नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक झापा-५ मा आठौं पटक प्रतिस्पर्धा गर्दैछन्।
२०४८ सालदेखि भएका सबै निर्वाचमा उम्मेदवार बनेका ७४ वर्षीय ओलीले अहिलेसम्म एक पटक मात्र पराजय बेहोरेका छन्।
२०५६ को निर्वाचनमा एमाले विभाजन हुँदा पनि झापाका दुई क्षेत्रबाट विजयी भएका ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ७ बाट माओवादी उम्मेदवार विश्वदिप लिङ्देनसँग पराजित भएका थिए।
२०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका ओली २०६३ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्री बने भने २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री भए।
२०७४ सालमा झन्डै दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका ओलीकै कार्यकालमा एमाले र माओवादी एकता भयो र उनकै कार्यकालमा विभाजन पनि भयो।
२०८१ असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएका हुन्।
ओलीजस्तै २०४८ सालयता लगातार आठौं पटक चुनावी प्रतिस्पर्धामा होमिएका अर्का उम्मेदवार हुन्, सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार।
७२ वर्षीय गच्छदार अहिलेसम्म २०७९ मा मात्र पराजित भएका छन्। त्यति बेला उनलाई एमालेकी भगतवती चौधरीले हराएकी थिइन्।
२०४८, २०५१ र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका गच्छदारले २०६४ मा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरमबाट उम्मेदवारी दिए। त्यति बेला मोरङ र सुनसरी दुवै क्षेत्रबाट जितेका गच्छदार २०७० को निर्वाचनमा मोरङबाट पराजित भए भने सुनसरीबाट विजयी भए।
२०७४ को निर्वाचनदेखि नेपाली कांग्रेसमै फर्किएका गच्छदारलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति समेत बनाएका थिए।
२०७४ मा कांग्रसेबाट निर्वाचित भए पनि भ्रष्टचार प्रकरणका कारण २०७६ माघमा गच्छदारको सांसद पद निलम्बनमा परेको थियो।
गच्छदारको संसदीय यात्रा जति लामो छ, सरकारमा पाएको अवसरको यात्रा पनि उत्तिकै लामो छ। २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेका गच्छदार दर्जनभन्दा धेरै पटक मन्त्री भइसकेका छन्।
२०६४ देखि २०७४ सम्म बनेका सबैजसो सरकारमा उनी सहभागी भए। उनले ६ वटा सरकारमा गृह, भौतिक निर्माण लगायतका महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
महोत्तरी क्षेत्र नम्बर २ का उम्मेदवार ७१ वर्षीय शरतसिंह भण्डारी पनि सत्ता र संसदका पुराना खेलाडी हुन्।
२०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेर जितेका भण्डारी २०४३ सालमा पनि विजयी भए।
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो संसदीय निर्वाचनमा राप्रपाको उम्मेदवार बनेर पराजित भएका भण्डरी २०५१ सालमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए।
त्यसपछि २०५६ सालमा कांग्रेसबाट विजयी भएका भण्डारी २०६४ को पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए।
२०७० सालमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकको उम्मेदवार बनेर पराजित भएका उनी २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) बाट विजयी भए। त्यसपछि २०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विजयी भए भने यसपालि जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार छन्।
रोचक पक्ष के छ भने, भण्डारी अहिलेसम्म जति पटक उम्मेदवार बनेका छन्, हरेकचोटि फरक फरक पार्टीको प्रतिनिधित्व गरेका छन्।
उनको संसदीय यात्रा जति पुरानो छ, सत्ता यात्रा पनि उत्तिकै पुरानो छ। २०४४ सालमा पञ्चायती व्यवस्थाका सहायक मन्त्री रहेका भण्डारी जेनजी आन्दोलन हुँदा पनि मन्त्री नै थिए। यसबीच उनी दर्जनभन्दा धेरै पटक मन्त्री भइसकेका छन्।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका ६७ वर्षीय राजेन्द्र महतो २०४८ सालमा सर्लाहीबाट राष्ट्रिय सद्भावना पार्टीका उम्मेदवार थिए। २०४८ र २०५१ मा पराजित उनी २०५६ मा विजयी भए।
