नेकपा एमाले नेता अब्दुस मियाँले आइतबार एक अर्थपूर्ण तस्बिर फेसबुकमा पोस्ट गरे।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा खिचिएको उक्त तस्बिरमा सधैं अध्यक्ष ओली बस्ने आसनमा अब्दुस मियाँ बसेका छन्। त्यसको बायाँतर्फ अध्यक्ष ओली र मियाँका साथी छन्।
पहिलो पटक देखिएको आसन साटफेरबारे हामीले अब्दुस मियाँलाई नै सोध्यौं।
उनले अध्यक्ष ओलीकै चाहना अनुसार फोटो खिचाउने बेला कुर्सी परिवर्तन गरेको बताए।
'अध्यक्ष ओली बिरामी भएदेखि भेट र कुराकानी हुन पाएको थिएन। हिजो एक किसिमले सरप्राइजिङ भेटजस्तो थियो। हामी खबर नै नगरी गुन्डू पुगेका थियौं,' मियाँले सेतोपाटीसँग भने, 'उहाँसँग सामान्य कुराकानी भयो। भेटको अन्तिममा खिचाइएको तस्बिर हो त्यो।'
मियाँका अनुसार फोटो खिच्ने बेला ओलीले नै उनलाई आफ्नो कुर्सीमा बसाएका थिए।
'बाबु त्यो कुर्सीमा बस्ने, म यहाँ बस्छु भन्नुभयो। म आश्चर्यमा परेँ,' मियाँले सुनाए।
अध्यक्ष ओली भाषण र मन्तव्यमा पनि लाक्षणा र व्यञ्जना मिसाउँछन्। उनले तस्बिर खिचाउँदा पनि सन्देश नमिसाउने कुरै भएन।
'त्यो तस्बिरको ठूलो राजनीतिक अर्थ नहोला। अध्यक्ष ओली बस्ने आसनमा अरू पनि बस्न सक्छन्, खासगरी युवा बस्न सक्छन् भन्ने सामान्य अर्थमा बुझेँ मैले,' उनले भने।
नेकपा एमालेभित्र पछिल्लो समय नेतृत्व हस्तान्तरणको माग चर्को बनिरहेको छ। अध्यक्ष ओली निकट नेताहरू नै उनको विकल्पबारे बहस गर्न थालेका छन्। उनीहरूले सचिवालय बैठकको माग पनि गरिरहेका छन्।
यही बेला अध्यक्ष ओलीले फरक सन्देश दिने गरी तस्बिर खिचाएपछि एमाले वृत्तमा विभिन्न कोणबाट त्यसको चर्चा भइरहेको छ।
जेनजी आन्दोलन क्रममा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा गत चैत १३ गते अध्यक्ष ओली पक्राउ परेका थिए। चैत २६ गते उनी हाजिरी जमानीमा रिहा भए।
हिरासतमा रहँदा स्वास्थ्य जाँच क्रममा पित्तथैलीमा पत्थरी देखिएपछि उनको चैत ३० गते शल्यक्रिया गरिएको थियो। यसका साथै उनको हर्नियाको समेत शल्यक्रिया भएको थियो।
वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएयता उनी पार्टीका गतिविधिमा सक्रिय छैनन्। अध्यक्ष ओलीको स्वास्थ्यकै कारण पार्टीका गतिविधि प्रभावित भएको छ। चुनावी समीक्षासमेत हुन नसकेको अवस्थामा ओलीले आइतबारदेखि भेटघाट बढाएका छन्।
नेता मियाँका अनुसार आइतबार मात्रै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलसँग छलफल गरेका थिए।
'हामीले भेट्नुभन्दा अगाडि उपाध्यक्ष विष्णु पौडेल आउनुभएको भन्ने सुनेका थियौं। साँझ महासचिवले पनि समय लिनुभएको छ भन्ने थाहा पाएका थियौं। हिजो केही प्रदेश अध्यक्ष र अन्य नेतासँग पनि उहाँले भेट गर्नुभयो,' मियाँले भने।
उपाध्यक्ष विष्णु पौडेलले आइतबार स्वास्थ्य अवस्थाबाहेक खासै राजनीतिक कुराकानी नभएको बताए।
'स्वास्थ्य अवस्था मात्रै बुझ्ने काम भयो। त्यसबाहेक अरू राजनीतिक विषयमा कुराकानी भएन। बैठकबारे पनि कुराकानी भएन,' उनले भने।
पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले वामपन्थी शक्तिहरूको एकतामा जोड दिन थालेका छन्। लोकतन्त्र संकटमा पर्न थालेको, उपलब्धि गुम्ने खतरा बढेको भन्दै संविधान निर्माणका पक्षधर र विचार मिल्ने शक्तिहरूबीच एकता गर्नुपर्ने उनको तर्क छ।
अध्यक्ष ओलीको भित्री चाहना बुझेका एमाले नेताहरू दुई नेताले 'छापामार शैली' मा एकता गर्ने हुन् कि भनेर शंका व्यक्त गर्न थालेका छन्।