवादी दलहरू टक्कर दिनसक्ने अवस्थामै थिए।
फागुन २१ को निर्वाचनका सन्दर्भमा भने यो क्षेत्रमा मधेसवादी दलहरूको चर्चा पूरै सेलाएको अवस्था छ।
धनुषा–३ मा यसपटक मुख्य प्रतिस्पर्धा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने चर्चा छ।
मधेस प्रदेशको केन्द्रमै मधेसवादी दलहरू यसरी रक्षात्मक अवस्थामा किन र कसरी पुगे? हामीले यसबारे नागरिक आन्दोलनका एक जना अभियानी अनुभव अजितसँग कुराकानी गरेका छौं।
लामो समयदेखि मधेससहित विभिन्न प्रदेशमा संघीयता कार्यान्वयनको अध्ययन गरिरहेका अनुसन्धाता उनी एक वर्षभन्दा बढी समयदेखि जनकपुरमै बसेर 'रिसर्च' गरिरहेका छन्।
उनका अनुसार मधेसमा यसपटक मधेसवादी दलहरूको चुनावी चर्चा सेलाउनुका केही कारण छन्।
'पहिलो कुरा त उनीहरू छिन्नभिन्न अवस्थामा पुगेर शक्ति क्षयीकरण भएको अवस्था छ,' उनले भने, 'मधेसवादी दलहरू जसरी छिन्नभिन्न भए, त्यसले जनतामा आशाभन्दा निराशा बढायो। सत्तामोहका अघि सबैजसो मधेसवादी दलहरू लोभिए तर डेलिभर केही गर्न सकेनन्। उनीहरू अवसरवादी हुन् भन्ने छाप सबैतिर फैलियो।'
त्यसबाहेक यसअघि गरेका वाचा अनुसार काम गर्न विफल बनेका मधेसवादी दलहरूले प्रदेश तहबाट गर्न सकिने काममा पनि राम्रो परिणाम दिएनन्।
'त्यस्तै नेतृत्वमा नयाँ र आशालाग्दो अनुहार आउनै सकेनन्, यसले पनि मधेसवादी दलहरूको साख गिराएको छ,' अजितले भने, 'यिनै कारणले मधेसको केन्द्रमै यसपटक मधेसवादी दलहरूको उत्साह खासै देखिन्न।'
मधेसको केन्द्रमै यसरी क्षेत्रीय दल मुर्झाएका बेला कांग्रेस, एमाले, रास्वपा सहितका दलहरूले भने धेरै जोडबल लगाइरहेको उनको भनाइ छ।
मधेसका ८ जिल्लामा कुल ३२ निर्वाचन क्षेत्र छ। देशभरकै सबभन्दा धेरै मतदाता मधेसमा छन्। त्यही भएर दलहरूले पनि मधेसलाई प्राथमिकतामा राखेका छन्।
कांग्रेस सभापति गगन थापा यसपटक भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर सर्लाही–४ बाट चुनावी परीक्षा दिँदैछन्। एमाले, नेकपा, रास्वपा लगायतका दलहरूले पनि दलका स्थापित र चर्चित अनुहारहरू मधेसमा उभ्याएका छन्। रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै पहिलो कार्यक्रम नै मधेसको जनकपुरबाट थालेको थियो।
२०७९ मा मधेसबाट सबभन्दा कम मत पाएको रास्वपा बालेन 'फ्याक्टर' का कारण मधेसमा बलियो हुने आशामा छ। अर्कातिर, सभापति स्वयं मधेस झरेपछि आफ्नो पुरानो विरासत फर्काउन सकिने विश्वासमा कांग्रेस छ।
पछिल्लो निर्वाचनमा पहिलेभन्दा उल्लेख्य नतिजा ल्याएर मधेशमा 'कमब्याक' गरेको एमाले पनि आफ्नो शक्ति बढ्ने अपेक्षामै छ।
चुनावी सफलताका लागि यसरी आ–आफ्नो दाउ लगाइरहेका दलहरूले धनुषा–३ लाई प्रतिष्ठाको विषय बनाएका छन्, जहाँ एमालेबाट यसअघिकी विजेता जुलीकुमारी महतो महासेठ नै उम्मेदवार बन्दा कांग्रेसबाट विमलेन्द्र निधि चुनावी मैदानमा छन्।
रास्वपाबाट प्रवक्ता मनिष झा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न यही क्षेत्रमा खडा भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट रामललित मण्डल, राप्रपाबाट हुसैन कवारी, जनता समाजवादी पार्टीबाट परमेश्वर साह सुडी, जनमत पार्टीबाट गोपालप्रसाद साह, नेपाल जनता पार्टीबाट अमरेन्द्रकुमार झा, श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, आम जनता पार्टीबाट प्रदीपविक्रम साहसहित कुल ४५ जना उम्मेदवार छन्।
उनीहरूमध्ये दलका उम्मेवार १६ जना र बाँकी स्वतन्त्र उम्मेदवार हुन्।
मुखियापट्टी मुसहरनिया गाउँपालिका, नगराईन नगरपालिका, धनौज गाउँपालिका, विदेह नगरपालिकाको वडा नम्बर ९ र जनकपुर उपमहानगरपालिकाका १–८, १०, १२, १५, १६, २० र २३, २४ र २५ वडाहरू रहेको धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन्।