२०६४ मा तत्कालीन सर्लाही क्षेत्र नम्बर ४ बाट सद्भावना पार्टीबाट निर्वाचित महतो २०७० मा पराजित भए। २०७४ मा तत्कालीन राजपाबाट धनुषा क्षेत्र नम्बर ३ को चुनाव जितेका महतोले २०७९ मा सर्लाही-२ बाट हारेका थिए। उक्त निर्वाचनमा महतो लोसपाका उमेदवार थिए।
२०६३ मा उद्योग वाणिज्य मन्त्री बनेका महतो अहिलेसम्म पाँच पटक मन्त्री भइसकेका छन्।
६६ वर्षीय हृदयेश त्रिपाठी पनि यसपटक समेत गरेर आठौं पटक उम्मेदवार बनेका छन्। जसपाबाट पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका त्रिपाठी २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट विजयी भएका थिए।
२०५१ र २०५६ को निर्वाचन सद्भभावना पार्टीबाट जितेका त्रिपाठीले २०६४ को निर्वाचन भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जितेका हुन्।
२०७० मा नवलपरासीबाट पराजित त्रिपाठी २०७४ मा भने एमालेको चुनाव चिह्नमा निर्वाचित भएका थिए। २०७९ मा एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीको उम्मेदवार बनेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भए।
पाँच पटक जित र दुई पटक हार बेहोरेका त्रिपाठी चार पटक सरकारमा गएका छन्। २०५४ सालमा तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वनमन्त्री बनेका त्रिपाठीले उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक योजना, स्वास्थ्य, संघीय मामिला लगायत मन्त्रालयको नेतृत्व गरेका छन्।
रूपन्देही क्षेत्र नम्बर ४ बाट जसपाको उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्लाको पनि यो आठौं प्रतिस्पर्धा हो। २०४७ देखि सक्रिय राजनीतिमा होमिएका शुक्ला त्यसअघि महेन्द्र चिनी उद्योग बुटवलमा इलेक्ट्रिक इन्जिनियर थिए।
सुरूमा कांग्रेसमा आबद्ध भए पनि २०४८ मा टिकट नपाएपछि उनी राप्रपाबाट उम्मेदवार बनेका हुन्। २०५१ मा राप्रपाबाट जितेका शुक्ला २०५६ मा पराजित भए। २०६४ देखि मधेस केन्द्रित राजनीतिमा होमिएका उनी पहिलो संविधानसभामा तमलोपा उम्मेदवार बनेर पराजित भए।
त्यसपछि २०७० को निर्वाचन जिते भने २०७४ मा पराजित भए। २०७९ मा भने लोसपाबाट विजयी भए।
२०५३ सालमा सिँचाइ राज्यमन्त्री बनेका शुक्ला अहिलेसम्म ६ पटक मन्त्री भएका छन्।
धादिङ क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बनेका राजेन्द्र पाण्डे पनि २०४८ देखि लगातार निर्वाचनमा छन्। उनी २०६४ को निर्वाचनमा मात्र पराजित भएका थिए भने २०७४ मा बागमती प्रदेशसभाको उम्मेदवार बनेका थिए। केही समय बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए।
२०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेका पाण्डे २०७९ को निर्वाचनमा त्यही पार्टीबाट निर्वाचित भएका हुन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर नेकपा बनेपछि ६९ वर्षीय पाण्डे यो पार्टीमा आबद्ध भए।
२०४३ को राष्ट्रिय पञ्चायतमा जेलबाटै उम्मेदवारी दिएर पराजित भएका पृथ्वी सुब्बा गुरूङ अहिलेसम्म लगातार उम्मेदवार बनिरहेका छन्।
निर्वाचनका अनुभवी ६९ वर्षीय गुरूङको जितको इतिहास भने छोटो छ। २०४८, २०५१, २०५६ मा एमालेबाट लम्जुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार भएर पराजित गुरूङ २०६४ मा त्यही क्षेत्रबाट विजयी भए।
२०७० मा पराजित गुरूङ २०७४ मा प्रदेशसभामा विजयी भए। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री उनी २०७९ मा लम्जुङबाट संघीय संसदको उम्मेदवार बनेर विजयी भए। एक मात्र क्षेत्र भएको लम्जुङमा उनी अहिले पनि एमालेका उम्मेदवार छन्।
२०६३ सालमा पहिलो पटक पर्यटनमन्त्री बनेका गुरूङ जेनजी आन्दोलन बेला सञ्चारमन्त्री थिए।