काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्कअन्तर्गत ग्यालेक्सी टेलिभिजनलाई १५ दिनभित्र भाडा बक्यौता भुक्तान गर्न अल्टिमेटम दिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर भाडामा लिएर गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दै आएको थियो।
तर नेटवर्कले झण्डै तीन वर्षदेखि भाडा बुझाएको थिएन। मिश्रले टेलिभिजन सञ्चालक गितेन्द्रबाबु राई (जिबी) विरूद्ध काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए।
न्यायिक समितिले २०८१ कात्तिक १४ गते मिश्रको दाबी बमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराइ घरजग्गा समेत खाली गराइदिने ठहर्छ भनी निर्णय गरेको थियो।
२०८२ साउन २८ गते उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनि काठमाडौं महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो।
अदालतको आदेश बमोजिम २०८२ कात्तिक १४ गते काठमाडौं महानगरपालिकाबाट डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।
‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकोले ग्यालेक्सी फोरके मा भएको सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको २०८३ वैशाख २१ मा निवेदन पेस भएकोले यो सूचना प्रकाशन गरिएको छ। अतः यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनी वादीलाई बुझाउनुपर्ने बहाल रहम बुझाइ आफ्नो सरसमान लैजान यो सूचना प्रकाशित गरिएको हुँदा म्यादभित्र आफ्नो ग्यालेक्सी फोरके टेलिभिजन सम्बद्ध सरसमान लगी घर खाली गर्न अन्तिम सूचना प्रकाशित गरिएको छ,’ महानगरपालिकाले सूचनामार्फत् भनेको छ।
समायवधिभित्र कानून बमोजिम सरसमान नलगेमा काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम भइजाने महानगरले बताएको छ।
हाल ग्यालेक्सी फोरके बन्द अवस्थामा छ। कार्यरत कर्मचारीले तलब नपाएपछि श्रम अदालतामा मुद्दा दायर गरेका थिए। अदालतले सम्झौताअनुसार तलब भुक्तानी गर्न सञ्चालकका नाममा आदेश दिइसकेको छ।