२०७९ को निर्वाचनमा कांग्रेस नेता निधि प्रत्यक्ष चुनाव लडेनन्। उनी समानुपातिकबाट प्रतिनिधिसभा पुगेको त्यो निर्वाचनमा धनुषा–३ मा कांग्रेसले समानुपातिकतर्फ सबभन्दा धेरै मत पाएको थियो।
कांग्रेसले २५ हजार १९५ मत प्राप्त गर्दा एमालेले १७ हजार ८७४, जनमत पार्टीले ८ हजार ८२, जनता समाजवादी पार्टी नेपालले ५ हजार ३१७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ हजार ५२०, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २१९ र तराई मधेस लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ १ हजार २११ मत पाएका थिए।
निकट विगतको चुनावी गणितले पार्टीगत रूपमा कांग्रेसलाई र व्यक्तिगत रूपमा एमालेकी जुली महतोलाई बलियो देखाएको यो क्षेत्रमा यसपटक मुख्य प्रतिस्पर्धी ठानिएका तीन दलका उम्मेदवारहरूका आ–आफ्नै बलिया र कमजोर पक्ष छन्।
अनुसन्धाता अनुभव अजितका अनुसार यो क्षेत्रमा मात्र नभई देशव्यापी रूपमा बलियो रूपमा स्थापित हुनु, रैथाने हुनु र यसअघिका केही चुनावमा जित हात पार्नु कांग्रेस नेता निधिको सबभन्दा बलियो पक्ष हो।
'लामो पृष्ठभूमि, बलियो राजनीतिक इतिहास अनि क्षेत्रमा पनि सबैसँग उत्तिकै सम्बनधमा रहनु उनको बलियो पक्ष हो,' उनले भने, 'यसबाहेक पार्टी सभापति गगन थापा मधेस झर्दा त्यसले एकखालको 'वेभ' ल्याएको देखिन्छ। त्यो पनि उनको सबल पक्ष हो।'
तर विशेष महाधिवेशनका कारण कांग्रेसभित्र देखिएको संकट, निधि व्यक्तिगत रूपले तल्लो तहका कार्यकर्ताको सहज पहुँचमा नहुनु, सीमित घेराको रिपोर्टिङमा मात्र भर पर्ने कमजोरी उनका कमजोर पक्ष भएको अजितको भनाइ छ।
'यहाँ जातीय मतले पनि धेरै ठूलो भूमिका खेल्छ,' उनले भने, 'निधि कायस्थ हुन्। यो क्षेत्रमा कायस्थ मतदाताको संख्या कम छ।'
जुलीकुमारी महतोका लागि एमालेको बलियो संगठन र पछिल्लो चुनावको जित सबभन्दा बलियो पक्ष रहेको अजितको भनाइ छ।
त्यसबाहेक उनले व्यक्तिगत सक्रियताले क्षेत्रभरी बनाएको सम्बन्ध पनि जुलीको बलियो पक्ष हो।
'उनी आफै सुडी समुदायलाई प्रतिनिधित्व गर्ने नेता हुन्। यही समुदायको मत यहाँ सबभन्दा धेरै छ,' उनले भने, 'महिला उम्मेदवारका रूपमा पनि जुलीले महिला मत तान्ने सम्भावना धेरै छ।'
चुनाव लड्न चाहिने 'रिसोर्स' का लागि पनि उनी बलियो उम्मेदवार मानिन्छन्। यति बलियो पक्ष हुँदाहुँदै पनि उनका कमजोर पक्ष पनि उत्तिकै छन्।
पहिलो कुरा त, धनुषाको एमाले पंक्तिमा सधैं महतोका पतिपत्नीले एक–एक वटा क्षेत्र कब्जा गरेको असन्तोष छ। उनका पति रघुवीर महासेठ धनुषा–४ मा उम्मेदवार छन्।
'अवसर जति सधैं एकै परिवारलाई भन्ने असन्तोष एमालेभित्र ठूलै आकारमा देखिन्छ,' अजितले भने, 'त्यसबाहेक अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतले दिइरहने मधेसविरोधी अभिव्यक्तिको सबभन्दा ठूलो असर जुलीले भोगिरहेको देखिन्छ।'
ओली र बस्नेतले केही दिनअघि बालेन लक्षित अभिव्यक्ति दिएपछि विवादमा परेका थिए। उनीहरूका त्यस्ता अभिव्यक्तिले मधेसका सबै एमाले उम्मेदवारलाई नकारात्मक असर गरिरहेको अजितको भनाइ छ।
धनुषा–३ मा अर्का प्रतिस्पर्धी अनुहार मानिएका रास्वपा उम्मेदवार मनिष झाका लागि युवा र नयाँ उम्मेदवार हुनु सबभन्दा बलियो पक्ष भएको अजित बताउँछन्।
रास्वपाले जनकपुरबाट थालनी गरेको चुनावी अभियानमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतको सम्बोधनले रास्वपाको पक्षमा एक किसिमको लहर ल्याएको छ। झापा–५ बाट उम्मेदवारी दिएका बालेनलाई भावी प्रधानमन्त्री घोषणा गर्नुले पनि रास्वपा धेरैको आकर्षण केन्द्रमा छ। मनिष झालाई यसको लाभ हुन सक्छ।
'यसबाहेक सामाजिक सञ्जालदेखि तथ्यांकमा आधारित भएर रणनीति बनाउने उनको अभ्यासले पनि सहयोग नै गर्ला भन्ने लाग्छ,' अजितले भने, 'तर स्थानीय भए पनि स्थानीय स्तरमा कम चिनिनु र पार्टीको प्रभाव कमजोर रहनु उनका कमजोर पक्ष हुन्।'