सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ।
मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धी विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे।
उनले प्रधानमन्त्री शाहले उक्त विषयमा समय आएपछि जबाफ दिने बताउँदै विपक्ष दलहरूले संसद बैठक अवरूद्ध पार्न नहुने पनि बताए।
उनले भने, ‘अहिलेको जुन रिपोर्टहरू छ सामान्यतयाः अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको छ। त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो। र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नुभएको छ। त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ। कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ। कूटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ। अब अर्कोलाई यो रिवर्स कूटनीति पनि हो। अर्कोतर्फ पार्टीले यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्दछ। र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ। त्यो कारणले गर्दा पार्टीको धारणा स्पष्ट नै छ।’
महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए।
उनले भने, ‘हाम्रो भूमिहरू मिचिन दिनु हुँदैन। ती भूमिहरू फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ। यही विषयमा हामी छलफल गरिराखेका छौं। प्रतिपक्ष दलहरूसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौं। यो सदन सञ्चालन गरौं। त्यो विषयमा तत्अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरू आइनै हाल्छ भनेर हामीले यसरी राख्यौं। उहाँहरू यो विषय आएपछि मात्रै सदन अगाडि जान्छ भन्नु हुन्छ। त्यो उहाँहरूले राख्ने कुरा चाहिँ कस्तो छ भने त्यो आउँछ भनेपछि त्यसलाई अगाडि पनि बढाउनु पर्यो नि।’
महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाइ हुने भएकाले पनि विपक्ष दलहरूले संसद बैठक अवरूद्ध पार्न नहुने पनि बताए। –न्युज एजेन्सी नेपाल