दाङको निर्वाचन क्षेत्र नम्बर २ पहिलेदेखि नै कम्युनिस्ट र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने ठाउँ हो।
तर त्योभन्दा पनि अर्कै एउटा कारणले यसपालि दाङ–२ चर्चामा छ।
चर्चाको कारण हो, एमाले महासचिव शंकर पोखरेलका प्रतिस्पर्धी उम्मेदवार।
२०५१ सालयता उनी जति पनि निर्वाचनमा उम्मेदवार बने, एउटै प्रतिस्पर्धीसँग दोहोरिएर भिड्नुपरेको छैन। बरू एकाघरका तीन दाजुभाइसँग तीन चुनावमा भिडेको अनुभव उनले संगालेका छन्।
यसपालि पोखरेलको प्रतिस्पर्धा नेपाली कांग्रेसका किरणकिशोर घिमिरेसँग हुँदैछ, जसका दुई जना सहोदर दाजु विगतमा उनका प्रतिस्पर्धी थिए। ती दुईमध्ये एक जनासँग उनले चुनाव हारेका छन् भने एक जनालाई हराएका छन्।
२०५६ सालको चुनावमा शंकरको प्रतिस्पर्धा किरणका जेठा दाजु कृष्णकिशोर घिमिरेसँग भएको थियो। उक्त चुनावमा कृष्णकिशोर विजयी भए।
कृष्णकिशोरले १९ हजार ७२ मत ल्याउँदा शंकरले ११ हजार ६४७ मत प्राप्त गरेका थिए।
त्यसको १८ वर्षपछि अर्का घिमिरेसँग लुम्बिनी प्रदेशसभाका लागि दाङ–२ को (२) नम्बर क्षेत्रमा शंकरको भेट भयो।
२०७४ सालको उक्त निर्वाचनमा नेकपा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। एमाले उम्मेदवार शंकरविरूद्ध कांग्रेसबाट किरणकिशोरका साइँला दाजु कमलकिशोर उठेका थिए।
शंकरले जेठा दाजुबाट हारेको बदला १८ वर्षपछि साइँलालाई हराएर लिए। उनले २० हजार ७२३ मत ल्याउँदा कांग्रेसका निकट प्रतिस्पर्धी कमलकिशोरले १९ हजार १७२ ल्याएका थिए।
यसपालिको चुनावमा कांग्रेसबाट कान्छा किरणकिशोर प्रतिस्पर्धी छन्। उनले अघिल्लो प्रदेशसभामा दाजुलाई हराएको बदला शंकरसँग लेलान् कि हारेर फर्केलान् भन्नेमा धेरैको चासो छ।
यी दुईको प्रतिस्पर्धाबीच कतै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्यले बाजी मार्ने त होइन भन्ने प्रश्नले पनि दाङ–२ को चुनावी चर्चा गर्माएको छ।
यी चुनावी चर्चाको निष्कर्ष त फागुन २१ को मतदानपछि नै देखिनेछ। अहिलेलाई हामी दाङ–२ का अघिल्ला चुनावमा कांग्रेस, एमाले, माओवादी र रास्वपाको स्थिति कस्तो थियो भन्ने हेरौं।
२०४८ सालपछिका चुनावमा यो क्षेत्रबाट कुनै दलको एकछत्र जित भएको छैन।
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो संसदीय निर्वाचनमा एमालेले जितेको यो क्षेत्र २०५१ र २०५६ को चुनाव कांग्रेसले जितेको थियो।
कांग्रेस–एमाले प्रतिस्पर्धाबीच २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीको 'इन्ट्री' भयो। दस वर्षको सशस्त्र विद्रोहबाट संसदीय राजनीतिमा आएको माओवादीकी दमाकुमारी शर्मा विजयी भइन्। उक्त निर्वाचनमा कांग्रेस दोस्रो भयो भने एमाले तेस्रो।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसकी सुशीला चौधरीले माओवादी उम्मेदवारलाई हराइन्।
त्यसपछि २०७३ सालमा साबिकको क्षेत्र नम्बर ३ का केही भाग गाभेर क्षेत्र नम्बर २ बनाइयो। यो क्षेत्रमा अहिले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन्। त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ नम्बर वडा पर्छन्।
