सरकारले वैशाख २१ को राजपत्रमा सूचना प्रकाशित गर्दै सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गरेपछि स्थानीयवासी आन्दोलित भएका छन्।
उनीहरूले छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै बरियारपट्टीमा बिहीबारयता दैनिक प्रदर्शन गरिरहेका छन्। यसले बरियारपट्टीको स्थिति तनावपूर्ण बनेको छ।
छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा ओर्लिएका स्थानीयले शुक्रबारबाट चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्। त्यसै क्रममा उनीहरूले बिहीबारयता हुलाकी सडक ठप्प पार्दै आएका छन्।
बरियारपट्टी–३ का वडाध्यक्ष विनोद यादवले छोटी भन्सार बन्द गरिएको विरोधमा आइतबार दिनभरि बरियारपट्टी बजार बन्द गरिएको जानकारी दिए।
आइतबारको विरोध कार्यक्रममा साथ दिन पत्रकार ऋषि धमला पनि त्यहाँ पुगेका थिए। स्थानीयको मागमा ऐक्यबद्धता जनाउन आफू त्यहाँ गएको धमलाले जानकारी दिए।
'छोटी भन्सार पुनर्स्थापना गर्नुपर्ने स्थानीयको मागमा समर्थन जनाउन म त्यहाँ पुगेको थिएँ,' धमलाले सेतोपाटीसँग भने, 'मैले अर्थ सचिव, भन्सार विभागका महानिर्देशकसँग पनि यसबारे कुरा गरेको छु।'
स्थानीयले सोमबारबाट अनिश्चितकालीन आमहड्तालको घोषणा समेत गरेका छन्।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीयको माग कार्यान्वयन भइसकेको दाबी गर्दै आन्दोलन जनताको अधिकार भएको टिप्पणी गरेका छन्।
'जिल्लाको मध्यभागमा भएकाले बरियारपट्टिमा भन्सार आवश्यक भए पनि आर्थिक दृष्टिबाट उपयोगी देखिँदैन,' उनले भने, 'स्थानीय आवश्यकता अनुसार माडार भन्सारमा कर्मचारी खटाएर कारोबार सुरू भइसकेको छ।'
प्रजिअ पौडेलका अनुसार सिरहामा माडार र ठाडीमा मुख्य भन्सार छन् भने बरियारपट्टीमा छोटी भन्सार थियो। स्थानीय प्रशासनले आवश्यकता अनुसार वैशाख २४ देखि नै माडार भन्सार नाकामा कर्मचारी खटाएको उनले बताए।