२०७४ को चुनावमा माओवादी र एमालेको 'गठबन्धन' भयो। एमाले मतदाताको साथ पाएपछि माओवादीका कृष्णबहादुर महराले चुनाव जिते। त्यही बेला एमालेले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन प्रदेशसभामा उठाएको थियो। उनी विजयी भएर मुख्यमन्त्री पनि बने।
मुख्यमन्त्रीका रूपमा उनले दाङका लागि गरेको सबभन्दा ठूलो काम लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी इलाकामा सार्नु थियो।
विरोधका बाबजुद प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने चुनौती मोलेका पोखरेलले पाँच वर्षपछि प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ बाट उम्मेदवारी दिए। उनले राजधानी सारेको जस पाउने आस गरेका थिए। तर पाँच वर्षमा राजनीतिले कोल्टे फेरिसकेको थियो।
उक्त निर्वाचनमा माओवादी र कांग्रेस मिलेका थिए। पोखरेलविरूद्ध माओवादीकी रेखा शर्मा मैदानमा थिइन्। कुल १ लाख ३३ हजार ७४८ मतदाता भए पनि ७४ हजार ४९९ मत खसेका थिए।
दुई पटक मन्त्री भइसकेकी र संसदमा कानुन निर्माण गर्न माओवादीका अरू नेताभन्दा सक्रिय देखिएकी रेखा शर्माले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई हराइन्। पोखरेल जम्मा १९६ मतान्तरले पराजित भए।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले झन्डै १५ हजार भोट ल्याएका थिए।
समानुपातिकमा भने २३ हजार ५६८ मत ल्याएर एमाले पहिलो पार्टी बनेको थियो। दोस्रो भएको कांग्रेसले १९ हजार ५९१ मत ल्याउँदा चुनावको चार महिनाअघि मात्र खुलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १३ हजार ३३ मत ल्याएर तेस्रो बनेको थियो।
समानुपातिकमा माओवादी १० हजार ल्याएर चौथो र ३ हजार ९५ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं पार्टी बनेको थियो।
त्यसअघि २०७४ सालको चुनावमा पनि एमाले २२ हजार ८ सय मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको थियो। दोस्रो भएको कांग्रेसले २२ हजार ९२ मत पाएको थियो भने माओवादीले १७ हजार ५८४ मत ल्याएको थियो।
यसअघिको चुनावी परिणाम सर्सर्ती हेर्दा कांग्रेस र माओवादीका परम्परागत मत राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको देखिन्छ। त्यसमाथि नयाँ मतदाताको मत पनि आकर्षित गरेकाले ऊ तेस्रो भएको थियो।
यस्तो पृष्ठभूमि भएको दाङ–२ मा अहिलेको चुनावमा पनि प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
यो क्षेत्रमा कुल मतदाता १ लाख ४० हजार ९४६ छन्। अघिल्लो चुनावभन्दा ७ हजार २३६ नयाँ मतदाता थपिएका छन्। यसपालि कुनै पनि पार्टीको गठबन्धन छैन। कांग्रेस र माओवादीका आ-आफ्नै उम्मेदवार भएकाले पहिलेजस्तो अरू पार्टीको भोट तान्न पोखरेललाई सजिलो हुने छैन। त्यसमाथि जेनजी आन्दोलन बेला सरकारको नेतृत्वमा रहेको एमालेले युवा पुस्तालाई आकर्षित गर्न सकेको छैन। यी सबैको फाइदा रास्वपाले उठाउने देखिन्छ।
पोखरेलले भने यसपालि जनताले आफ्नो पक्षमा भोट दिने दाबी गरेका छन्।
केही दिनअघि उनले एक कार्यक्रममा भनेका थिए, 'दाङ माओवादी र कांग्रेस दुवैको प्रभाव क्षेत्र रहेको जिल्ला हो। यस्तो क्षेत्रमा ती दुवै पार्टीले गठबन्धन गर्दा पनि एमाले २ सयभन्दा कम मतान्तरले मात्र पराजित भएको थियो।'
उनले अगाडि भने, 'अहिले राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लडेको अवस्था छ। विगतमा शंकर पोखरेलले चुनाव हार्दा दाङले धेरै अवसर गुमायो भनेर दंगाली जनताबीच छलफलको विषय बनेको मैले अनुभव गरेको छु। त्यसैले यसपालि दंगाली जनता राष्ट्रिय राजनीतिमा दाङको भूमिका स्थापित गर्न शंकर पोखरेललाई जिताउने निष्कर्षमा पुगेका छन्।'
अर्कातिर, नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले पनि आफ्नो गुमेको विरासत फर्काउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्का विशेष महाधिवेशनपछि कांग्रेसको पक्षमा सकारात्मक माहोल बनेको बताउँछन्।
'यसअघि हामीले रूख चिह्नमा भोट हाल्न पाएनौं भन्ने मतदाताको गुनासो थियो। त्यति बेला हाम्रो भोट रास्वपाले तान्यो। अहिले त्यस्तो छैन। विशेष महाधिवेशनपछि हाम्रो पक्षमा सकारात्मक वातावरण बनेको छ,' उनले भने, 'त्यसमाथि आन्तरिक विवाद पनि केही नभएकाले अरूलाई भोट हाल्नुपर्ने अवस्था म देख्दिनँ।'
तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लागि पनि परम्परागत माओवादी प्रभावलाई निरन्तरता दिनु चुनौतीपूर्ण छ।
नेकपाले दाङ–२ मा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ। रूकुम, रोल्पाबाट बसाइँ सरेर आएका धेरै माओवादी मतदाता यो क्षेत्रमा बस्ने हुँदा यसपालि पनि आफ्नो जितले निरन्तरता पाउनेमा नेकपा ढुक्क देखिन्छ।
यहाँ रास्वपाबाट सहमहामन्त्री विपिन आचार्य उठेका छन्। उनी दाङकै क्षेत्र नम्बर ३ का बासिन्दा हुन्। उनले यो क्षेत्र रोजेपछि यसअघिको चुनावमा १५ हजार मत ल्याएका विशाल अधिकारी असन्तुष्ट छन्।
'एउटाले सम्पूर्ण तयारी गरेको छ, अर्को उम्मेदवार आउँदा असन्तुष्टि त हुने भइहाल्यो नि! यस्तो बेला उम्मेदवारको आकांक्षा नेतृत्वले बुझ्नुपर्थ्यो,' अधिकारीले भने, 'टिकट वितरणमा विधान अनुसारको विधि लागू भएको भए एउटा कुरा हुन्थ्यो, तर नेतृत्वले स्वविवेकका आधारमा टिकट दियो।'
टिकट वितरणमा असन्तुष्ट भए पनि चुनावी मैदानमा आफू पूर्ण रूपले पार्टी निर्णयको पक्षमा उभिएको र सहमहामन्त्री आचार्यलाई जिताउने अभियानमा लागेको अधिकारीले बताए।
'अहिलेको निर्वाचन सामान्य परिस्थितिमा हुन लागेको निर्वाचन होइन। एउटा क्रान्तिपछि राजनीतिक एजेन्डा बोकेर निर्वाचन हुन लागेकाले यसको प्रत्यक्ष लाभ रास्वपालाई हुनेछ,' उनले भने, 'हाम्रो स्थिति पनि पहिलेभन्दा फरक छ। पहिले हामी एक्लैजस्तो थियौं, अहिले हामीसँग संगठन छ। पार्टी सदस्यहरू जनतामाझ पुगेका छन्। उम्मेदवार नचिने पनि मतदाताले 'घन्टी' चिनेका छन्। चुनाव जित्न सजिलो छ।'
यसअघिको चुनावमा ल्याएको १५ हजार मत जोगाउँदै नयाँ मतदाता आकर्षित गर्ने र अरू दलका परम्परागत मतदाताको थप मत तान्ने रास्वपाको रणनीति देखिन्छ। तर कांग्रेस र एमाले दुवैले गठबन्धन नगरी आफ्ना प्रभावशाली उम्मेदवार उठाएकाले अझै मिहिनेत गर्नुपर्ने अधिकारी बताउँछन्।